+
+

गुणस्तरहीन भएको भन्दै धनुषामा स्थानीय बासिन्दाले रोके सडक ढलान

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० असार १३ गते १४:३७

१३ असार, जनकपुरधाम। धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा मापदण्ड पालनै नगरी सडक ढलान गरेपछि स्थानीय वासिन्दाले काममा रोक लगाएका छन्। गाउँपालिका कार्यालय अगाडिको सडक ढलान गर्दा ग्राभेल नओच्छ्याई माटोमाथि नै ढलान गरेको र अत्यधिक माटो मिसिएको गिटी प्रयोग गरेको देखेपछि स्थानीय वासिन्दाले काममा रोक लगाएका छन्।

सोमबार मापदण्ड अनुसार ढलान नगरेपछि विरोध गरेका स्थानीयले मंगलबार पनि त्यस्तै काम गरेपछि ठेकेदारको काममा रोक लगाएका हुन्। धनुषाधामको रामेश्वर निर्माण सेवाले गरेको काम कमसल भएको स्थानीय गणेश साहले बताए।

‘हिजो पटक पटक ठेकेदारलाई आग्रह गरेँ यसरी जथाभावी माटोमै ढलान नगर्नुस्। सडकमा ग्राभेल ओछ्याएर राम्रो गिट्टी बालुवा प्रयोग गरी मात्र ढलान गर्नुस्। नत्र बाटो टिकाउँ हुँदैन’, उनले भने, ‘तर ठेकेदारले वास्तै गरेनन्। हामी काममा बाहिर हुँदा हतारहतार २५ मिटर बाटो जथाभावी ढलान गरेका छन्।’ स्थानीय बन्दना झाले विरोध गर्दागर्दै ठेकेदारले माटोमै ढलान गरेको बताइन्।

सडक डिभिजन कार्यालय जनकपुरको करिब एक करोड रुपैयाँ बजेटबाट यो सडक ढलान भइरहेको छ। सडक डिभिजन कार्यालय धनुषाका इन्जिनियर दुर्गा प्रसादका अनुसार ढलान गर्दा भुइँमा १५ सेन्टिमिटर ग्राभेल, त्यसमाथि १२ एमएमको छड ओछ्याएर गुणस्तरीय सफा गिट्टी, बालुवा र सिमेन्टको मसालाले २० सेन्टिमिटर बाक्लो ढलान गर्नुपर्नेछ।

ढलान सडकको चौडाइ साढे पाँच मिटरसम्मको हुनुपर्नेछ। तर निर्माणस्थलमा भने यो कुनै मापदण्डको पालना गरिएको छैन। स्थानीयले काम रोकेपछि सडक डिभिजनले तत्काल काम नगर्न ठेकेदारलाई निर्देशन दिएको छ।

गुणस्तरहीन कामलाई सच्याउन र मापदण्ड अनुसार मात्र काम गर्न सडक डिभिजन जनकपुरका प्रमुख अरविन्द लाल कर्णले निर्देशन दिएका छन्। उनले सडक ढलानस्थलको तस्वीर देखेपछि गलत भएको स्वीकार गर्दै तत्काल रोक्न निर्देशन दिएका हुन्।

ढलान भइरहेको ठाउँको साइट हेर्ने जिम्मा पाएका इन्जिनियरसमेत रहेका दुर्गा प्रसादका अनुसार रामेश्वर निर्माण सेवा, धनुषाधामले ५३२ घनमिटर बाटोमा आरसीसी ढलान गर्न १४ असार २०७८ मा भ्याटसहित १ करोडमा टेण्डर मार्फत सम्झौता गरेको थियो।

अहिलेसम्म निर्माण कम्पनीले ४४३ घनमिटर सडक ढलान गरिसकेको छ। असार मसान्तभित्रै उसले बाँकी काम सक्नु पर्नेछ। आर्थिक मसान्तको अन्तमा काम सुरु गरेर हतारमा कमसल काम गरिरहेको छ।

निर्माण कम्पनीले जथाभावी कमसल काम गर्दा मात्र ४ किलोमिटरको दुरीमा रहेका डिभिजन कार्यालयका अधिकारीहरु मुकदर्शक बनेका छन्।गाउँपालिका कार्यालयका जनप्रतिनिधि त झन् त्यही सडकबाट आउजाउ गर्छन्। तर उनीहरु पनि चुप छन्।

जनप्रतिनिधि सडक डिभिजनको कर्मचारी मिलेमतोमा यस्तो गुणस्तरहीन काम भइरहेको स्थानीयको आरोप छ। ‘गाउँपालिका अगाडि नै यस्तो काम हुँदा जनप्रतिनिधि एक शब्द नबोल्नु, नरोक्नुको कारण के हो ? सबैको मिलेमतोमा भइरहेको छ’, स्थानीय मोहन साह भन्छन्।

सडक ढलान हुन थालेपछि बिहानै वडा नं. ७ का वडाध्यक्ष गंगा साह त्यहाँ पुगेका थिए। तर स्थानीयले गुनासो गरेपछि उनी केही प्रतिक्रिया नै नदिई त्यहाँबाट हिँडेका थिए।

त्यो सडक उनको वडा नं. ७ को वडा कार्यालयको सामुन्ने पर्छ। जबकी यो बाटो बनाउन सडक डिभिजनले गाउँपालिका र वडा कार्यालयसित समन्वयसमेत गरेको छ।

लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले गुणस्तरहीन काम भइरहेकाले रोकेको स्थानीयबाट जानकारी पाएको बताए। ‘वडाले काम गर्ने सिफारिस दिएको छ। के कति इस्टिमेट छ, मलाई थाहा छैन’, उनले भने, ‘म अर्को बाटो भएर आउँछु। अरुले आज गुणस्तरहीन काम भइरहेको जानकारी पाएँ।’

स्थानीय शुभनारायण यादवका अनुसार गत वर्ष पनि यही ठेकेदार कम्पनीले त्यस्तै गरी दुईवटा सडक ढलान गरेको बताए। त्यतिबेला सडक डिभिजन प्रमुख सञ्जय कुमार मिश्रले विरोध गर्नेहरुलाई धम्याएको उनले बताए।

‘अघिल्लो वर्ष हामीले गुणस्तरहीन काम हुनै दिन्नौ भनेर विरोध गर्‍यौं। उहाँ आफैं आएर यो काम कसैले रोक्न सक्दैन। म आफैं उभिएर, आर्मी लगाएर काम गराउँछु भनेर धम्काउनु भएको थियो। डराएर कसैले विरोध गरेनन्, मनपरी काम गराउनु भयो’ शुभनारायणले भने।

डेढ महिनाअघि मात्र जनकपुरको सडक डिभिजन कार्यालयबाट सरुवा भएका उनी हाल मिर्चैया सडक डिभिजनमा गएका छन्। यसै वडाका बासिन्दासमेत रहेका मिश्रले गत वर्ष र यसवर्ष पनि गुणस्तरीय काम भइरहेको दाबी गरे। ‘इन्जिनियरले गर्ने काम हो गर्न दिनुस्। क्वालिटी इन्जिनियरलाई थाहा हुन्छ। केही काम बाँकी छ।  असार मसान्तभित्र सक्नु पर्छ’ उनले भने।

निर्माण कम्पनीका सञ्चालक विश्वेश्वर ठाकुरले दुई दिन यता भइरहेको काम विषयमा उनले अनभिज्ञता जनाए। ‘मैले आज मात्र थाहा पाएँ। हुन लागेको कामलाई करेक्सन गरेर अगाडि बढाउँछु’ उनले भने।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?