+
+

च्याम्पियन उत्पादन गर्ने स्वयंसेवी प्रशिक्षक

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०८० असार १४ गते १९:४७

१४ असार, काठमाडौं । राज्यबाट खेलकुदलाई हेर्ने दृष्टिकोणको अभावमा नेपालको खेल क्षेत्रले अपेक्षाकृत उन्नति गर्न सकेको छैन । फरक क्षमता भएकाहरूले खेल क्षेत्रमा पाउने अवसर र प्राथमिकताको त झन् कुरै गर्नुपरेन ।

हेपिएको पारा खेलकुदमा तेक्वान्दो विधा चाँदीको घेरा बनेर उदाएको छ । पछिल्लो केही वर्षदेखि पारा तेक्वान्दो खेलाडीहरूले अन्तर्राष्ट्रिय वृत्तमा स्थापित गरेका छन् । त्यस्ता खेलाडीलाई तयार पारिरहेका प्रशिक्षक हुन्-कविराज नेगी लामा ।

३५ वर्षीय कविराजले उचाइ र तौलको समस्याका कारण जुनियर स्तरबाट माथि तेक्वान्दो खेल्न सकेनन् । आफ्नो लक्ष्य पूरा गर्न नसके पनि प्रशिक्षकका रूपमा ८ वर्षदेखि खेलाडी उत्पादन र सफलताको सारथि बनेर उदाएका छन् ।

टोकियो पारा ओलम्पिकमा पलेशा गोवर्द्धनलाई ऐतिहासिक दुई खेल जित्न योग्य बनाउनेदेखि सृजना घिसिङलाई गत वर्ष पारा तेक्वान्दो जी टेन ग्राण्ड प्रिक्स फाइनलमा शीर्ष वरीयताकी क्याभडर मेरयेम बेटुललाई हराउन सक्ने बनाउनुमा कविराजको ठूलै मिहिनेत लुकेको छ ।

‘पहिला मलाई एउटा राम्रो खेलाडी बन्ने इच्छा थियो । आफ्नो शारीरिक अवस्थाले गर्दा सिनियर स्तरमा खेल्न पाइनँ’ यसै साता नेपाल ओलम्पिक कमिटीको ओलम्पिक अवार्डमा उत्कृष्ट प्रशिक्षक बनेपछि अनलाइनखबरसँग कुरा गर्दै नेगीले भने, ‘मेरो साथी कल्याण कुँवर मार्फत तेक्वान्दो संघ र पारा कमिटीले विश्वास गरेर जुन जिम्मेवारी दिएको छ त्यसलाई निभाइरहेको छु ।’

नेगीले सन् २०१६ देखि पारा तेक्वान्दो प्रशिक्षण दिन सुरु गरेका हुन् । मकवानपुर पुर्ख्यौली घर भए पनि पशुपतिको वनकाली क्षेत्रमै हुर्के-बढेका नेगी त्यसअघि सोही क्षेत्रमा रहेका रभेरा एकेडेमी, श्री पिङ्गला डोजो, सम्भाव्य स्कुलमा प्रशिक्षकको भूमिकामा थिए । १६ दिनको विशेष कोर्ष गरेपछि लेभल वान र लेभल टू प्रशिक्षण कोर्ष उत्तीर्ण गरी तेक्वान्दो संघ मातहत फरक क्षमता भएका खेलाडीलाई प्रशिक्षण गराउन थालेको ८ वर्ष भइसकेको छ । नेपालकै उत्कृष्ट पारा खेलाडीहरू पलेशा, सृजना, दीपेश महत, विशाल गर्वुजाहरू उनकै उत्पादन हुन् । सन् २०१८ मा कल्याण कुँवर विदेश पलायन भएपछि त्यसयता नेगी पारा तेक्वान्दोका एकल प्रशिक्षक हुन् ।

‘स्वयंसेवामै खुसी छु’

नेगीको लामो अनुभवका अनुसार फरक क्षमता भएकालाई प्रशिक्षण गराउन तुलनात्मक रूपमा सहज छ । तर, खेल र प्रशिक्षणका लागि तयार बनाउन नै कठिन हुने उनको अनुभव छ

