News Summary
Generated by OK AI. Editorially reviewed.- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलसहित मन्त्रालयका कर्मचारी र राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका सदस्यहरूले नेपाली फिल्म 'परान' आफैं पैसा तिरेर हेरेका छन्।
- मन्त्री खरेलले २०२६ सालको चलचित्र ऐनलाई समयसापेक्ष बनाउनुपर्ने र नयाँ ऐनले आगामी ५० वर्षसम्म सान्दर्भिक हुनुपर्ने बताए।
- खरेलले नेपाली सिनेमालाई राष्ट्रिय उद्योगको रुपमा विकास गर्न राज्यले सहजीकरण गर्नुपर्ने र उद्योगलाई लोन सुविधा दिनुपर्ने बताएका छन्।
काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलसहित मन्त्रालयका कर्मचारी, राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका सदस्यले नेपाली फिल्म ‘परान’ हेरेका छन् ।
शुक्रबार बेलुका क्यूएफएक्सको छायाँ हलमा मन्त्री खरेलसहित मन्त्रालयका सचिव, सहसचिव, विधायन व्यवस्थापन समितिका सभापति एवं सदस्यहरूले आफैले पैसा तिरेर फिल्म हेरेका हुन् ।
राष्ट्रिय सभाको विधायन समितिमा यतिबेला प्रस्तावित चलचित्र विधेयकमाथि दफावार छलफल चलिरहँदा विभागीय मन्त्रीसहित समितिका सदस्यहरूले फिल्म हेरेका हुन् । सो अवसरमा संक्षिप्तरुपमा नेपाली चलचित्रको वर्तमान अवस्थाबारे पनि छलफल भयो ।
गत महिना आफैले टिकट काटेर फिल्म हेर्ने घोषणा गरेका मन्त्री खरेल ‘परान’ हेर्न गएका हुन् । नेपाली फिल्ममेकरलाई प्रोत्साहन गर्न आफूहरू पैसा तिरेर आएको उनले बताए । उनले अब बन्ने चलचित्र ऐन अबको ५० वर्षसम्म सान्दर्भिक हुनुपर्ने बताए ।
‘२०२६ सालमा बनेको ऐनले अहिलेसम्म सिनेमा बनाउने काम निर्दिष्टि गरिरहेको छ । विधायन समितिमा गएर मैले हेरेँ । समय त यति धेरै परिवर्तन भयो, स्टोरी, उपकरण, लगानी सबैमा तर, कानून जस्ताको तस्तै’ उनले भने, ‘हामीले यस्तो कानून बनाऊँ कि आजभन्दा ५० वर्ष पछाडिको जेनेरेसनले हामीमाथि आभार व्यक्त गरून् ।’

उनले आवश्यक परेको खण्डमा अन्य जनराका पनि फिल्म हेर्ने बताए । ‘हामी एकखालको राम्रो ऐन बनाउने तयारीमा छौं’ उनले भने ।
नेपाली सिनेमालाई राष्ट्रिय उद्योगको रुपमा विकास गर्न जरुरी रहेको बताउँदै उनले प्रश्न गरे- सिनेमा बनाउने मान्छेले लोन लिन सक्छ कि सक्दैन ? उद्योगको मान्यता दिएपछि राज्यले सोहीअनुसार व्यवहार गर्छ कि गर्दैन ? अब बहस गर्नुपर्छ ।’
मन्त्री खरेलले सरकारले चलचित्र क्षेत्रलाई सहजीकरण गर्नुपर्ने बताए । ‘सरकारले सहजीकरण गर्नुपर्छ, नियन्त्रण गर्नु हुँदैन । आवश्यक परेको खण्डमा नियमन पनि गर्नुपर्छ । स्वच्छन्दता साह्रो दिनु हुँदैन’ उनले भने ।
आफूले नेपाली सिनेमाको भविष्य उज्वल देखेको पनि उनले बताए । ‘सरकार सँधै साथमा छ’ उनले भने ।
सो अवसरमा फिल्म ‘परान’ का निर्देशक दीपक आचार्य काकुले पनि आफ्ना धारणा राखे । सिनेपाः बक्सअफिसमा नीर शाह स्टारर फिल्मले पछिल्लो शनिबारसम्म १५ करोडभन्दा धेरै कमाइ गरेको छ ।
यो फिल्म सर्वकालिन धेरै कमाउने आठौं नेपाली फिल्म बनेको छ ।
प्रतिक्रिया 4