+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
Biratnagar won by 3 wickets
Won विराटनगर किंग्स 2025
163/7 (19.5)
Shares

विज्ञानको परीक्षामा साइन्सको प्रश्नपत्र !

सिकेको माध्यम नेपाली तर प्रश्न अंग्रेजीमा सोधिन्छ भने हामी कति अन्यायपूर्ण समाज निर्माण गर्दैछौं, नीतिनिर्माताले सोच्नुपर्छ।

प्रकृति मैनाली प्रकृति मैनाली
२०८० असार १९ गते १८:०७

यो वर्ष हुम्लाको ६ वटा परीक्षा केन्द्रबाट १ हजार २३४ जना माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भए ।

यो संख्या गत वर्ष भन्दा १३४ जना बढी हो । पहिले फाट्टफुट्ट मात्र एसएलसी पास हुने हुम्लामा ग्रेडिङ प्रणाली सुरु भएपछि तथ्यांकहरू एकाएक बदलिएको छ।  निल खाएका विद्यालयहरू अहिले शतप्रतिशत विद्यार्थी पास गराउन सफल देखिएका छन्।

फलामे ढोका मानिने एसएलसी उत्तीर्ण हुने धेरै विद्यार्थीको सपना ग्रेडिङ प्रणालीले पूरा गरेको छ। यस्तै सपना पूरा हुनेमध्येकी एक हुन् शिक्षा रोकाया ।

सदरमुकाम सिमकोटबाट ३ दिन हिंडेर र २ रात बास बसेर उनको अदानचुली गाउँ पुगिन्छ। २०७८ सालमा एसईई पास गरेकी शिक्षा अहिले प्लस टु पढ्न विगत दुई वर्षदेखि काठमाडौंमा छिन्। विज्ञानले दूरीलाई ३ दिन २ रातमा नाप्नु गलत भन्ला, तर बाटो नजोडिएको शिक्षाको गाउँलाई बटुवाले दिन र रातबाहेक अरु माध्यममा नाप्न पनि त नसक्लान्। दूरीलाई दिन र रातमा नाप्ने गाउँकी छोरी शिक्षालाई उनको परिवारको एसईई उत्तीर्ण गर्ने पहिलो छोरी भनी चिनाउनु आश्चर्यजनक नलाग्ला।

जीवनमा कहिल्यै निराशा नदेखेको मान्छेलाई निराश अनि नीरस देखेपछि मैले शिक्षालाई सोधें, ‘के भयो ?’

उनी केही बोलिनन्।

आँखामा टिलपिल आँसु टप्किएको थियो। मैले फेरि सोधें, ‘के भयो?’

उनले धेरैबेरको मौनतापछि उत्तर दिइन्, ‘जाँच बिग्रियो ! उत्तर त आउँथ्यो होला तर प्रश्न नै बुझिनँ। प्रश्न नेपालीमा होइन अंग्रेजीमा आयो। प्रश्न नेपालीमा भनिदिनुहोस् न भनेर परीक्षा सुपरीवेक्षकलाई सोधेको, सिकाउन मिल्दैन भन्नुभयो। तैपनि ३ घण्टा बसेर लेखें।’

‘पास हुन्छौ त?’ मैले फेरि सोधें।

उनी फेरि चुप लागिन्।

१२ कक्षाको नतिजा आउन बाँकी छ। पक्का अनुत्तीर्ण हुने निश्चित भएका विद्यार्थी, पक्का उत्तीर्ण हुने प्रत्यासी र परीक्षामा उत्कृष्ट हुने महत्वाकांक्षा बोकेका गरी तीनै तहका विद्यार्थीले परीक्षा र तिनका अंक पछाडिको परिदृश्य बुझ्न जरुरी छ।

यो समाज र समाजका संरचनाहरू विभेदकारी छन्। उत्कृष्ट भएकाहरूले उनीहरू भन्दा पनि उत्कृष्ट हुन सक्नेहरूसँग प्रतिस्पर्धा नै गर्न पाएका छैनन्। किनारामा परेका प्रतिभाहरू केन्द्रमा आउनै पाएका छैनन्।

