+
+

‘परिबन्दले मानिस बेवारिसे लास हुनपुग्छ’

बेवारिसे लासलाई स–सम्मान व्यवस्थापन गर्न राज्यले रकम नै छुट्याउँदैन । पोस्टमार्टम गरेपछि बेर्ने कपडा चाहिन्छ, त्यो समेत उपलब्ध हुँदैन । कुनै व्यक्तिले मरेपछि पाउनुपर्ने सम्मान माथि राज्यले गरेको उपेक्षापूर्ण व्यवहार हो, यो ।

प्रा.डा. हरिहर वस्ती प्रा.डा. हरिहर वस्ती
२०८० असार २२ गते १७:०२

मानिस बेवारिसे हुँदैन तर, परिबन्दले बेवारिसे बन्न जान्छ । घरबाट निस्केर हिंड्दा, आफन्तले वास्ता नगर्दा, एक ठाउँबाट टाढा अर्को ठाउँमा जाँदा त्यस क्रममा मानिसको मृत्यु हुनसक्छ । त्यसैगरी, ठूलो दुर्घटना वा विपत्तिको बेलामा पनि मानिस बेवारिसे हुन जान्छन् ।

यस्तै बाढीपहिरोका कारण कतिपय लासलाई अर्को जिल्ला तथा भारतसम्म टाढा पुर्याएको हुन्छ । त्यस्ता मानिसको पहिचान नहुन पनि सक्छ । मानिस सामाजिक, आर्थिक तथा बसाइँसराइ लगायत कारणले बेवारिसे हुन्छन् ।

यस्तैगरी, अस्पतालमा उपचार क्रममा आफन्तले छोडेर हिंड्दा पनि बेवारिसे हुन पुग्छन् । कान्ति बाल अस्पतालमा भर्खरै जन्मिएको बच्चा उपचार गर्न आमा–बुबाले लैजान्छन् । तर, मृत्यु भएमा छोडेर भागेका धेरै उदाहरण छन् । त्यस्ता बच्चा बेवारिसे हुन पुग्छन् ।

तीन दशकभन्दा बढी पोस्टमार्टम गर्दाको मेरो अनुभवमा जहिल्यै पनि बेवारिसे लासको व्यवस्थापनमा ठूलो समस्या भोग्नुपरेको छ । २०४८ सालतिर वीर अस्पतालमा काम गरिरहँदा लास राख्ने फ्रिज पनि थिएन । एक कोठामा लासमाथि लास नै राख्नुपर्ने हुन्थ्यो । अघिल्लो दिनमा राखेको लास रातभर मुसाले आँखा, कान तथा शरीरका विभिन्न अंग खाइसक्थ्यो ।

अनि केही दिनमा लास दुर्गन्धित भएर अस्पताल परिसरमै जान नसक्ने अवस्था हुन्थ्यो । हामीले अब काम नै गर्न नसक्ने भयौं भनेर प्रहरीलाई भनेपछि उनीहरूले कानुनी प्रावधान पूरा गरेर पशुपतिमा लगेर जलाउने गर्दथे ।

काम गर्दै जाँदा २०५१ सालमा लास राख्न वीरमा फ्रिज आयो । चार वटा लास अट्ने फ्रिज थियो । तर, हप्ता वा पन्ध्र दिनमा बेवारिसे लास आउने भएकाले त्यो संख्या फ्रिजमा अटाउँदैनथ्यो ।

२०५७ सालमा वीर अस्पतालमा भएको फरेन्सिक सेवा टिचिङमा सारियो । त्यसबेला जापान सरकारले पोस्टमार्टम गर्ने हल बनाइदिएको थियो । बाहिर ८–१० वटासम्म लास राख्ने फ्रिज दिएको थियो । दुई–चार वर्ष काम चल्दै गयो । त्यसपछि ती फ्रिज पनि बिग्रँदै गए । त्यसबेला धेरै लोडसेलिङ हुन्थ्यो । फ्रिज नचलेपछि त्यहीभित्र लास कुहिने गर्थे ।

२०७२ सालमा महाभूकम्प गयो । त्यसबेला हजारौं लास आइपुगे । शवलाई व्यवस्थित गर्न नसक्दा कुहिएर पानी बग्ने गथ्र्यो । भूकम्पमा परेर मृत्यु भएका कतिपय मृतकका आफन्त शव बुझ्नै आएनन् । त्यसबेला सरकारले पनि फ्रिज मर्मतमा कुनै चासो दिएन ।

यस्तो बिजोग देखेर अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) ले नयाँ कोल्डरुम तीन महिना भित्रमा बनाइदियो । त्यस कोल्डरुममा अहिले १०० वटा लास सहजसँग राख्न सकिन्छ ।

महिनौंसम्म बेवारिसे लास फ्रिजमा राख्नै हुँदैन । लासलाई पोस्टमार्टम पछि डकुमेन्ट तयार पार्ने, डीएनएको लागि नमूना निकाल्ने लगायत काम गर्नुपर्छ । किनकि, भोलिका दिनमा लास बिग्रन सक्छ । नमूना थोरै लिएर सुरक्षित हिसाबले फ्रिज वा ल्याबमा पठाउन सकिन्छ ।

