
२५ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ । बिहीबार १२.०४ अंकले घटेको बजार २६६१.६४ बिन्दुमा रोकियो । बिहीबार ०.४५ प्रतिशतले बजारमा गिरावट आएको हो ।
बुधबार ६१.२५ अंकले बढेको बजारमा दोस्रो दिन नै ‘करेक्सन’ देखिएको हो । बुधबार उपसूचकतर्फ मिश्रित नतिजा देखिएको छ ।
वित्त उपसूचकका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यसमा ४.१६ प्रतिशतको वृद्धि भएको छ । होटल र पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचअल फन्ड उपसूचकको मूल्य बढ्दा अन्य उपसमूहको मूल्य भने घटेको छ ।
बिहीबार कुल ३ सय १५ धितोपत्रको १ लाख ३ हजार ३ सय १९ कारोबारबाट ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता सेयर किनबेच भएको छ । आज कारोबार रकम भने ११ अर्ब ६५ करोड १७ हजार ८ सय ५१ रुपैयाँ बराबरको भएको छ । अघिल्लो दिन बुधबार कारोबार रकम १० अर्ब ५१ करोड बराबर भएको थियो ।
आज बिहीबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्यारेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । यी कम्पनीको मूल्य क्रमशः २२३४.२० र २८४७ रुपैयाँ पुगेको छ ।
यसबाहेक छ्याङ्दी हाइड्रोपावर, ओम मेगाश्री फर्मास्युटिकल्स, आईसीएफसी फाइनान्सको मूल्य पनि धेरैले बढेको छ । आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकताले गुमाए । यस धितोपत्रको मूल्य ४.१५ प्रतिशतले घटेको छ ।
यसबाहेक ग्रिन डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, बुटवल पावर कम्पनीको मूल्य समेत धेरैले घटेको छ । बिहीबार ङ्यादी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार भएको छ ।
प्रतिक्रिया 4