News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको मिशिगन राज्यमा दूषित खानाका कारण फैलिएको साइक्लोस्पोरियासिस संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।
- मिशिगनको स्वास्थ्य तथा मानव सेवा विभागका अनुसार मृतकहरूमा पहिलेदेखि नै गम्भीर स्वास्थ्य समस्या रहेका थिए।
- यो संक्रमणको मुख्य स्रोत अझै स्पष्ट नभए पनि टेलर फार्म्सका उत्पादनहरूसँग धेरै बिरामीको सम्बन्ध देखिएको छ।
१९ साउन, काठमाडौं । अमेरिकाको मिशिगन राज्यमा दूषित खानाका कारण फैलिएको साइक्लोस्पोरियासिस संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। मिशिगनका स्वास्थ्य अधिकारीहरूले सोमबार यसको पुष्टि गरेका हुन्। यो फुडबोन रोगका कारण मृत्यु भएको यो पहिलो घटना हो।
अमेरिकामा हजारौँ मानिसहरू यो रोगबाट बिरामी परेका छन्। यो संक्रमण कहाँबाट र कसरी फैलियो भन्ने कुरा संघीय अधिकारीहरूले अझै पत्ता लगाउन सकेका छैनन्।
मृतकहरूको मेडिकल रेकर्डबारे जानकारी दिँदै मिशिगनको स्वास्थ्य तथा मानव सेवा विभागले सोमबार भनेको छ, ‘मृतकहरूमा पहिल्यैदेखि गम्भीर खालका स्वास्थ्य समस्याहरू थिए जसमा साइक्लोस्पोरियासिस र डिहाइड्रेसनले असर पारेको हुनसक्छ।’
सामान्यतया स्वास्थ्य विज्ञहरूले साइक्लोस्पोरियासिसलाई ज्यानै जाने खालको रोग मान्दैनन्।
जुन महिनाको अन्त्यतिर मिशिगनमा पहिलोपटक यो संक्रमण देखिएको थियो। त्यसपछि यसका बिरामीहरू लगातार बढिरहेका छन्। सिडिसीका अनुसार देशभर ११ हजारभन्दा बढी बिरामी परेका छन्। सबै बिरामीहरू दर्ता नभएकाले यो संख्या अझ धेरै हुनसक्छ।
यो संक्रमणको मुख्य स्रोत अझै स्पष्ट भएको छैन। तर टेलर फार्म्सले उत्पादन गरेका ताजा तरकारीहरूसँग धेरै बिरामीको सम्बन्ध देखिएको छ। टेलर फार्म्सका उत्पादनहरू टाको बेलमा बिक्री हुने गर्छन्। जुलाईको मध्यतिर टेलर फार्म्सले मेक्सिकोबाट ल्याइएको आइसबर्ग लेटुस फिर्ता बोलाएको थियो। टाको बेलले पनि टेलर फार्म्सको लेटुस प्रयोग नगर्ने जनाएको छ।
सिडिसीका अनुसार साइक्लोस्पोरियासिस पेटसँग सम्बन्धित रोग हो। यो रोग प्रायः गर्मी महिनामा फैलिन्छ। दिसाबाट दूषित भएको खानामा रहने सूक्ष्म परजीवीका कारण यो संक्रमण हुने गर्छ। काँचै खाइने फलफूल र तरकारीहरू यसको मुख्य स्रोत हुन्।
यो संक्रमण भएमा पखाला लाग्ने गर्छ। पेटमा ग्याँस भरिने, तौल घट्ने, पेट दुख्ने, थकान लाग्ने र बान्ता हुने जस्ता लक्षणहरू पनि देखिन्छन्। यसको उपचारमा एन्टिबायोटिक प्रयोग गरिन्छ। कहिलेकाहीँ भने उपचारबिनै पनि लक्षणहरू हराएर जान्छन्।
प्रतिक्रिया 4