+
+
रविन तामाङ : अबिच्युरी :

जसले रक संगीतलाई नेपाली समाजसँग जोडे

रविनको संगीतलाई पछ्याउने तन्नेरीको यो हुटहुटीको कारण हुनुपर्छ, एल्बम रिलिज हुँदाखेरि नै प्रशंसक ठमेलको रोडहाउस होस या नजिकको क्यासेट पसल पुग्थे । उनका हरेक कन्सर्टमा दर्शकीय उपस्थित बाक्लो हुन्थ्यो । अधिकांश सोल्डआउट हुन्थे । कन्सर्टले माधुर्यता र मौलिकता गुमाउँदै गएको परिदृश्यमा रविनको कन्सर्ट अर्गानिक महसुस हुन्थ्यो ।

विष्णु शर्मा विष्णु शर्मा
२०८० असार २० गते २०:०९

काठमाडौं । रविन तामाङका परिचय अनेक छन् । निर्विवाद उनी नेपाली रकस्टारका पनि ‘रकस्टार’ हुन् । त्योभन्दा माथि एक असल पिता, श्रीमान, अभिनेता र हितैषी । मंगलबार बुढानीलकण्ठ निवासमा अन्तिम सास लिएका रविनमाथि प्रशंसकले श्रद्धाका शब्दहरु बर्साइरहेका छन् । उनको निधनको खबर एकैछिनमा फैलियो र टाइमलाइनमा श्रद्धाञ्जलीको बाढी नै आयो ।

नेता, कलाकारदेखि सर्वसाधारणसम्मले उनको निधनलाई ‘एक युगको अन्त्य’ भएको बताइरहेका छन् । तपाईंले ५० र ६० को दशकमा रविनलाई सुन्नुभएको छ भने उनको देहान्त अझै बढी दुख्न सक्छ । त्यो दुई दशकमा उनको आभाबाट आल्हादित नहुने पुस्ता कमै छ, जो आजपर्यन्त उनको रकसंगीतमा जोश र जिजिविषा देख्छ ।

अरुण थापा, दीप श्रेष्ठ, सञ्जीव प्रधान, सञ्जय श्रेष्ठ, हरिश माथेमा, नेपथ्य, कन्दरा, १९७४ एडी, नवीन के भट्टराईको संगीतमा अभ्यस्त भएको त्यो पुस्तामाझ रविन तामाङको गायकी एक ‘इभोलुसन’ थियो । जन्मथलो सिंगापुरबाट पोखरा फर्किएपछि उनले रविन एण्ड द लुजा ब्याण्ड बनाए । नेपाली रकसंगीतको विकास र घुम्तीमा यो ब्याण्डको गठन र रविनको आगमन एक ‘श्रीगणेश’ थियो ।

२०४६ सालमा प्रजातन्त्रसँगै आर्थिक उदारीकरण सुरु भएपछि यसको प्रभाव ‘डिस्कोग्राफी’मा पनि देखियो । रविन एण्ड द लुजाले खनेको गोरेटोमा मुक्ति एण्ड रिभाइभल, कबवेभजस्ता अन्य रक ब्याण्ड पनि थपिए । यो कालखण्डमा गीति क्यासेटदेखि म्युजिक भिडियोसम्मको यात्रा संगीतले तय गर्‍यो । समयको साक्षी बनेका रविन तामाङलाई त्यो दशकको पुस्ताले आइकन बनायो । अग्लो कद, अंग्रेजी भाषामा दख्खल र आधुनिकतालाई पछ्याउने रविनको त्यो स्वभाव धेरै युवाका लागि प्रेरणा बन्यो ।

जिम्मी हेन्ड्रिक्स र डीप पर्पलजस्ता विश्वचर्चित ब्याण्डबाट प्रभावित थिए उनी । यही प्रभावलाई उनले आफ्नो हिट ट्रयाकमार्फत नेपाली संगीतमा पस्किए । नेपाली रकसंगीतको पर्याय नै बनेका रविन हार्ड रकको जनरालाई पछ्याउने गायक हुन् । सन् २००५ मा रविन एण्ड द लुजाको विघटनपछि उनले जन्माए ‘रविन एण्ड द न्यु रिभोलुसन ।’ अनि सुरु भयो आफ्नै नेतृत्वमा नयाँ संगीत यात्राको सिलसिला । केटाकेटी, हाम्रो देश, नेपाल र १३ हजार उनका हिट एल्बमहरु हुन् । उत्तरआधुनिकताको लयसँग तालमेल मिलाउन पनि रविनको गीत सुन्नैपर्ने अदृश्य बाध्यता युवापुस्तामा थियो । अर्थात्, नयाँपुस्ताका लागि रविन ‘फेसन आइकन’ थिए ।

