+
+

भारतको लिगले रेखालाई दिएको अवसर

नमिता दाहाल नमिता दाहाल
२०८० असार १३ गते १९:११

१३ असार, काठमाडौं । महिला फुटबलको घरेलु संरचना कमजोर बन्दा खेलाडीको अवसर, अनुभव र एक्स्पोजरमा कमी भइरहेको छ । यसले महिला फुटबलको विकासमै असर पारेको छ ।

दक्षिण एसियाली बजारमा आफूलाई विस्तार गरिरहेका नेपाली महिला फुटबलरहरूले हालै भारतीय महिला लिगमा आफ्नो स्तर प्रस्तुत गरे ।

विभागीय टिम एपीएफ हुँदै रेखा पौडेल चार वर्षदेखि नेपाल पुलिस टिमको लागि फुटबल खेलिरहेकी छन् । उनी यो सिजनको भारतीय महिला फुटबल लिग खेल्ने ६ खेलाडीमध्ये एक हुन् । रेखाका लागि यो पहिलो विदेशी व्यावसायिक सहभागिता थियो ।

स्पोर्टस् उडिसा टिममा उपकप्तानसम्मको जिम्मेवारी र टिमलाई पहिलोपल्ट क्वाटरफाइनलसम्म पुर्‍याउन उनको भूमिका उल्लेखनीय छ । प्लेअफबाट आएको उडिसा टिमले यो सिजन शीर्ष ८ मा रहेर अर्को सिजनका लागि सीधै लिगमा स्थान सुरक्षित गर्नुलाई उपलब्धि मानेको छ ।

‘मैले नेपालमा नपाएको अवसर भारतीय लिगमा पाएँ’, सुनसरी इटहरीकी रेखाले अनलाइनखबरसँग भनिन्, ‘मैले नेपालमा आफ्नो खेलको परीक्षण गर्ने अवसर धेरै पाएको थिइनँ । भारतमा त्यो पाएँ ।’

नेपालका महिला खेलाडीका लागि भारतीय महिला लिग एक्स्पोजर र अनुभवको उत्कृष्ट माध्यम बनेको छ । गोकुलम केरलालाई दोस्रोपल्ट लिग उपाधि दिलाएकी सावित्रा भण्डारी प्रतियोगिताकै सर्वाधिक गोलकर्ता (२९ गोल) समेत बनिन् । यी प्रदर्शनहरूको आधारमा उनी अर्को सिजन युरोपमा व्यावसायिक फुटबल खेल्ने भएकी छन् ।

सावित्रा र रेखासँगै यो वर्ष राष्ट्रिय टिमकी कप्तान गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा, रेणुका नगरकोटे, सरु लिम्बू र अनिता बस्नेतले भारतको महिला लिग खेले । सेमिफाइनलमा एन्जिला सम्मिलित सेथु एफसी र सावित्रा सम्मिलित गोकुलम केरलाबीचको प्रदर्शन रोमाञ्चक थियो ।

सिनियर फुटबलमा प्रतिस्पर्धात्मक स्पर्धा सीमित हुँदा खेलाडीलाई आफ्नो क्षमता देखाउने माध्यम पनि सीमित बनेको छ । जसका कारण रेखा जस्ता युवा खेलाडीलाई मिहिनेत अनुसार आफूलाई परीक्षण गर्न कठिन भइरहेको छ ।

२०७८ चैतमा रोकिएको राष्ट्रिय महिला लिग अहिलेसम्म सुनसान छ । सो लिगका बाँकी खेल संचालन नगर्ने निर्णय गरेको एन्फाले नयाँ लिगको मिति पनि तोक्न सकेको छैन । यसले राष्ट्रिय टिमको स्तरोन्नत्तिमा असर परेको छ ।

रेखाले नेपालको तुलनामा भारतीय फुटबल संस्कृतिमा धेरै नै प्राविधिक र व्यावसायिक फरक पाइन् । ‘मैले देखे अनुसार त्यहाँ खेलहरू भइरहने रहेछ । राष्ट्रिय लिग, नकआउट प्रतियोगिता र राज्यस्तरीय प्रतियोगिताहरू पनि संचालन हुँदा खेलाडीले राम्रो अनुभव पाएका छन् । त्यसैले उनीहरू हामीभन्दा बलिया छन्’, २३ वर्षीय रेखा भन्छिन् ।

