+
+
असार १५ :

रोपाइँ : कसैलाई फेसन, किसानलाई कहर

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०८० असार १५ गते १२:११

असार महिना, मानो रोपेर मुरी फलाउने महिना । वर्ष दिनको लागि धान रोप्न मेहनत गर्ने महिना । यस महिनामा पनि असार १५ विशेष दिन हो । यो दिन पानी परे पनि, नपरे पनि धान रोप्ने, हिलो खेल्ने, दही चिउरा खाने चलन छ । सरकारी तवरबाट यस दिनलाई राष्ट्रिय धान दिवसको रुपमा मनाइने गरिन्छ ।

जे होस्, असार १५ किसानसँग जोडिएको दिन हो, एक पर्व हो । तर हिजोआज यो दिनलाई किसानले भन्दा गैरकिसानले फेसनको रुपमा मनाउने गरेको पाइन्छ । वास्तविक किसान जसलाई धान रोप्नका लागि सिंचाई र मलको जोहो गर्नबाटै फुर्सद छैन । आकाशे पानीको भरमा खेती गर्नुपर्ने अवस्था अहिले पनि देशका अधिकांश किसानको साझा समस्या हो । किनकि धेरै ठाउँमा अहिले पनि सिंचाइको उचित बन्दोबस्त छैन ।

सबैभन्दा मुख्य समस्या किसानका लागि सिंचाइ नै हो । आकाशेपानीको भरमा रोपाइँ गर्नुपर्ने उनीहरुको नियति नै हो । सहरी क्षेत्रमा त खेतीयोग्य जमिन पाउनै मुश्किल छ भने गाउँमा पनि बाटो मात्रै बनाउने होडबाजीले कुलोको अस्तित्व नै मेटिएको छ । पहिले एक दिन पानी पर्‍यो भने कुलोमार्फत पानी ल्याएर रोपाइँ गरिन्थ्यो तर अहिले कुलो नै बन्द हुँदा जम्ने गरी पानी नपरेसम्म रोपाइँ सम्भव हुन छाडेको छ ।

आर्थिक अवस्था राम्रो भएकाले खोला नजिक भएमा मेसिनले पानी तानेर रोपाइँ गरेका छन् भने कसैले ट्यांकरका ट्यांकर गाडीले पानी ओसारेर रोपाइँ गरेका छन् । तर निम्नवर्गीय किसान परिवारका सम्पूर्ण सदस्य दिनहुँ बिहानैदेखि साँझस्मम रोपाइँ गर्न बाध्य छन् ।

अहिले सुगम ठाउँमा सिंचाइको राम्रै सुविधा पुगेको भए पनि अन्य ठाउँको अवस्था झनै बिग्रिएको जस्तो लाग्छ । आकाशे पानी, त्यसपछि कुलोको सहायताले पानी लगाएर धान रोप्ने चलन अहिले हराएको छ । सबैतिर एकैपटक धान रोप्ने चलन पनि अहिले खासै देखिंदैन ।

मानिसहरुमा रोपाइँप्रतिको उत्साह पनि कम भएजस्तो लाग्छ । असार १५ का दिन औपचारिकता निभाउनेहरु बढी देखिन्छन् । फेसनबल पहिरनमा सजिएर खेतमा रोपाइँ गरेको फोटो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने होडबाजी चलेको छ । यसबाट रमाइलोबाहेक किसानका मर्म भने कसैले नबुझे झैं लाग्छ ।

किसानलाई पानीको एक-एक थोपाको महत्व हुन्छ । तर असार १५ मनाउने नाममा ट्‌यांकरका ट्यांकर पानी खेर फाल्दा कसलाई फाइदा भयो ? ट्यांकरको पानीले सानो टुक्रा खेतमा रोपाइँ गर्दा पक्कै समग्र कृषिकर्मलाई फाइदा पुग्दैन । त्यसैले किसानका वास्तविक समस्या सिंचाइ, मल, प्रविधि, बजारका कुरामा ध्यान पुर्‍याउन जरुरी छ । धान दिवस मनाउने नाममा ट्यांकरको पानी खेर फाल्ने र कृषिमन्त्री गएर रोपाइँ गरेर कृषिको आधुनिकीकरणमा कुनै योगदान पुग्छ भन्न सकिंदैन ।

लेखकको बारेमा
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?