+
+

भोलिदेखि क्रसर उद्योगहरुले गिट्टी बालुवाको बिक्री रोक्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते १८:५८

१५ असार, काठमाडौं । शनिबारदेखि क्रसर उद्योगहरुले ढुङ्‍गा, गिट्टी र बालुवाको आपूर्ति ठप्प पार्ने भएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको आह्वानमा शनिबारदेखि क्रसर उद्योगहरु बन्द हुन लागेका हुन् ।

क्रसर उद्योग नवीकरण नभएको भन्दै महासंघले शनिबारदेखि ढुङ्‍गा, गिट्टी, बालुवाको बिक्री वितरण रोक्ने घोषणा गरेको छ । महासंघले गत ११ माघमा भएको क्रसर उद्योगको दर्ता नवीकरण गर्ने निर्णय कार्यान्वयन नभएको भन्दै आन्दोलनमा जाने निर्णय गरेको हो ।

गत ३ असारमा नै महासंघले माग पूरा नभए देशभरका क्रसर उद्योगबाट निर्माणजन्य सामग्रीको आपूर्ति ठप्प पार्ने चेतावनी दिएको थियो । महासंघका महासचिव पुरुषोत्तम रेग्मी सरकारले निर्णाय गरेर पनि कार्यान्वयन नगरेपछि आन्दोलनमा जान लागिएको बताउँछन् ।

‘देशैभर ढुङ्‍गा, गिट्टी, बालुवाको बिक्री वितरण ठप्प पर्छौं,’ उनले भने, ‘हामीले आज संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीज्यूलाई भेटेर समस्याहरु राखेका छौं, तत्काल माग पुरा नहुने भएकाले आन्दोलनमा जानुको विकल्प रहेन ।’

पछिल्लोपटक दिएको म्यादअनुसार अवैध रुपमा चलिरहेका क्रसर उद्योगहरु आगामी असार मसान्तभित्र वैध भएर सञ्चालन गरिसक्नुपर्छ । गत माघमा मन्त्रिपरिषद्ले तत्कालीन समयमा इजाजत लिई दर्ता भएका तर, मापदण्डका कारण नवीकरण हुन नसकेका उद्योगलाई असारसम्मका लागि नवीकरण गर्ने निर्णय गरेको थियो ।

तर, उद्योगीहरुले सरकारको निर्णयले दर्ता भएका सबै उद्योगहरु स्वतः वैध हुने दाबी गरेका छन् । मन्त्रिपरिषद्को निर्णय अस्पष्ट भएको भन्दै जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयहरु क्रसर नवीकरण गर्न तयार भएका छैनन् ।

निर्णय कार्यान्वयन गर्न दबाब दिने उद्देश्यसहित व्यवसायीले आन्दोलन थालेका हुन् । उनीहरुको आन्दोलनपछि सरकारले फेरि क्रसर उद्योगलाई एक वर्षका लागि वैधता दिने सम्भावना बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?