उचाइ, तौल, लुगा, कपडा, खत, कोठी सबै लेखेर राख्ने वा फोटो लिएर राखेपछि हराएको मान्छे खोज्न आएमा डकुमेन्टको आधारमा वर्षौंपछि पनि सनाखत गर्न सकिन्छ ।

त्यसैले लास बेवारिसे भएमा लगेर जलाउनुहुँदैन । पहिचान तथा बेवारिसे शव व्यवस्थापन निर्देशिकाले पनि त्यस बारेमा स्पष्ट गरेको छ । त्यसका लागि हरेक पालिकाले गाड्नका लागि ठाउँ उपलब्ध गराउनुपर्छ । निर्देशिकाले यो कुरा भनेको छ ।

पहिचान तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका २०७८ आइसकेपछि बेवारिसे लासलाई जलाउन पाइँदैन । यदि यस्तो गरेको पाइएमा भोलि अदालतमा मुद्दा चल्छ । निर्देशिका भनेको कानुन हो । यदि बेवारिसे लास जलाइन्छ भने त्यो काम कानुन विपरित हो ।

त्यस्ता बेवारिसे लासको डकुमेन्ट बनाएर चिह्न दिएर गाड्नुपर्छ । बेवारिसे भन्दैमा फोहोर फाल्ने ठाउँमा फाल्न पाइँदैन । मान्छे हो, कुनै बेला त्यो मान्छे प्रगति गरेर बसेको थियो होला । परिबन्दले मानिस बेवारिसे लास हुनपुग्छ । त्यस्ता लासलाई सम्मानपूर्ण तरिकाले नै व्यवस्थापन गर्नु राज्यको दायित्व हो ।

बेवारिसे लासको व्यवस्थापन राम्रो नहुनुमा पैसाको अभाव हो । हरेक वर्ष पाँच सय हाराहारीमा बेवारिसे लास भेटिन्छन् भने त्यसलाई आवश्यक पर्ने कपडादेखि सुरक्षित राख्न चाहिने बडी ब्याग राज्यले उपलब्ध गराउनुपर्छ । तर, राज्य भने बेवारिसे लासलाई जनावरको स्तरमा राखेर व्यवहार गर्छ ।

लासलाई सफा ठाउँमा नकुहिने गरी राख्नुपर्छ । फोहोर भएको लासलाई धोइपखाली राख्नुपर्छ । सफा कपडाले बेरेर बडी ब्यागमा सुरक्षितसँग फ्रिजमा राख्नुपर्छ । तर, विडम्बना हामीकहाँ नाङ्गै लासलाई लासमाथि नै खप्टिएर राखिएको हुन्छ ।

बेवारिसे लासलाई सम्मानसाथ व्यवस्थापन गर्न राज्यले कुनै रकम छुट्याउँदैन । पोस्टमार्टम गरेपछि बेर्ने कपडा चाहिन्छ । राज्यले त्यो समेत उपलब्ध गराउँदैन । यो विषयमा सरकार पूरै उदासीन छ । राज्यले  बेवारिसे लास माथि गरेको अपमानजनक व्यवहार हो, यो ।

कानुन राम्रोसँग लागू हुने देशमा बेवारिसे लासलाई स–सम्मानपूर्वक अन्त्येष्टि गरिन्छ ।

किन गाड्नुपर्छ लास ?

२०७२ सालको महाभूकम्पमा ३३ वटा लास त्रिवि शिक्षण अस्पताल परिसरमा गाडिएका थिए । जसमध्ये दुई वटा इटालीका नागरिक रहेछन् । एक वर्षपछि ती इटाली नागरिकका आफन्त खोजी गर्दै आए । परीक्षण गर्दा डीएनए मिल्यो । त्यसपछि, गाडिएको ठाउँबाट निकालेर उनीहरूले अस्थिपञ्जर लिएर गए ।

हाम्रो निर्देशिकाले कम्तीमा पनि १२ वर्षसम्म बेवारिसे लास गाडेर राख्नुपर्ने प्रावधानको व्यवस्था गरेको छ । १२ वर्ष पुगिसकेपछि ठाउँ खाली गर्नुपरेमा निकालेर जलाउँदा कानुन लाग्दैन ।

मानव बस्तीबाट अलिपर (एकान्त ठाउँ) राज्यका कुनै निकायले ठाउँ छुट्याउनुपर्छ । तर, सरकारले यो पक्षलाई वास्ता नै गरेको छैन । मानिसको मृत्यु भइसकेपछि पनि सम्मान पाउने अधिकार राख्छ । आफन्तले खोजी गर्ने अधिकार राख्छन् भन्ने हेक्का नै छैन ।

मानिसको जीवन ठूलो संवेदनासँग जोडिएको हुन्छ । आफन्तलाई सधैंभर असर गर्ने चीज हो यो भनेर राज्यका सम्बन्धित निकायले यस्ता विषयलाई वास्ता मात्र गर्दा धेरै कुरा समाधान हुन्छन् । वास्ता गरेपछि मात्रै धेरै कुरामा समस्या देखिन्छ । समाधान नहुने कुनै समस्या नै हुँदैनन् ।

मृत्युपछि पनि लासको अधिकार हुन्छ । मलाई नजलाउनू, विद्यार्थीलाई पढ्न दिनू भनेर सत्यमोहन जोशीले भन्नुभएको थियो । उहाँले भने अनुसार नै मेडिकल विद्यार्थीलाई पढ्न दिइयो नि !

