+
+

मुग्लिन–नारायणगढ खण्डको पहिरोले सम्झाउँछ घुमाउनेको अलपत्र पुल   

रासस रासस
२०८० असार १७ गते १३:३७

१७ असार, दमौली । विगत केही दिनयता मुग्लिन–नारायणगढ सडकमा दिनहुँ पहिरो झर्दा सर्वसाधारणको यात्रा कष्टकर भइरहेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलमा पटकपटक झरेको पहिराले उक्त खण्ड अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् ।

यो ठाउँमा गइरहेको पहिरोले तनहुँको आँबुखैरेनी गाउँपालिका र भरतपुर महानगरपालिका जोड्ने घुमाउनेको अलपत्र पुललाई फेरि एकपटक सम्झाएको छ । आँबुखैरेनी–५ र भरतपुर–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथिको घुमाउनेमा सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो ।

पुल बनेको भए यतिबेला पहिराका कारण अलपत्र भएर बस्नुपर्ने अवस्था आउँदैनथ्यो । मुग्लिन–नारायणगढ खण्डको विकल्पका रुपमा सर्वसाधारणले उक्त पुल तरेर बुद्धसिं मार्ग हुँदै दमौली निस्केर गन्तव्यसम्म पुग्न पाउँथे । त्यस्तै पोखरातर्फबाट आउने यात्रु डुम्रे–आँबुखैरेनी नभई बुद्धसिं मार्ग भएर उक्त पुल तरेर भरतपुरको घुमाउने निस्किन पाउँथे ।

नौ वर्ष अगाडि घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ । उक्त ठाउँमा पुल निर्माण अलपत्र हुँदा मुग्लिन–नारायणगढ खण्डको तीन किलोमा गएको पहिराले घन्टौँसम्म यात्रु अलपत्र पर्नुपर्ने अवस्था आएको युवा अभियन्ता प्रविण पौडेलले बताए । ‘यात्रु गन्तव्यसम्म जानका लागि घन्टौँ पहिराले थुनिएर अलपत्र बन्नुपरेको छ, घुमाउनेमा पुल बनेको भए वैकल्पिक मार्ग हुँदै यात्रु आवतजावत गर्न पाउँथे’ उनले भने ।

पौडेलले घुमाउनेको पुल निर्माण सम्पन्न गर्नेतर्फ सरोकारवालाको ध्यान जानुपर्ने बताए । ‘घुमाउनेको अलपत्र पुल हेरेर चित्त बुझाउनुपर्ने अवस्था छ, पुल बनेको भए आज अलपत्र भएर बस्नुपर्थेन, बुद्धसिं मार्गमा पनि यस अगाडि नै कालोपत्र भइसक्नुपर्ने थियो’ उनले भने ।

भरतपुर घर भई दमौलीमा बसोबास गर्दै आएका प्रकाशचन्द्र भट्टराईले उक्त पुललाई समयमै पूरा गर्न सकेको भए मुग्लिन–नारायणगढ खण्डको विकल्पका रुपमा उक्त मार्ग विकास हुने बताए । उनले भने, ‘यो पुललाई देखाएर धेरैले राजनीति गर्नुभयो, तर ठेकेदारलाई ल्याएर काम गराउनेतिर कसैले पहल गरेनन् ।’

उनले मोटरसाइकलमार्फत बुद्धसिंह मार्ग हुँदै झोलुङ्गे पुल तरेर यात्रा गर्दै आएका छन् । मुग्लिन–नारायणगढ खण्डमा पहिराले दैनिक राजमार्ग अवरुद्ध हुँदा पुलको दुईतिर ठडिएका पिल्लर हेरेर चित्त बुझाउनुको विकल्पको नभएको उनको भनाइ छ ।

विसं २०७१ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो । मृत सञ्जीवनी निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार हालसम्म ३० प्रतिशत मात्रै काम भएको छ । सम्झौता भएको लामो समयसम्म पनि पुलले गति लिन नसकेको आँबुखैरेनीका अध्यक्ष शुक्र चुमानले बताए ।

‘निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुलको कामले गति लिन सकेन, सम्बन्धित निकायमा पनि पटकपटक ध्यानाकर्षण गरायौँ’, चुमानले भने । एक सय पाँच मिटर लम्बाइ रहेको पुलको लागत रु नौ करोड ५६ लाख रहेको छ । बारम्बार समय थप भए पनि पुलको कामले गति लिन नसकेपछि केही समय अगाडि तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उक्त पुलको स्थलगत अवलोकन गरेका थिए ।

तनहुँ क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले केही समय अगाडि घुमाउने पुलको अवलोकन गर्दै यसलाई चाँडो निर्माण सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गर्ने बताएका थिए ।

गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गको घुमाउनेको उक्त मोटरेवल पुल सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालय तनहँुको प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको हो ।

उक्त पुलको निर्माण सम्पन्नपश्चात् पोखरा र दमौलीलाई नारायणगढ आउनजान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेवल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोर्‍यायाएर मुग्लिङ–नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ ।

पृथ्वीराजमार्गको विकल्पका रुपमा रहेको बुद्धसिंह मार्ग कालोपत्रका लागि काम गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ ।

पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्ला जान समय बचत हुने बुद्धसिंह मार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष विश्व बास्तोलाको भनाइ छ । तनहुँको दमौलीबाट घुमाउने घाटसम्म नियमितरुपमा साना बस तथा दुईपाङ्ग्रे सवारीसाधन आउने जाने गरेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?