+
+

पहिरो खस्दा लत्रिएको बिजुलीको तारबाट बसमा लागेको थियो करेन्ट

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० असार २१ गते २०:४३

२१ असार दाङ । दाङबाट रोल्पा जादै गरेको बसमा बिहीबार विहान करेन्ट प्रवाह हुँदा ३ जनाको मृत्यु भयो । रा १ ख ८३४ नम्बर बस राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोलामा पुग्दा बसमा एक्कासी करेन्ट प्रवाह भएको थियो ।

करेन्ट लागेर रोल्पाको गंगादेब गाउँपालिका–४ का ७० वर्षीय बाबु बलराम डाँगी र उनका छोरा ४० वर्षका टोपलाल डाँगीले घटनास्थलमै ज्यान गुमाए । करेन्ट लागेर गम्भीर घाइते भएका बस धनी ३५ वर्षका महेन्द्र वलीको उपचारका क्रममा दाङको राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भयो ।

दुर्घटना क्षेत्र सल्यानको कपुरकोट बजारदेखि ४ किलोमिटर टाढा दाङ–सल्यानको सिमाना क्षेत्र नजिकै पर्छ । कपुरकोपट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनका अनुसार कपुरकोट क्षेत्रमा केही दिनयता लगातार पानी परिरहेको छ । पहाडी क्षेत्र भएकाले बर्खाको समयमा सडकमा पहिरो खसिरहन्छ ।

उनका अनुसार बुधबार रातिदेखि परेको पानीले बिहीबार बिहान ८ बजे कपुरकोट–३ चोरखोला क्षेत्रमा पहिरो खसेको थियो । पहिरोका कारण विजुलीको पोललाई आड दिन राखिएको तार सडकमै लत्रिएको थियो । सडकमा त्यसरी तार लत्रिँदा पनि कसैले ख्याल नगरेका कारण मानवीय क्षति भएको अध्यक्ष पुन बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले पहिरोका कारण सडक एकदमै साँघुरो भएको बताए । उनका अनुसार बिहानैदेखि गाडीहरु भने आवतजावत गरिरहेका थिए । तर सडक छेउमा लत्रिएको तारलाई अरु गाडीले छोएनन् ।

बिहान करिब १० बजे दाङदेखि रोल्पा जादै गरेको रा १ ख ८३४ नम्बरको बसले भने उक्त तारलाई छुन पुग्यो । ‘घटनाको प्रारम्भिक अनुसन्धानले भुइमा खसेको तारलाई गाडीले छुन पुग्दा करेन्ट प्रवाह भएको देखिन्छ’, प्रहरी निरीक्षक श्रेष्ठले भने ।

उनले बसको ढोका छेउमा बढी करेन्ट प्रवाह भएका कारण ढोका नजिकै रहेका गाडीधनी वली, रोल्पाका ७० वर्षीय बलराम डाँगी र टोपलाल डाँगीलाई करेन्ट लागेको बताए । गाडीमा सवार अन्य यात्रुहरुले भने सामान्य झट्का महसुस गरेका थिए । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार विद्युत पोलमा ३०० केभीए क्षमताको विद्युत प्रवाह भएको थियो ।

बाबुलाई बचाउन जाँदा छोराको पनि मृत्यु

घटना भएलगत्तै घटनास्थल पुगेका कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनका अनुसार ७० वर्षका वृद्ध बलरामलाई बचाउन खोज्दा उनको छोरा टोपलाललाई करेन्ट लागेको हो ।

‘बसमा करेन्ट प्रवाह हुँदा अगाडि भागमा आगो लागेछ, त्यही क्रममा आत्तिएर भाग्न खोज्दा बुबालाई करेन्ट लाग्न पुगेछ’ उनले भने, ‘बुबालाई बचाउँन जाँदा छोरालाई पनि करेन्ट लागेछ ।’ अध्यक्ष पुनका अनुसार बलरामको शव बसभित्र र छोरा टोपलालको शव सडकमा भेटिएको थियो ।

गाउँपालिका अध्यक्ष पुनले पहिरो बिहानमात्र गएकाले तार भुइँमा खसेकोबारे समयमै जानकारी हुन नसकेको बताए । दुर्घटनापछि मात्र आफूहरुलाई यसबारेमा थाहा भएको उनको भनाइ छ । ‘आगामी दिनमा यस्तो घटना नहोस् भनेर सम्बन्धित निकायलाई सचेत पनि गराएका छौं’ पुनले भने ।

घटनास्थल पुगेका पत्रकार वुद्धि पुनले प्राकृतिक प्रकोप नभई मानवीय कमजोरीका कारण दुर्घटना भएको बताए । ‘सयौं गाडी गुड्ने सडकमा धराप थाप्ने काम भयो’, उनले भने, ‘यो घटनाको जिम्मेवारी कसले लिने ?’

गाउँपालिका पुनका अनुसार दुर्घटनापछि विद्युतको तार व्यवस्थित गर्ने काम भइरहेको छ ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?