+
+

३ जुलाई २०२३, पृथ्वीको इतिहासकै गर्मी दिन

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते १४:३७

काठमाडौं । गत सोमबार अर्थात् सन् २०२३ जुलाई ३ तारेखको दिन पृथ्वीको तापमानले नयाँ कीर्तिमान कायम गरेको छ । त्यससँगै जुलाई ३ तारेख पृथ्वीको ज्ञात इतिहासमा अहिलेसम्मकै गर्मी दिन बनेको छ ।

सोमबार पृथ्वीको औषत तापमान १७.०१ डिग्री सेल्सियस दर्ज भएको थियो जुन अहिलेसम्मकै उच्च औषत तापक्रम रहेको वैज्ञानिकहरुले बताएका छन् ।

यसअघि सर्वाधिक गर्मीको रेकर्ड सन् २०१६ मा मापन भएको थियो । त्यसबेला विश्वको औषत तापक्रम १६.९२ डिग्री सेल्सियस पुगेको थियो । ७ वर्षअघिको सो तापमानको रेकर्ड अहिले ब्रेक मात्र भएको छैन पृथ्वीको तापमान अहिलेसम्मकै उच्चतम विन्दुमा पुगेको छ ।

आम रुपमा पृथ्वीको औषत तापमान १२ देखि करीब १७ डिग्रीको बीचमा रहने गर्दछ । जसले अहिले १७ डिग्री सेल्सियसको विन्दु पार गरेको हो ।

यो पटक गर्मीको तह कीर्तिमानी विन्दुमा पुग्नुको मुख्य कारण चाहिँ हिटवेब्स अर्थात् उच्च तापक्रम सहितको तातो हावाको लहर चल्नु हो । दक्षिण अमेरिका यतिबेला भयानक हिट डोमसँग जुधिरहेको छ । जसमा उच्च आद्रतासँगै उच्च तापमान रहेको हुन्छ ।

त्यस्तै चीन पनि लगातार हिटवेभबाट प्रभावित भैरहेको छ । चीनको औषत तापक्रम नै ३५ डिग्री सेल्सियस पुगेको छ । त्यस्तै उत्तरी अफ्रिकामा गर्मीको पारो बढेर ५० डिग्री सेल्सियससम्म पुगेको छ ।

दक्षिणी ध्रुुवको अन्टार्कटिकामा यो बखत चिसो मौसम हो । तर चिसो मौसमको यो समयमा पनि अन्टार्कटिकामा अधिकतम तापक्रमले कीर्तिमान कायम गरेको छ । अन्टार्कटिकाको अर्जेन्टाइन टापुस्थित युक्रेनको वर्नाडस्की रिसर्च बेसमा मापन गरिएको उच्चतम तापमान ८.७ डिग्री सेल्सियस छ । यो ज्यादै नै उच्च तापमान हो ।

बेलायतको लण्डनस्थित ब्रिटेन इम्पेरियल कलेजको ग्रान्थम इन्स्टिच्यूट फर क्लाइमेट चेन्ज एण्ड इनभारोनमेन्टका वैज्ञानिक फ्रेडरिक ओट्टोका अनुसार मानिसले प्रकृतिमाथि खेलवाड गरिरहेका कारण तापमान लगातार बढिरहेको बताउँछन् । उनका अनुसार तापमानको यो कीर्तिमानी बढोत्तरी आम मानिस र समस्त पारिस्थितिक प्रणालीका लागि मृत्युदण्डको सजायँ भन्दा कम होइन । यो जलवायु परिवर्तनको नतिजा भएको उनी बताउँछन् ।

यसका साथै यो पटक अल निनो नामक सामुद्रिक गतिविधिको असरका कारण पनि तापक्रम वृद्धिमा सहयोग पुगेको छ । यद्यपि मानवीय कारणले भैरहेको हरितगृह ग्यास उत्सर्जन नै तापमान वृद्धिको मुख्य कारकतत्व हो । त्यसैले मानिस नै यसको लागि जिम्मेवार रहेको उनी बताउँछन् ।

बर्कले अर्थका वैज्ञानिक जेके हसफादरका अनुसार कार्बन उत्सर्जन जति धेरै हुन्छ तापक्रम उति नै धेरै बढ्नेछ । उत्सर्जन, हरितगृह ग्यास र अल निनोले मिलेर विश्व तापमान बढाइरहेका उनी बताउँछन् ।

 

पृथ्वीको तापमान हरेक वर्ष जुलाईको अन्त्य तथा अगष्टको सुरुवातमा सबैभन्दा धेरै हुन्छ । तर यो पटक त जुलाईको सुरुवातमै तापक्रम सर्वाधिक उच्च विन्दुमा पुगेको छ । त्यसैले अगष्ट सम्ममा यसले अर्को कीर्तिमान कायम गर्ने अनुमान गरिएको छ ।

स्मरण रहोस् मानिसले हरेक वर्ष वायुमण्डलमा ४ हजार करोड टन कार्बनडाइअक्साइड उत्सर्जन गर्दछ जुन जिवाश्म इन्धको दहनबाट उत्सर्जित हो । यसका कारण हरितगृह प्रभाव हुँदा वायुमण्डल तात्तिँदै गएको छ । यसमाथि यो पटक प्रशान्त महासागरमा अल निनो प्रक्रिया चल्दा तापमान झनै बढेको छ ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?