+
+

रुवान्डाको उमुगान्डा र हर्क साम्पाङको श्रमबार

मैले रुवान्डामा केही श्रम खर्चने मौका पाएँ र नेपालमा पनि गर्ने वातावरण खोज्दैछु। कुनै दिन हर्क साम्पाङसँगै सर्दु–खर्दु जान चाहन्छु। निसाने, कोकाहा धाउन चाहन्छु। श्रमसंस्कृति पार्कमा गोडमेल गर्न चाहन्छु।

जीएन शारदा जीएन शारदा
२०८० असार २० गते १३:३३

रुवान्डा- हजार पहाड र दश लाख मुस्कानहरूको देश अर्थात् ‘द ल्याण्ड अफ अ थाउजेन्ड हिल्स् एण्ड अ मिलियन स्माइल्स’! यो मैले यसै लेखेको होइन। रुवान्डाले अरुसामु आफूलाई चिनाउने पंक्ति हो।

रुवान्डा- अफ्रिकी महादेशको मध्य भागमा रहेको सानो भूपरिवेष्टित देश। २६ हजार ३८८ वर्गमिटरको क्षेत्रफल। हाम्रो कोशी प्रदेश भन्दा केही ठूलो। मलाई यस मुलुकमा सन् २०१५ र २०१६ मा काम गर्ने मौका जुर्‍यो। म आफूलाई भाग्यमानी ठान्छु– मैले रुवान्डाको आर्थिक वृद्धिमा यात्राको छोटो समय भए पनि नजिकबाट नियाल्ने मौका पाएँ।

धेरै नेपालीलाई रुवान्डाको दु:खद इतिहासको बारेमा पक्कै थाहा होला। इतिहासको अध्ययन गर्दा सुन्नुभएकै होला- जहाँ १०० दिनको अन्तरालमा हुतु र तुत्सी जातिबीच भएको गृहयुद्धमा अन्दाजी आठ लाख वा सोभन्दा बढी रुवान्डेली जनताको नरसंहार भएको थियो। त्यो साल सन् १९९४ थियो।

हामी सन् २०२३ मा छौं। रुवान्डा आज अफ्रिकाको विकसित देशमा पर्दछ। सन् १९९४ मा अमेरिकी डलर ७५ करोड २० लाख कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भएको मुलुकको हाल जीडीपी ३२ अर्ब अमेरिकी डलर पुगेको छ। प्रतिव्यक्ति आम्दानी ११२ अमेरिकी डलरबाट १३२३ अमेरिकी डलर पुगेको छ।

रुवान्डाले दिनमा दुगुना र रातमा चौगुना प्रगति गरिरहेको छ। हाल रुवान्डालाई अफ्रिका महादेशको युरोप भन्न थालिसकिएको छ। हुन पनि त्यहाँको भौतिक, आर्थिक परिवर्तन हेर्दा कसैले फरक मत नराख्ला। अफ्रिकाकै सुरक्षित, सफा, उग्र विकासशील-विकसित देशमा पर्दछ रुवान्डा। यो सबै ३० वर्षको अन्तरालमा भएको विकास हो— सन् १९९४ बाट २०२३ बीचमा।

यो बीचमा रुवान्डाले के गर्‍यो त जुन हामीले गर्न सकेनौं। छोटोमा भन्दा उनीहरूले काम गरे, हामीले कुरा गर्‍यौं। कहालीलाग्दो नरसंहारपछि मध्यस्थता गरेर हुन्छ, कसैलाई जेल हालेर हुन्छ, आर्थिक क्षतिपूर्ति दिएर हुन्छ, वैमनस्यको अन्त्य गरे।

जातका आधारको वर्गीकरण हटाए। जात बारे कुरासम्म गर्न वर्जित छ त्यहाँ। एकापस बीचको दूरी हटाए- सबैलाई जोड्ने काम गरे। आर्थिक विकासका असंख्य सम्भावनाको खोजी साथै विकास गरे। पर्यटनलाई प्रवर्धन गरे।

यतिसम्म कि हरेक साल धेरै पर्यटक गोरिल्ला हेर्न, रुवान्डाको पुरानो जंगलमा पदयात्रा गर्न र शान्तिका केही दिन बिताउन रुवान्डा जाने गर्दछन्। रुवान्डामा नगदेबालीहरूमा जोड दिए, खेतीमा विविधता ल्याए, सुधार ल्याए।

रुवान्डेलीहरूले आफ्नो इतिहास मेटेनन्, संरक्षण गरे। नरसंहारको कहालीलाग्दो विगतलाई नबिर्सिन र त्यसलाई शिक्षाका रूपमा ग्रहण गर्न, दोहोरिन नदिन धेरै ठाउँमा नरसंहार मेमोरियल (स्मृति भवन) हरू खोले जहाँ मारिएका मानिसका अस्थिपञ्जर, तस्बिर, सरसामान, कथा समावेश गरिएका छन्।

