+
+

पाँचदलीय गठबन्धनको दाबी : बहुमत जुटाएर कोशीमा सरकार बनाउँछौं

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते १४:३७

१५ असार, विराटनगर । पाँचदलीय गठबन्धनका नेताहरुले कोशी प्रदेशमा बहुमतको सरकार गठनको प्रयास गर्ने बताएका छन् । तर सहमतीय सरकार गठनको सम्भावना पनि नकारेका छैनन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत नपाएसँगै एमाले नेतृत्वको सरकार ढलेको छ । अब प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्ने छन् ।

पाँचदलीय गठबन्धनका नेताहरुका अनुसार सुरुमा बहुमतीय सरकार गठनको प्रयास हुनेछ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य चाहिन्छ । माओवादी केन्द्रबाट निर्वाचित भएर सभामुख भएका बाबुराम गौतमलाई नजोड्ने हो भने गठबन्धनसँग जम्मा ४६ प्रदेशसभा सदस्य छ । कांग्रेसका २९, माओवादी केन्द्रका १२ (सभामुख बाहेक), एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टी (जसपा) का एक प्रदेशसभा सदस्य छन् ।

प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेसँग ४० सिट छ भने राप्रपासँग ६ प्रदेशसभा सदस्य छन् । अर्थात दुबै (एमाले–राप्रपा र पाँचदलीय) गठबन्धनसँग समान ४६ मत मात्र छ ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापा बहुमत जुटाएर गठबन्धनको सरकार गठनको प्रयास हुने बताउँछन् । प्रदेशसभामा ९३ सदस्य रहेको भन्दै उनले भने, ‘अहिले हामीसँग ४६ छ । बाँकी रहेको संख्याबाट प्लस गराउने कोसिस गर्छौं ।’
राप्रपा आउँछ भन्ने प्रश्नमा उनले भने, ‘सम्भावना छ ।’

यद्यपि सहमतीय गठनको सम्भावना पनि उनले अस्वीकार गरेनन् । कांग्रेस संसदीय दलका नेता थापाले भने, ‘सहमतीय सरकारको कुरा भइराखेको छ । त्यो पनि हुन्न भन्न सकिन्न ।’

प्रदेशको अवस्थालाई हेरेर स्थायित्वका लागि सहमतीय सरकार गठन गर्नुपर्ने हुनसक्ने बताए । उनले अघि भने, ‘अहिले पहिलो प्रयास चाहिँ गठबन्धन दलहरु भित्रैबाट बहुमत पुर्‍याएर सरकार बनाउने र चलाउने कोशिश गर्छौं ।’

माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले पनि गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गरे ।

गठबन्धनमा सरकारको नेतृत्वबारे पनि सहमति जुटेको छैन । एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले भने मुख्यमन्त्रीमा आफ्नो दाबी नभएको बताएका छन् । सरकारमा माओवादी र कांग्रेसको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?