राष्ट्रिय टिममा रहँदा समेत प्रशिक्षणको समय कतिपय बेला ट्रेनिङ जर्सी नपाउने नेपाली महिला खेलाडीका लागि सेवा-सुविधा राम्रो पाउने भन्ने अपेक्षा कमै हुन्छ । भारतमा रेखाले क्लबहरूको लगानी र खेलाडीप्रतिको व्यवहार पनि फरक पाइन् ।

उमेर समूहहुँदै राष्ट्रिय टिमसम्म आएकी रेखाले २०१९ मा भएको साफ महिला च्याम्पियनसिपमा राष्ट्रिय टिममा डेब्यू गरेकी थिइन् । त्यसयता उनले ९ खेल खेलेकी छन् । तर, अहिलेसम्म पूरा अवधि खेल्न पाएकी छैनन् । आफूले खेलेका अधिकांश खेलमा उनी अन्त्यतिर मैदान प्रवेश गरेकी थिइन् । राष्ट्रिय टिममा सावित्रा, अनिता केसी लगायत स्ट्राइकरहरूको दबदबा रहँदा रेखा धेरैजसो समय बेन्चमै सीमित हुनुपरेको छ ।

भारतीय महिला फुटबलको फरक स्तर

नेपाली महिला फुटबललाई उमेर समूहदेखि भोगेकी रेखाले पहिलो पटक भारतीय लिग खेलेकी हुन् । भारतमा खेल्दा उनी आफैंले फरक अनुभव सँगालिन् । पहिलो लिगमा नै उनले आफूमा मानसिक र प्राविधिक रूपमा धेरै फरक अनुभव गरिन् । ‘यो प्रतियोगिताले मलाई मानसिक र प्राविधिक रूपमा धेरै परिवर्तन दिएको छ’ उनले भनिन्, ‘म मिहिनेतमा विश्वास राख्ने खेलाडी हुँ । आफूले प्रयास गर्दा पनि अवसर पाइरहेकी थिइनँ । उता स्पोर्टस् ओडिसामा मैले जिम्मेवारी अनुभव गर्न पाएँ ।’

उनी ७ खेलमा क्लबको उपकप्तानको भूमिकामा रहिन् । भारतीय राष्ट्रिय टिमकी पूर्व खेलाडी परोमिताको प्रशिक्षणमा खेलेको ओडिसा क्वाटरफाइनलसम्म पुग्न सफल भयो । अन्तिम ८ मा परेर अर्को सिजनलाई शीर्ष डिभिजनको लिगमा सीधै छनोट भएको छ ।

‘पहिलो सिजनमै धेरै कुरा सिकेकी छु । विशेषतः अप्ठ्यारो परिस्थितिमा कसरी सम्हालिने भन्ने सिकेकी छु । धैर्य बढेको छ’ उनले भनिन्, ‘क्लबमा व्यावसायिकता थियो । खेलाडीले पाउनुपर्ने सेवा-सुविधा राम्रो पाएका हुन्थे । खेलाडीको स्तर र आफ्नो हैसियत अनुसार क्लबहरूले सुविधा दिएका थिए ।’

विदेशी लिगका खेल्न भारतमा जाँदा भाषाको सहजताका कारण उनले अप्ठेरो महसुस गर्नुपरेन । महिला लिगमा महिला प्रशिक्षककै मातहतमा प्रशिक्षण पाउनु पनि उनका लागि थप सहज थियो ।

‘प्रशिक्षक सहयोगी र प्रेरणादायी हुनुहुन्थ्यो । आफैं पनि पूर्व खेलाडी भएको भएर हुँदो हो, सबै खेलाडीको मनोभावना बुझ्ने हुनुहुन्थ्यो’, रेखाले भनिन् ।

रेखाका अनुसार उडिसाले सामाजिक सञ्जाल मार्फत उनको भिडियो हेरेर अनुबन्धनको प्रस्ताव गरेको थियो । स्ट्राइकर पोजिसनबाट उनले उडिसाको आवश्यकतामा न्याय गर्न सकिन् भन्ने लागेको छ ।