सम्मेलन केन्द्र बनाए जहाँ धेरै क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने गर्दछन्। विविध कार्यक्रम आयोजना गर्ने पद्धति बनाए। ठाउँ र सम्भावनाको बेजोड प्रचार गरे। आगमनलाई सहज बनाए। यतिसम्म कि नेपाली नागरिकहरूले सहजै प्रवेशाज्ञा (भिसा) पाउने देशमा रुवान्डा पनि पर्दछ। इन्टरनेटलाई बृहत्तर सेवा–सुविधासँग जोडे। जनताको स्वास्थ्य सेवा र शिक्षामा पहुँच बढाए। असमानता कम गरे।

रुवान्डाले अपनाएका धेरै मोडलमध्ये उनीहरूको सांस्कृतिक उमुगान्डा पनि एक हो। उमुगान्डा एक सामूहिक सामाजिक सेवा हो, श्रमदान हो। हरेक महिनाको अन्तिम शनिबारमा उमुगान्डा मनाउने गरिन्छ। त्यसदिन देशभरि नै बिहान ८ बजेबाट दिउँसो ११ बजेसम्म हरेक १८ वर्षदेखि ६५ वर्ष बीचका रुवान्डेलीहरू कानुनी रूपमै अनेक सामाजिक काममा सरिक हुनुपर्दछ।

स्वास्थ्य वा अन्य कारणले अयोग्य नठहरिएका व्यक्ति अनुपस्थित रहे अन्दाजी ६ अमेरिकी डलर बराबरको जरिवाना तिर्नुपर्दछ। सो दिन के काममा श्रमदान गर्ने हो, त्यसको निर्क्योल सामुदायिक रूपमै गरिन्छ, मुख्यतः सामुदायिक अगुवाहरूबाट। श्रम सडक र समुदायको सरसफाइदेखि लिएर विद्यालय, अस्पताल निर्माणदेखि लिएर वृक्षरोपण लगायत महत्त्वपूर्ण कार्यमा खर्च गरिन्छ।

यसको इतिहास २०औं शताब्दीभन्दा पुरानो भए पनि १९९४ को गृहयुद्धपश्चात् बेवारिसे लासहरूलाई व्यवस्थापन गर्न, सरसफाइमा प्रयोग हुँदै तत्पश्चात सामुदायिक हित हेतु प्रयोग हुँदै आएको छ।

हाल नेपालको धरान नगरका मेयर हर्क साम्पाङले हरेक शनिबारलाई श्रमबारको संस्कृति सुरु गर्नुभएको छ त्यो अत्यन्त सराहनीय छ। उमुगान्डा रुवान्डेली मोडल भए जस्तै श्रमबार नेपाली मोडल हो कि? एकछिन र एक दिनमै यसको प्रभावकारिता ठूलो नदेखिएला तर कालान्तरमा पक्कै पनि यसले सकारात्मक परिवर्तन नै ल्याउँछ।

४२ किलोमिटर टाढाको कोकाहा खोलाबाट पानी ल्याउनेदेखि लिएर वृक्षरोपण र सामुदायिक पार्क निर्माण भइसकेका दृष्टान्त त धरानमै देखिसकिएको छ। यस्ता सामूहिक गतिविधिले भौतिक विकास मात्र गर्ने नभएर सामुदायिक सद्भाव वृद्धि गर्न अहम् भूमिका खेल्दछ। जनतालाई उत्तरदायित्वको बोध गराउनेदेखि सामाजिक सम्पत्तिप्रति अपनत्वको भावमा वृद्धि गर्द्छ।

मैले रुवान्डामा केही श्रम खर्चने मौका पाएँ र नेपालमा पनि गर्ने वातावरण खोज्दछु। कुनै दिन हर्क साम्पाङसँगै सर्दु–खर्दु जान चाहन्छु। निसाने, कोकाहा धाउन चाहन्छु। श्रमसंस्कृति पार्कमा गोडमेल गर्न चाहन्छु।

म चाहन्छु अन्य ठाउँमा पनि अरु हर्क साम्पाङ निस्किउन्। अझ धेरै श्रमदाता निस्किउन्। श्रमबारलाई सबै नेपालीले देश र जनताका हितमा अपनाउने कि? श्रम खर्चने कि?

हाम्रामा रुवान्डाका राष्ट्रपति पल कागामे नहोलान्, हर्क साम्पाङ छन्, बालेन शाह, गोपाल हमाल छन्। यी नाम अपवाद पक्कै होइनन् – प्रतिनिधि पात्र हुन्। यस्तै अन्य नेतृत्वदायी पद ओगटेका व्यक्ति शासक नबनून्, असल प्रशासक बनून्।

नेता बनून् नबनून् तर असल नेतृत्व देऊन्। आफ्ना बनून्। नेता जति मौरीको घारमा भएका रानी मौरी बनून्, अनि बाँकी हामी कर्मी मौरी बनौं न।

(झापा बिर्तामोडका स्थायी बासिन्दा लेखक हाल जोर्डनको अम्मानमा एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?