आफ्नो परिस्थिति सापेक्षिक आफ्नो मूल्यांकन गर्न सक्ने खुबी हामी सबैमा छ। अंक पछाडिको वस्तुनिष्ठ वास्तविकता भन्दा धेरैमाथि अंकको व्यक्तिपरक व्याख्या महत्वपूर्ण हो। यो कुरा हरेक परीक्षार्थीले बुझ्न जरुरी छ।

प्रश्न गर्नेले गर्लान्- अंग्रेजीमा सोधेको प्रश्न नबुझ्नेले एसईई कसरी पास गर्‍यो ? एउटा त अनिवार्य अंग्रेजी विषय पनि त हुन्छ नि ? गाउँको विद्यालयमा अंग्रेजी विषय पनि नेपाली भाषामा पढेकी शिक्षाको लागि २.८ जीपीए ल्याएर एसईई पास गर्नु उनको जीवनको सबैभन्दा ठूलो उपलब्धि हो।

समानताभन्दा समतामूलक समावेशी समाज निर्माण अहिलेको वैश्विक नारा हो। हरेक राज्यले आफ्नो अवस्था हेरेर विभेदकारी व्यवस्था लागू गरेको हुन्छ। आरक्षण, कोटा विभेदकारी व्यवस्थाका केही उदाहरणहरू हुन्।

कक्षा १२ को परीक्षामा प्रश्न अंगेजीमा मात्र सोधिनुले सकारात्मक विभेदको पक्षधर, समतामूलक समाज निर्माणको गाथा गाउने हरेक नीतिनिर्माता चुकेका छन्।

समानताको नाममा असमान भौगोलिक परिवेशबाट पुस्तैनी गरिबीको रेखामुनि रहेका, सामाजिक र संरचनात्मक विभेदका सिकार भएका हुम्लाका विद्यार्थीलाई समानताको एउटै डालोमा हाल्न खोज्दा उनीहरूको सम्भावना त्यही डालोको आयतन र परिधिभित्र खुम्चिन पुगेको छ। खुला आकाशमा उड्ने सम्भावनाहरू, १२ कक्षा उत्तीर्ण हुने सपनाहरू चुँडिएको छ।

असमान धरातलमा उभ्याइएर समानताको चस्माले नबुझ्ने भाषामा प्रश्न गर्ने र त्यसरी नै गरिने ग्रेडिङले न्यायपूर्ण समाज निर्माण गर्दैन। उत्कृष्ट र निकृष्टको घोषणा गर्ने ती अंकहरूले संरचनात्मक विभेदको सिकार हुनु के हो देख्दैन। पुस्तैनी गरिबीको रेखामुनि थिचिएर सम्भावनाहरू गुमाएका सुदूरपश्चिमको भूगोल बुझ्दैन।

सरकारी जागिरमा आरक्षण र कोटाको व्यवस्था त छ तर व्यवस्थाले भाषाको माध्यमलाई हतियार बनाई कक्षा १२ अनुत्तीर्ण गराउँछ। आरक्षणले सीमान्तकृत वर्गलाई न्याय गर्न नसकेको तितो यथार्थ सबैभन्दा बढी तितो त्यो बेलामा हुन्छ जब पास गर्न नसक्ने विद्यार्थीलाई विद्यालयको अकर्मण्यता छोप्न जबर्जस्ती परीक्षा उत्तीर्ण गराइन्छ। अनि गलत सपनाको भुमरीले १२ पास गर्ने र डिग्री लिने बाटोतिर युवालाई डोर्‍याउँछ। दुई वर्षको डिग्रीको उल्झनमा नलागेर सीप सिकेर दक्ष हुने हो भने राम्रो जीवनयापन गर्न सक्छ भनेर परामर्श भने उसले विरलै पाउँछ।

त्यो सपनाको मूल्यको लागि शिक्षाको बाले दुई वर्षमा ५० वटा वस्तुभाउ बेचेका छन्।

शिक्षालाई न्याय त्यो बेलामा हुन्छ जुन बेलामा शिक्षाले आफूले जानेको भाषामा परीक्षा दिन पाउँछिन्। उनको ज्ञानको स्तरको मूल्यांकनमा जब भाषा तगारो बन्दैन। किनकि भाषा नजान्नु उनको गल्ती होइन।

शिक्षाको उद्देश्य के हो? के साक्षरताको प्रतिशत वृद्धि शिक्षाको औचित्य हो?

