+
+

बजेट पारित गर्न एमालेले माग्यो मत विभाजन

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते १६:१४

१३ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी आर्थिक वर्ष २०८०/८१  को बजेट पारित गर्नका लागि मत विभाजन माग गरेको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभामुख देवराज घिमिरेले हुन्छ वा हुँदैन भनी ध्वनी मतका लागि प्रस्ताव गरेका थिए । सभामुखले हुन्छ भन्ने पक्षमा बहुमत देखा परेको उल्लेख गर्दै बजेट पारित भएको घोषणा गरेका थिए ।

तर, एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बजेट पारित गर्न हुन्न भन्ने पक्षमा बहुमत रहेको दाबी रग्दै मत विभाजन माग गरे । मत विभाजन माग भएपछि सभामुख घिमिरेले सोही अनुसार प्रक्रिया अगाडि बढाएका छन् ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २९ मा मत विभाजन सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘ …सभामुखको घोषणाप्रति कम्तीमा अट्ठाइस जना सदस्यले आ–आफ्नो स्थानमा उभिई असहमति प्रकट गरेमा सभामुखले “हुन्छ”, “हुन्न” र “मत दिन्न” भन्ने सदस्यलाई देहाय बमोजिमको कुनै तरिकाले विभाजन गरी मत संकलन गर्नेछ ।’

अब “हुन्छ”, “हुन्न” र “मत दिन्न” भन्ने सदस्यलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष (लवि) मा प्रवेश गराई वर्णानुक्रमानुसारको नामावलीमा दस्तखत गराएर विनियोजन विधेयकका विषयमा सदनमा निर्णय लिनेछ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा विनियोजन विधेयक पास हुनका निम्ति बहुमत आवश्यक पर्दछ ।

प्रतिनिधिसभामा सत्तारुढ दलहरु नेपाली कांग्रेसका ८८, नेकपा माओवादीको ३२, जनता समाजवादी पार्टी (जसपा)को १२, नेकपा एकीकृत समाजवादीको १०, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको ४ र नागरिक उन्मुक्ति पार्टीको ३ सदस्य छन् ।

प्रतिपक्षीतर्फ नेकपा एमालेको ७८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १४ सांसद छन् । नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका साना दलहरुको एक/एक सिट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?