त्यसकारण लास परिवारको पहिलो सम्पत्ति हुन्छ । यदि परिवारले वास्ता नगरेमा राज्यको सम्पत्ति हो । यसका लागि नियम, कानुन बनाइदिएको हुन्छ । प्रचलनले कतिपय कुराहरू बाँधेको हुन्छ । जस्तैः मलामी जाने, किरिया बस्ने लगायत कुरा ।

बेवारिसे लासलाई कीरा–फट्याङग्रा, जीव–जनावर भन्दा पनि तल्लो स्तरको व्यवहार गर्ने अधिकार राज्यलाई हुँदैन । जुन हाम्रोमा भइरहेको छ ।

बेवारिसे लासको व्यवस्थापन राम्रो नहुनुमा पैसाको अभाव हो । हरेक वर्ष पाँच सय हाराहारीमा बेवारिसे लास भेटिन्छन् भने त्यसलाई आवश्यक पर्ने कपडादेखि सुरक्षित राख्न चाहिने बडी ब्याग राज्यले उपलब्ध गराउनुपर्छ ।

तर, राज्य भने बेवारिसे लासलाई जनावरको स्तरमा राखेर व्यवहार गर्छ । एक चिकित्सक वा स्वास्थ्यकर्मीले यी सबै कुराको व्यवस्थापन गर्न सक्दैन नि ! सरकारले पोस्टमार्टम गर्ने वा सफा गर्ने कर्मचारीको लागि उचित प्रोत्साहनको व्यवस्था समेत गरेको छैन ।

सरकारले बेवारिसे लासको आफन्त पत्ता लगाउने संयन्त्र बलियो बनाउनुपर्छ । यस्तो गर्दा मानवले अर्को मानवलाई गर्ने व्यवहार सम्मानजनक हुन्छ । लामो समयदेखि वास्ता नगरिएको बेवारिसे तथा पहिचान नभएका शवको व्यवस्थापनका लागि निर्देशिका बन्यो । तर, त्यसको कार्यान्वयन उचित किसिमले हुनसकेको छैन ।

जस्तो कि लास गाडेर राखियो भने पछि आफन्तले हड्डीको टुक्रा निकालेर त्यसलाई जलाएमा पनि संस्कार अनुसार दाहसंस्कार गर्न पाएँ भनेर चित्त बुझाउँछन् । मानसिक रूपमा तनावमुक्त हुन्छन् । किनकि कतिपय अवस्थामा लास खोज्न आफन्त वर्षौंपछि पनि आइरहेका हुन्छन् । त्यसबेलासम्म लास जलाइसकिएको हुन्छ । गाडेर राख्न सकेको अवस्थामा वर्षौंपछि पनि आफन्तलाई उनीहरूको हड्डी भए पनि दिन सकिन्छ ।

अहिले त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केही लास राख्ने क्षमता होला । तर, अन्य अस्पतालमा दुई–चार वटा लास राख्ने क्षमता समेत छैन । त्यसकारण केन्द्रीय, प्रादेशिक र जिल्ला अस्पतालमा पाँच–दश वटा लास राख्न फ्रिजको व्यवस्था गर्नुपर्छ ।

फ्रिजमा नराख्दा लास दुई दिनमा दुर्गन्धित हुन थाल्छ । काठमाडौं उपत्यका बाहिर बेवारिसे लास भेटिएको दुई दिनमै जलाउने चलन छ । कुनै पनि लासलाई ३५ दिनसम्म अनिवार्य रूपमा फ्रिजमा हालेर राख्नुपर्छ । ३५ दिनसम्म सरकारले आफ्ना सबै संयन्त्र लगाएर खोजी गर्नुपर्छ । यदि उक्त लास लिन आफन्त नआए गाडेर राख्नुपर्छ ।

सरकारले बेवारिसे लासको व्यवस्थापनको दायित्वलाई राम्रोसँग निर्वाह नगर्दा मानिस मृत्युपछि पाउनुपर्ने अधिकारबाट वञ्चित छन् । अहिलेको निर्देशिकालाई मात्रै पालना गर्ने हो भने हरेक बेवारिसे मानिसले मृत्युपछि पनि सम्मानपूर्वकको आफ्नो अधिकार पाउँछन् ।

(वरिष्ठ फरेन्सिक विशेषज्ञ डा. वस्तीसँग अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?