+
+
युवा, ऊर्जा र उद्यम :

‘अगेनो चुलो’ : अभियानको ऊर्जा र सपनाको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते ६:५६

२१ असार, काठमाडौं । यो कथाका दुई हाँगा छन् । एउटा, युवा ऊर्जा र सपनासँग जोडिन्छ । अर्को घर-घरमा रुपान्तरित चुलोसँग ।

कथा सुरु गरौं, युवा सपनाबाट ।

उनी हुन्, अभियान बुढाथोकी । पुर्ख्यौली घर दाङ । तर, उनी काठमाडौंको ललितपुरमै जन्मे-हुर्के । यहीँ पढे । सेन्ट जेभियर्सबाट एसएलसी दिए । पाटन बहुमुखी क्याम्पसबाट बीबीए (ब्याचलर्स अफ विजनेस एड्मिनिस्ट्रेशन) सकाए । बाबु-बाजेको बिँडो थाम्नुपर्ने हुँदो हो त उनी जागिर खोज्नतर्फ दौडन्थे । तर, उनी आफ्नो पुर्ख्यौली विरासतलाई भरथेग गर्न लागेनन् । बरु, बाबु-बाजेले कहिल्यै नगरेको उद्यममा लागे ।

उद्यम पनि कस्तो भने आफ्नो पढाई , बुझाइ, भोगाइभन्दा अलग । अर्थात विद्युतीय चुलोको । यतिबेला उनको उमेर पाकेकै थिएन । मात्र २२ वर्ष टेकेका थिए । यो कोरोनाकालको कुरा हो ।

आफ्ना छिमलका साथीहरुजस्तै ‘स्टुडेन्ट भिसा’ च्यापेर उनी पनि युरोप-अमेरिका जाने लस्करमा मिसिने थिए होलान् । सुरक्षित भविष्य रोज्दै लोक सेवा आयोग पास गर्न मोटा-मोटा किताब घोक्नतर्फ लाग्थे होलान् । तर, यतातिर उनी मोडिएनन् । किनभने उनी केही अलग काम गर्ने मनसायमा थिए । यस्तो काम, जो कठोर चुनौती र अनन्त अवसरले भरिपूर्ण होस् ।

र, यो सपनाको आयतन अनन्त थियो ।

आफ्नै बलबुतोले खडा गरेको उद्यम, जहाँबाट उत्पादित सामग्री नेपालीको घर-घरमा पुगोस् । ‘मेड इन नेपाल’ लेखिएका यी सामग्रीले हरेकको भान्सालाई किफायती र छरितो बनाइदियोस् । स्वदेशी सीप, स्वदेशी श्रम र स्वदेशी ऊर्जाको भरपुर सदुपयोग होस् ।

तर, वास्तविकता उनको कल्पनाभन्दा कठोर थियो । नयाँ उद्यमका लागि कम्पनी दर्ता गर्ने प्रक्रियादेखि नै अनेक झन्झट व्यहोर्नुपर्ने । ‘आफैंले सक्ने काम गर्न पनि अरुलाई पैसा दिएर गुहार्नुपर्ने’ अभियानले सुनाए, ‘केही गर्छु भन्नेलाई प्रोत्साहन भन्दा पनि बढी झुलाउने प्रवृत्ति रहेछ ।’

कागजी रुपमा कम्पनी खडा गरेपछि चाहियो पैसा । भर्खरका युवालाई पैसा दिन कसले पत्याउने ? घर-परिवारबाट पाएको सहयोग मात्र काफी थिएन । केही साथीभाइसहित गुहारेर ३० लाख रुपैयाँ जुटाए । अनि थप पैसाका लागि बैंकको ढोका चहारे ।

पैसाको बन्दोबस्तीपछि उनी निर्धक्क थिए, आफ्नो उद्यमलाई भनेजसरी फैलाउन सकिनेछ । सोही अनुसार उनले विभिन्न देशबाट आवश्यक कच्चा पदार्थ ल्याउने काम सुरु गरे, जसले स्वदेशमै विद्युतीय चुलो निर्माण गर्न सकियोस् ।

अभियानले बनाएको इन्डक्सन र इन्फ्रारेड चुलो ।

खासगरी इन्डक्सन र इन्फ्रारेड चुलो उत्पादन गर्ने ध्येयले उनी रातदिन खटिएका थिए । जबकि यतिबेलासम्म चीन र भारतका बजारबाट यस्ता चुलोले बजारमा आफ्नो बर्चश्व बनाउँदै लगेको थियो । घरेलु चुलोले त्यसलाई कसरी उछिन्ने ? चुनौती मामुली थिएन ।

उनले आफ्नो उत्पादनलाई जतिसक्दो भरपर्दो, टिकाउ, स्तरीय, सुरक्षित र छरितो बनाउने यत्न गरे । अनि तयार भयो, अगेनो ।

नेपाली मौलिकता र मिठाससँग जोडिएको ‘अगेनो’लाई नै उनले यसको ब्रान्ड नाम दिए । अनि आफूले उत्पादन गरेका चुला बजारमा पठाए । यसअघि उनले न व्यापार गरेका थिए, न परिवारले । सोझो हिसाबले व्यापारको अंकगणित मिलाउन कति गाह्रो ?

