+
+

लगानीकर्ताले नाफा बुकिङ गर्दा सेयर बजारमा करेक्सन, सबै उपसूचक घट्दा जीवन बीमामा आकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते १५:३७

१३ असार, काठमाडौं । लगातार बढिरहेको सेयर बजारबाट लगानीकर्ताले नाफा बुकिङ गर्दा बुधबार नेप्से परिसूचकमा करेक्सन देखिएको छ । नेप्सेका १३ वटा उपसूचकमध्ये १२ वटा उपसूचक नै घट्दा बुधबार बजारमा ३५.३७ अंकको गिरावट आएको हो । सबै क्षेत्रका कम्पनीका सेयर बेचेर नाफा बुक गरेका लगानीकर्ताहरुले जीवनबीमा कम्पनीको सेयर भने किनेको देखिएको छ । यो क्षेत्रको उपसूचक २ दशकलव ५ प्रतिशतले वृद्धि भयो ।

बुधबार नेप्सेमा १ लशमव ६२ प्रतिशतको गिरावट आएको थियो । बुधबार बजार २१५०.९९ विन्दुमा आएर रोकिएको छ । बुधबार २८० धितोपत्रको ८२ हजार ३५९ वटा कारोबारबाट १ करोड ३३ लाख ४२ हजार ९९६ कित्ता सेयर किनबेच भएको छ ।

बुधबार परिसूचक घटे पनि कारोबार रकम भने वृद्धि भएर ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँ पुगेको छ । मंगलबार ५ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको थियो ।

बुधबार सबैभन्दा धेरै ‘अन्य’ समूह, वित्त तथा लघुवित्त उपसूचकका लगानीकर्ताले गुमाए । विगतका दिनमा यी उपसूचकमा लगातार वृद्धि भइरहेको थियो । बुधबार लगानीकर्ताले नाफा बुक गर्दा बजारमा गिरावट आएको देखिन्छ ।

बुधबार घटेको बजारमा पनि हिमालयन लाइफ इन्स्योरेन्स, बीपीडब्लू लघुवित्त वित्तीय संस्था, सिटी होटलको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । कारोबार रकममा हिसाबले पनि यो कम्पनीको सबैभन्दा धेरै ८३ करोड ७० लाखको कारोबार भएको छ ।

त्यस्तै, इङ्वा हाइड्रोपावर, खप्तड लघुवित्त, तारागाउँ रिजेन्सी, मकर जितुमाया सुरी हाइड्रो, ग्लोबल आईएमई लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।

बुधबार हिमालयन लाइफ इन्स्यारेन्सपछि शिवम सिमेन्ट, सोल्टी होटेलसहितका धितोपत्रको धेरै कारोबार भएको छ । शिवम् सिमेन्ट्सको २८ करोडको कारोबार भयो भने सोल्टी होटलको साढे २३ करोडको कारोबार भएको छ । त्यस्तै एसियन लाइफ इन्स्योरेन्स कम्पनी र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स पनि धेरै कारोबार हुने कम्पनीमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?