नेगी बलियो आर्थिक पृष्ठभूमिबाट आएका होइनन् । पारा तेक्वान्दोका यी सफल प्रशिक्षक आर्थिक जोहोका लागि अखिल नेपाल फुटबल संघमा जागिर गर्छन् । उनको प्रशिक्षणमा ओलम्पिक, एसियन च्याम्पियनसिप, ग्राण्ड पि्रक्स सिरिज, युथ एसियन च्याम्पियनसिप लगायत अहिलेसम्म ९ अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागी गराउँदा कुनै पनि प्रतियोगितामा खाली हात फर्किनुपरेको छैन । ओलम्पिकमा पदक जित्न नसके पनि पलेशा गोवर्द्धनले ऐतिहासिक रूपमा दुई खेल जितेकी थिइन् ।

८ वर्षको बीचमा थुप्रै सफलताको सारथि बनेका नेगीलाई स्थायी प्रशिक्षक बन्ने लोभ पनि छैन । उनी भन्छन्, ‘मैले सरकारी जागिर वा सम्मान पाउँछु भनेर प्रशिक्षण सुरु गरेको होइन । मेरो खुसी हुने तरिका बेग्लै छ । आफ्नो मन खुसी हुने काम गर्दा प्रतिफलको आशा गर्दिनँ ।’

तर, ठूला अन्तर्राष्ट्रिय सफलतापछि सरकारले त्यसको कदर नगरिदिंदा भने नेगीलाई नरमाइलो लागेको छ । ग्राण्ड पि्रक्स फाइनलमा स्वर्ण जितेको नेपाल टिमलाई सरकारले औपचारिक सम्मान गरेको छैन । राष्ट्रिय खेलकुद परिषद् र नेपाल तेक्वान्दो संघबीचको विवादले पनि त्यसो भएको हुन सक्छ ।

‘म तेक्वान्दो संघ वा राष्ट्रिय खेलकुद परिषदको कर्मचारी पनि होइन । खेलाडीहरूसँग पैसा उठाएको पनि छैन । आर्थिक अभाव त भइहाल्छ’ उनले थपे, ‘फरक क्षमता भएको नागरिकलाई उसको बाटो देखाएर भविष्यमा शिर उँचो पार्ने गरी तयार पार्छु भन्ने उद्देश्यले मैले प्रशिक्षण गराउन थालेको हो । उनीहरू सफल भइरहेका छन्, म खुसी छु ।’

बिहान प्रशिक्षण गराएपछि नेगी एन्फा कार्यालयमा हाजिर हुन पुग्छन् । त्यही कमाइबाट उनको घर चलेको छ । प्रशिक्षकका रूपमा पाइरहेको सफलताले हौसला मिलेको छ । तेक्वान्दो संघबाट पनि बलियो साथ पाएको उनले बताए ।

फरक क्षमता भएकालाई खेलाउन सजिलो, तयार पार्न गाह्रो

नेगीको लामो अनुभवका अनुसार फरक क्षमता भएकालाई प्रशिक्षण गराउन तुलनात्मक रूपमा सहज छ । तर, खेल र प्रशिक्षणका लागि तयार बनाउन नै कठिन हुने उनको अनुभव छ ।

पलेशा, सृजना सहित ९ जना खेलाडीलाई नेगीले सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा दैनिक प्रशिक्षण गराउँछन् । यीसहित देशभर १७ जना खेलाडीले प्रशिक्षण लिइरहेको उनले बताए । पहिचान भएका र खेल्न चाहनेलाई अवसर दिइरहेका छन्

आफूले पारा खेलाडीलाई प्रशिक्षण थालेको एक वर्षपछि नै रन्जना धामीले एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जित्दा नेगीका लागि प्रशिक्षकका रूपमा पहिलो अन्तर्राष्ट्रिय भ्रमण थियो । नेगीसँगै अहिलेकी चर्चित खेलाडी पलेशा गोवर्द्धनको पनि त्यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो ।