व्यक्तिको लागि शिक्षाको आवश्यकता आफ्नो जीवन सरल रूपमा यापन गर्ने माध्यम होला, आफ्नो सम्भावनाको आकलन गर्न र पहिल्याउन सक्नुहोला। राज्यको लागि शिक्षाको महत्व असल नागरिक निर्माण गर्नु, देश विकास, सुशासन, समृद्धि र सन्तुलन ल्याउनुहोला !

शैक्षिक सुधारका कार्यक्रमहरू तटस्थ हुनु तर फगत ग्रेडिङ प्रणालीको सुरुवातले केही भूगोलमा आश्चर्यजनक रूपमा शैक्षिक सूचकांक गर्विलो देखिएको छ। तर ती प्रस्तुत सूचकांकले बजारमा उत्पादन भएका मानव स्रोत र संशाधनसँग लय मिलाउन नसक्दा निराशा भने जन्मिएको छ।

किनकि खोक्रो डिग्रीले दक्षताको प्रतिनिधित्व गर्दैन। त्यसैले निश्चित भूगोलको निश्चित वर्गलाई डिग्रीभन्दा बढी दक्ष जनशक्ति बनाउन र त्यही अनुरूप सीप विकास गर्न उत्साहित गर्नु बढी न्यायिक हो।

के साइन्सको इस्पेलिङ नआउने तर नेपालीमा विज्ञान लेख्न जान्नेहरू निरक्षर हुन्?

अंग्रेजी भाषा ज्ञान होइन, माध्यम हो। जो सबैले सिक्न सक्छन्, सिकाउनु भने पर्छ। भाषा नजान्नु विद्यार्थीको दोष होइन, शिक्षकको कमजोरी हो। शिक्षकलाई मनलाग्दी गर्न छुट दिने र निगरानी नगर्ने राज्य संयन्त्रको दोष हो। पास नहुने विद्यार्थीलाई जबर्जस्ती पास गराएर आर्थिक बोझ थोपर्ने ग्रेडिङ प्रणालीमा चलखेल गर्ने विद्यालय दोषी हो। परीक्षामा प्रश्न अंग्रेजीमा आउँछ भन्ने जान्दाजान्दै सामुदायिक क्याम्पसका शिक्षकहरूले विद्यार्थीको भविष्यमाथि खेलबाड गरी नेपालीमा पढाउनु पनि दोष हो।

परीक्षा वातावरण विज्ञानको, प्रश्नपत्र इनभाइरोनमेन्ट साइन्सको आउँछ। सिकेको माध्यम नेपाली तर प्रश्न अंग्रेजीमा सोधिन्छ भने हामी कति अन्यायपूर्ण समाज निर्माण गर्दैछौं, नीतिनिर्माताले सोच्नुपर्छ।

समतामूलक समाज निर्माणको लागि सकारात्मक विभेद अत्यावश्यक हो। यो कुरा राज्यले नबुझेको होइन। यस्ता सकारात्मक विभेद चिरञ्जीवी राख्ने राज्यको अदूरदर्शिता भने निन्दनीय छ।

राज्य रणनीतिक र इमानदार हुने हो भने समानस्तरको विद्यालय शिक्षा उपलब्ध गराउने राज्यको दायित्वप्रति गम्भीर हुनुपर्ने हो तर समान धरातल निर्माण गरी क्रमिक रूपमा समान पहुँच र समान प्रतिस्पर्धात्मक व्यवस्था अँगाल्न राज्य दृढ छैन ।

लेखक
प्रकृति मैनाली

राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०२१ बाट सम्मानित लेखक सामाजिक उद्यमशीलताको क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?