‘मैले आफूलाई प्रमाणित गर्ने एउटा अवसर खोजिरहेकी थिएँ, त्यो मैले यही लिगबाट पाएँ’, उनले भनिन् ।

२०१४ मा पहिलो पटक श्रीलंकाको कोलम्बोमा भएको क्षेत्रीय च्याम्पियनसिपमा यू-१४ टिमबाट नेपालको प्रतिनिधित्व गरेकी रेखाले उक्त प्रतियोगितामा ७ गोल गरेकी थिइन् । उमेर समूहमा उच्च प्रदर्शनका कारण सिनियर टिममा पुगेकी रेखा सन् २०१९ मा नेपालमै आयोजित साफ महिला च्याम्पियनसिपमा राष्ट्रिय टिमबाट डेब्यू गर्नुअघि दुईपल्ट बन्द प्रशिक्षणबाट फालिएकी थिइन् ।

उनले भनिन्, ‘नेपाली फुटबलमा मैले मौका नै नपाएको भन्न मिल्दैन । तर, विभिन्न कारणले आफ्नो बेष्ट दिन सकिनँ । मैले भारतमा आफूलाई प्रमाणित गरे जस्तो लाग्छ ।’

रेखालाई यो लिगले मानसिकतामा ठूलै परिवर्तन ल्याएको अनुभव हुन्छ । मैदानमा खेल्दा प्रेसरमा आफूलाई कसरी सम्हाल्ने भन्ने कुरा सिकेर आएको उनले अनलाइनखबरसँग बताइन् । त्यो अनुभवलाई अहिले अभ्यासमा प्रयोग गर्दा फरक महसुस भइरहेको उनको भनाइ छ ।

‘नेपाली र भारतीय फुटबलमा खेल्ने रणनीति नै फरक पाएँ’, रेखाले त्यहाँका खेलाडीको तीव्रता, फिनिसिङ तथा स्कोरिङ क्षमता पनि माथिल्लोस्तरको पाएको बताइन् ।

राष्ट्रिय टिममा रेखाको अनुभव

२०१९ यता उनले सिनियर टिममा भने ९ खेलमा १ गोल गरेकी छन् । पाँचौं महिला साफ च्याम्पियनसिप-२०१९ मा उनले डेब्यू प्रतियोगितामा नै भुटान विरुद्ध गोल गरेकी थिइन् । त्यसयता गोल मात्र होइन राष्ट्रिय टिममै पर्न र नियमित सेटमा खेल्न संघर्षरत छिन् ।

घरेलु फुटबलमा उनी नेपाल पुलिसको टिमबाट खेल्छिन् । २०७६ मा पुलिसमा भर्ना हुनुअघि ४ वर्ष एपीएफमा करारमा खेलिन् ।

उनका लागि राष्ट्रिय टिममा डेब्यूयता खासै राम्रो अनुभव छैन । टिममा परे पनि मौका नपाउने, वैकल्पिक खेलाडीको रूपमा रहने भइरहिन् । २०७८ असोजमा नेपालमै आयोजित साफ महिला च्याम्पियनसिपमा उनले राष्ट्रिय टिममा पुनरागमन गरिन् । प्रशिक्षक कुमार थापाले उनलाई राष्ट्रिय टिममा पुनरागमन गराएका हुन् । ‘जति मिहिनेत गर्दा पनि टिममा पर्दिनथें तर, कुमार सरले मेरो मिहिनेतलाई बुझ्नुभयो’, उनले भनिन् ।

एक पटक राष्ट्रिय टिमबाट ड्रप (बाहिर) भइसकेपछि र्फकन सहज हुँदैन । उनीसँग पनि त्यही भयो । कोरोनाकालमा उनी टिमबाट बाहिर रहिन् । त्यस अगाडि १३औं दक्षिण एसियाली खेलकुदमा पनि उनी टिममा थिइनन् । त्यसबीचमा आफैंलाई हौसला बढाउँदै तयारी गरिरहेको रेखाले बताइन् ।

सानै उमेरदेखि फुटबल खेल्ने रेखालाई घरबाट पनि फुटबलमा लाग्न सहज भयो । घरछेउमा खेलेको फुटबलदेखि यू-१४ सेलेक्सन, यू-१४, यू-१५, यू-१८, यू-१९ हुँदै राष्ट्रिय टिमसम्म ल्यायो ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?