सबैतिर चुलो पुर्याउनुपर्ने । बिक्री भए/नभएको हिसाब राख्नुपर्ने । पैसा उठाउनुपर्ने । ‘पैसा उठाउन एकदमै गाह्रो रहेछ’ उनले अनुभव सुनाए, ‘डिलरबाट पैसा उठाउँदा झगडा गर्न आउने । झगडा नै गरौं भने भोलिका दिनमा उनीहरुले नै हाम्रो चुलो बेच्ने हो । झगडा नगरी बसौं भने लगानी नै फ्रिज हुने ।’ यसरी पैसा उठाउने क्रममा आफ्नो बुवामाथि हातपात नै भएको तीतो अनुभव पनि छ उनीसँग ।

यस्ता बाधा अड्चनसँग जुध्ने धैर्यता नराखेको भए सायद उनले ‘अगेनो’ सुरु नै गर्दैनथिए । आफ्नो उद्यमको लामो मार्गचित्र कोरेर अगाडि बढेका उनलाई यस्तो झन्झट सहनुमा कुनै गुनासो पनि थिएन । तर, जब सरकारले विदेशबाट आयात गर्ने कच्चा पदार्थको भन्सार कर ह्वात्तै बढाइदियो, स्वदेशमै चुलो उत्पादन खर्चिलो भइदियो । यति खर्चिलो कि, त्यसको तुलनामा बजारमा उपलब्ध अरु विद्युतीय चुलो धेरै सस्तो पर्ने भयो ।

त्यसपछि अभियानले कच्चा पदार्थ नेपालमा ल्याएर ‘मेड इन नेपाल’ भनी चुलो उत्पादन गर्ने लेठो छाडे । यसरी उनको एउटा सपनाको अवसान भयो ।

तर, उनलाई आफ्नो व्यावसायिक यात्रा यहीँ बिट मार्नु थिएन । किनकी उनी सुदूर गन्तव्यका लागि यो दौडमा निस्किएका थिए । त्यसैले नेपालमै चुलो बनाउन संभव नभएपछि उनले चीनमा चुलो उत्पादन गरेर स्वदेशी बजारमा ल्याउने मेलोमेसो मिलाए । यसो गरेपछि प्रतिस्पर्धात्मक बजारमा आफ्नो चुलो बेच्न सकिने भयो ।

अभियान बुढाथोकी ।

यतिबेला अभियानले विभिन्न डिजाइन र सुविधाको इन्डक्सन र इन्फ्रारेड चुलो नेपाली बजारमा ल्याएका छन् । यसको मूल्य ४ हजार रुपैयाँबाट सुरु हुन्छ । इन्फ्रारेड र इन्डक्सनको सुविधायुक्त एउटै चुलो पनि उनले उत्पादन गरेका छन् ।

अगेनो ब्रान्डमा चारवटा डिजाइनको चुलो उपलब्ध छ, एकमुखे र दुई मुखे इन्फ्रारेड, डबल इन्फ्रारेड र इन्डक्सन, अल्ट्रास्लिम कुकस्टोभ ।

अभियानको दाबी छ, ‘हामीले कत्तिपनि सम्झौता नगरी यसलाई सुरक्षित र स्तरीय बनाएका छौं ।’

अब कुरा जोडौं, चुलोको ।

विद्युतीय चुलो बनाउने योजना बनाउनुको पछाडि अभियानको बुवाको प्रेरणादायी भूमिका रह्यो । उनका बुवा नविकरणीय ऊर्जाका क्षेत्रमा काम गरिरहेका थिए । बुवाबाट नै अभियानले देश दुनियाँका अनेक कुरा थाहा पाए ।

उनले थाहा पाए, हाम्रो परम्परागत भान्सामा अझै पनि दाउरा खपत हुन्छ । खासगरी ग्रामीण भेगमा दाउराको चुलो बल्छ ।

खर्च, प्रदूषण र कष्टका हिसाब लगाउने हो भने दाउराको चुलो त्यती उपयुक्त नहुने उनको बुझाइ छ । यसले एकातिर वनबिनास गर्छ भने अर्कोतिर भान्सामा धूँवा फैलाउँछ । गृहिणीका लागि यो सहज विकल्प होइन ।

शहरी क्षेत्रमा भने ग्याँस चुलो व्यापक छ । दाउराको तुलनामा सहज र छिटो भएपनि ग्याँस नेपालमा उत्पादन हुँदैन । ग्याँसका लागि हामीले अर्को मुलुकबाटै निर्भर हुनुपर्छ । यस्तो परनिर्भताले एकातिर स्वदेशी व्ययभार बढाएको छ भने अर्कोतिर जोखिम पनि । ग्याँस सिलिन्डर विस्फोट हुने जोखिम सर्वत्र छ । यस्तो पृष्ठभूमिमा इन्डक्सन र इन्फ्रारेड चुलो बढी सुरक्षित र छरितो लाग्नसक्छ । त्यती मात्र होइन, यो विद्युतीय भएकाले हाम्रो भान्सामा स्वदेशकै ऊर्जा खपत हुन्छ ।

अभियान भन्छन्, ‘अब हाम्रो भान्सा विद्युतमैत्री हुनुपर्छ । यसले तीन वटा कुरामा प्रत्यक्ष परिवर्तन ल्याउँछ । एक त भान्साको प्रदूषण शून्य हुन्छ । दुई, हामीले भान्सामा परनिर्भर हुनुपर्दैन । तीन, हाम्रो भान्सा सुरक्षित र छरितो हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?