‘फरक क्षमता भएका खेलाडीलाई बुझाउन र त्यसलाई कार्यान्वयन गर्न पनि सजिलो हुन्छ । उनीहरू दिएको जिम्मेवारी सहर्ष टिप्छन् । पारा तेक्वान्दोको हकमा घाँटीभन्दा माथि प्रहार गर्न नपाइने हुँदा खेल्न सहज पनि हुन्छ’ नेगीले भने, ‘तर उनीहरूलाई खेल्नका लागि घरबाट बाहिर निकाल्न स्वयं खेलाडी र अभिभावकलाई तयार गर्न असाध्यै गाह्रो ।’

ओलम्पिकमा ऐतिहासिक दुई खेल जितेकी पलेशा गोवर्द्धनलाई अन्तर्राष्ट्रिय सहभागिताका लागि परिवारलाई मनाउन धेरै सम्झाइ-बुझाइ गर्नुपरेको सम्झना नेगीलाई अहिले पनि ताजै छ । खेलाडीहरूको खानपान, हेरचाहदेखि सबै दैनिक काममा सहयोगी बन्दै प्रशिक्षण गराउने उनको आफ्नै शैली छ ।

‘फरक क्षमताका हुन्छन् । उनीहरूसँग साथी जस्तो बनेर, फकाएर, अभिभावक तथा गुरु जस्तो बनेर कसिरहनुपर्छ । उनीहरूमा सबलको जस्तो बलियो मानसिकता हुँदैन,’ राखेपको खेलकुद विज्ञान विभागबाट दुईपल्ट गरी एक वर्ष विशेष प्रशिक्षण कोर्ष पूरा गरेका नेगीले भने, ‘फरक क्षमता भएपछि फरक सोच आउँछ । त्यसलाई कसरी प्रेरित गर्ने, कसरी खेल यात्रामा लगाउने भन्ने कुरा हुन्छ । प्रशिक्षण गर्दा सन्तुलन हुँदैन । सबै खेलाडी आर्थिक रूपमा पनि सम्पन्न हुँदैनन् ।’

एसियाली खेलकुदमा स्वर्ण र ओलम्पिकमा पदकको लक्ष्य

पलेशा, सृजना सहित ९ जना खेलाडीलाई नेगीले सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा दैनिक प्रशिक्षण गराउँछन् । यीसहित देशभर १७ जना खेलाडीले प्रशिक्षण लिइरहेको उनले बताए । पहिचान भएका र खेल्न चाहनेलाई अवसर दिइरहेका छन् ।

प्रशिक्षक नेगीले आउने असोजमा चीनमा हुने पारा एसियाली खेलकुदमा तेक्वान्दोबाट स्वर्ण जित्ने गरी तयारी भइरहेको बताए । विश्व वरियतामा सातौं स्थानमा रहेका पलेशा र सृजना लगायत अन्य युवा खेलाडीबाट पदकको आशा गरेको नेगी बताउँछन् ।

‘हाम्रा खेलाडीले विश्वका १, २, ३ वरियताका खेलाडीलाई पराजित गरिसकेको अवस्था छ । त्यसैले ओलम्पिक, विश्व च्याम्पियनसिपमा पनि स्वर्णबाट हामी धेरै टाढा छैनौं । यसका लागि खेलाडीलाई शारीरिक र मानसिक रूपमा तयार गर्नुपर्छ’, उनले भने ।

अर्को वर्ष फ्रान्सको पेरिसमा पारा ओलम्पिक हुँदैछ । दुई वर्षअघि जापानमा पूरा हुन नपाएको सपनालाई पेरिसमा पूरा गर्ने लक्ष्य नेगीको छ । त्यसका लागि उनले आफ्ना खेलाडीमा अनुभव र एक्स्पोजरको कमी देखेका छन् ।

उनी भन्छन्, ‘अघिल्लोपल्ट पदकको नजिक पुगेर चुक्यौं । हामीलाई अनुभवको कमी भइरहेको छ । विश्वभर नियमित पारा तेक्वान्दो सिरिजहरू भइरहेका हुन्छन् । हाम्रा खेलाडीलाई त्यहाँ नियमित खेल्न पाउने व्यवस्था गरिदिने हो भने सफलता टाढा छैन ।’

उनले पारा खेलकुदलाई सरकारले पनि प्राथमिकता नदिएको गुनासो समेत गरे ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?