रविनको संगीतलाई पछ्याउने तन्नेरीको यो हुटहुटीको कारण हुनुपर्छ, एल्बम रिलिज हुँदाखेरि नै प्रशंसक ठमेलको रोडहाउस होस या नजिकको क्यासेट पसल पुग्थे । उनका हरेक कन्सर्टमा दर्शकीय उपस्थित बाक्लो हुन्थ्यो । अधिकांश सोल्डआउट हुन्थे । कन्सर्टले माधुर्यता र मौलिकता गुमाउँदै गएको परिदृश्यमा रविनको कन्सर्ट अर्गानिक महसुस हुन्थ्यो । उनको कन्सर्टमा प्रस्तुति हेर्दा लाग्थ्यो, हामी गीतिचक्का सुनिरहेका छौं । जुरुक-जुरुक पार्ने उनको रक कन्सर्टमा रमाउने र जोश भर्ने युवा त्यो क्षण सम्झिंदा अहिले पनि नोस्टाल्जिक हुन्छन् ।

रविनका ती ९ गीत जसले अहिले पनि रकप्रेमी दर्शक तथा श्रोतामा सांगीतिक छाल सिर्जना गर्छन् । ‘भूलमा भुल्यो’ युवापुस्तामाझ हिट गीत हो । साइन अन मी, केटाकेटी, दम मारो दम, चिसो चिसो हावामा, जति माया लाएपनि, नेपाल, एकता, माइला भाइ उनका चर्चित रकगीत हुन् । उनले अंग्रेजी भाषाको हार्ड रक गायनमा खरो प्रस्तुति दिए । डेनी डेन्जोङ्पा, अरुण थापा र ओमविक्रम विष्टका गीतलाई समेत उनले रक शैलीमा गाएर श्रोताको मन जितेका छन् । यी गीत अहिले पनि धेरै नेपाली रकप्रेमीको आर्काइभमा समावेश हुनुपर्छ । यदि तपाईं रक जनरालाई फलो गर्नुहुन्छ भने तपाईंले धेरैपटक रिप्ले गरे यी धुनहरु सुनेको हुनुपर्छ । सर्वसाधारण मात्र होइन, अन्य रकस्टार पनि रविनका फ्यान हुन् ।

तीमध्ये अभया सुब्बा एक निकट साथी हुन्, जसले रविनको गायकी र संघर्षलाई नजिकबाट नियालेकी छन् । निधनको खबर आएलगत्तै उनले एक युगको अन्त्य भएको प्रतिक्रिया दिइन् । ‘उहाँ मैले चिनेको सबैभन्दा राम्रो रकस्टार हो । उहाँसँग मेरा धेरै याद छन् । यो कुरा सुन्दा नराम्रोसँग हृदय दुखेको छ । हामी सबै उहाँको आभा वरपर रहन पाउँदा खुसी थियौं,’ अभयाका यी शब्द सुन्दा रविन अर्को रकस्टारका लागि कति महत्वपूर्ण थिए भन्ने पुष्टि हुन्छ ।

संगीत जानकार शेखर खरेललाई लाग्छ, अन्य जनराको संगीतमा भन्दा रक गायनमा गायकीभन्दा बढी पर्फमरको स्टाइल हुनु जरुरी छ । ‘उहाँ चर्चित भएको रकगायक भएर मात्र होइन । उहाँमा सो-म्यानसिप र आफ्नै स्टाइलको पर्फमेन्स थियो । स्टेजमा उत्रिंदा उनको एनर्जी र पर्फमेन्स आफ्नो शैलीमा थियो । उहाँले चलनचल्तीका अन्य गीतलाई पनि आफ्नो स्टाइलमा गाउनुभयो,’ खरेल भन्छन्, ‘उहाँले संगीतमा दिएको योगदान अतुलनीय छ । उहाँ आउनुभन्दा पनि पहिला नेपालमा रक गीत गाइन्थे । तर उहाँ आए पनि रक गायनमा पर्फमेन्स पनि हुनुपर्छ भन्ने पुष्टि भयो जसलाई युवाले रुचाए ।’

मुख्यतः रविनले रकगायनलाई नेपाली समाजसँग जोड्ने हिम्मत गरे । उनी आउनुपूर्व पनि केही रकगीत हिट थिए, तर उनले मान्छेको हृदयभित्रै पसेर रक गीतका छालहरु सिर्जना गर्थे । रक गायनको यो स्टाइल र क्षमता आउँदो धेरै समय नेपाली रक जनरामा मिसिङ भइरहनेछ । पछिल्लो समय रविन गायनभन्दा फिल्म अभिनयमा व्यस्त थिए । २०६७ सालमा रिलिज भएको ‘छड्के’बाट उनले फिल्म करिअर थाले । त्यसयता उनले मुखौटा, वान वे, जय परशुराम, मेरो पैसा खै, नाका, दाल भात तरकारी, बादशाह जुट, कमाण्डर, चिसो एस्ट्रेमा काम गरे । उनी अभिनित पछिल्लो फिल्म ‘छड्के २’ थियो ।

रविनको गितार बज्न रोकिए पनि उनले बजाएका झंकारहरु सदियौंसम्म हाम्रो हृदयमा सुनिनेछन् ।

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?