+
+

सुन तस्करीमा संलग्नताको आशंकामा बुटवलका २ पसल शिल

अनलाइनखबर अनलाइनखबर
२०८० असार १८ गते ८:४८

१८ असार, बुटवल । भारततर्फ लैजाँदै गर्दा झण्डै दुई किलो सुन बरामद भएको प्रकरणमा बुटवलका दुई वटा सुनचाँदी पसल शिल गरिएको छ ।

सुन तस्करीमा संलग्नताको आशंकामा बुटवल अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपती सुनचाँदी पसल शिल गरिएको हो । बालाजी सुनचाँदी पसलका सञ्चालक इन्द्र सुनार हुन् । लक्ष्मीपती सुनचाँदी पसलकी सञ्चालक इन्द्र सुनारकी श्रीमती हुन् ।

यही असार १० गते रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ कालीदह नाका हुँदै भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले इँटा जस्तै रङ र आकारको झण्डै साढे २ किलोको शंकास्पद वस्तु बरामद गरेको थियो । अनुसन्धान गर्दा इँटा जस्तो उक्त वस्तु १ केजी ९६५.३ ग्राम तौलको सुन प्रमाणित भएको थियो ।

सुन बरामद गर्दा पक्राउ परेका व्यक्ति दाङ घोराही उपमहानगरपालिका-१० का हुमानन्द गिरीको बयानका आधारमा तस्करीमा बालाजी र लक्ष्मीपती बालाजी सुनचाँदी पसलको पनि संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । दुवै पसललाई आइतबार शिल गरी अनुसन्धान शुरु गरिएको भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम अर्यालले बताए ।

सुनसहित पक्राउ परेका गिरीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको र त्यही अनुसन्धानबाट सुनचाँदी पसलको पनि संलग्नता देखिएकाले पसल शिल गरेको उनले बताए ।

करिब २ करोड मूल्यको १ केजी ९६५.३ ग्राम तौलको सुन, सुन तस्करी गर्न प्रयोग भएको बा१२च ३८२० नम्बरको मारुती सुजुकी कार र कार चालक दाङका हुमानन्द गिरीलाई सशस्त्र प्रहरीले भैरहवा भन्सार कार्यालयको जिम्मा लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?