+
+

गुजरात उच्च अदालतले खारेज गरिदियो राहुल गान्धीको अपिल

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते १३:४९

२२ असार, काठमाडौं । भारतको गुजरात उच्च अदालतले भारतीय कांग्रेसका नेता राहुल गान्धीको अपिल खारेज गरिदिएको छ । समग्र मोदी थरको अपमान गरेको भन्दै दायर मुदामा गान्धीले गरेको अपिल उच्च अदालतले खारेज गरिदिएको हो ।

चुनावी ¥यालीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई इंगित गर्दै गान्धीले समग्र मोदी थरको अपमान गरेको भन्दै उनीविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो । तल्लो तहको अदालतले दोषी ठहर गर्दै दुई वर्षको जेल सजायँसमेत सुनाएको थियो ।

गत २३ मार्चमा अदालतले गरेको फैसलापछि गान्धीले सांसद पद समेत गुमाएका थिए । दुई वर्ष जेल सजायँ तोकिए पनि तल्लो अदालतले गान्धीलाई अपिलका लागि धरौटीमा रिहा गरेको थियो ।

उच्च अदालतले अपिल खारेज गरिदिएपछि गान्धी अब सर्वोच्च अदालत जाने तयारीमा छन् । सर्वोच्चबाट उनले सफाए नपाए आगामी वर्ष हुने आम चुनावमा सहभागी हुन पाउने छैनन् ।

के भनेका थिए राहुल गान्धीले ?

सन् २०१९ मा कर्नाटकको चुनावीसभालाई सम्बोधन गर्दै गान्धीले भनेका  थिए–‘किन सबै चोरहरूको थर मोदी छ ? निरभ मोदी, ललित मोदी, नरेन्द्र मोदी ।’

निरभ मोदी विवादित व्यापारी हुन् । उनी हिराको व्यापार गर्छन् । ललित मोदीलाई भारतीय क्रिकेट बोर्डले जिन्दगीभर क्रिकेटमा प्रतिबन्ध लगाएको छ । उनी आईपीएलका प्रमुख थिए ।

मोदी थरलाई जोडेर नकारात्मक टिप्पणी गरेको भन्दै पुर्नेस मोदीले गान्धीविरूद्ध मुद्दा दर्ता गरेका थिए । पुर्नेसले गान्धीको टिप्पणीले सम्पूर्ण मोदी समुदायको मानहानी भएको भन्दै मुद्दा दर्ता गरेका थिए ।

तर गान्धीले भने आफूले भ्रष्टाचार गर्नेहरूतर्फ मात्र इंगित गर्दै टिप्पणी गरेको र समग्र मोदी जातको अपमान गर्ने ध्येय आफ्नो नरहेको दाबी गरेका थिए ।

भारतीय कांग्रेसले सत्तारुढ भारतीय जनता पार्टीले आफूमाथि प्रतिशोध साँधेको आरोप लगाउँदै आएको छ । भाजपाले भने आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियाको पालना गरेको जिकिर गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?