+
+

किन फेरिंदैछ ग्वार्को ओभरपासको डिजाइन ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते १६:५२

२२ असार, काठमाडौं । चीन सरकारको सहयोगमा विस्तारित चक्रपथस्थित ग्वार्को चोकमा बनिरहेको ‘ओभरपास’को इन्जिनियरिङ डिजाइनमा पुनरवलोकन (रिभ्यू) हुने भएको छ । यसअघि स्वीकृत भएको डिजाइनअनुसार काम गर्न ठूला मेसिनहरु नै उपलब्ध नभएको भन्दै ठेकेदार कम्पनीले डिजाइन पुनरवलोकनका लागि सडक विभागसँग अनुमति लिएको छ ।

केही हप्तामै ठेकेदार कम्पनीले डिजाइन ‘रिभ्यू’ गरेर सडक विभागमा बुझाउने र डिजाइन स्वीकृतिपछि नयाँ डिजाइनअनुसार काम थाल्ने योजना छ । यसका कारण ओभरपास निर्माणको काम प्रभावित भएको छ ।

विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर राकेश महर्जजनका अनुसार ओभरपासमा ४ वटा ‘पाइल’ रहने गरी डिजाइन गरिएको थियो । त्यो निकै गहिरो हुने गरी तय भएको थियो ।

डिजाइनअनुसार त्यति गहिरोसम्म पुगेर काम गर्न आवश्यक पर्ने ‘भाइब्रो हेमर्स’ मेसिन ठेकेदार कम्पनीले भारतबाट ल्याउन नसकिने बताएपछि डिजाइन फेर्नुपर्ने अवस्था आएको हो । अब ४ वटाको सट्टामा गहिरो नहुने गरी १२ वटा पाइल राख्न लागिएको जानकारी ठेकेदार कम्पनीले दिएको छ ।

‘एमएसी वालको जगको डिजाइन पनि रिभ्यु हुँदैछ,’ महर्जनले भने, ‘यसअघिको डिजाइनअनुसार काम गर्न व्यावहारिक समस्या परेपछि ठेकेदारले नयाँ डिजाइन पेश गर्दैछ ।’

आयोजनाको डिजाइनको काम ठेकेदार आफैंले गरेको थियो । आफूले गर्नै नसक्ने काम गर्ने गरी डिजाइन तयार गर्दा आयोजनाको निर्माण सकिने गरी तोकिएको अवधिभन्दा ८ महिनाअघि डिजाइन नै बदल्न लागिएको हो ।

ठेकेदारले गरेको नयाँ डिजाइनमा ओभरपासको ग्रेड, ब्रिज क्लेयरेन्ससहित ओभरपासको भारवहन क्षमता लगायतका पक्ष मजबुत रहने/नरहने पक्ष हेरेर विभागले डिजाइन पुनरवलोकनलाई स्वीकृत गरिने सिनियर डिभजनल इन्जिनियर महर्जनले बताए ।

अहिलेको डिजाइनअनुसार ग्वार्कोको ओभरपासमा विदेशमा जस्तो पिल्लर र त्यसमुनि सडक हुने छैनन् । चक्रपथको बीचका मुख्य चार लेन (फास्ट ट्रयाक)मा र्‍याम्प (भिरालो बाटो) बनाएर चोकमा पुल निर्माण गरी सवारी आवागमन व्यवस्थित गरिने छ ।

योजनाअनुसार सडक विभागले बीएन्डबी अस्पतालतर्फबाट मुख्य चारलेनमा चोकसम्म १८५ मिटरको लामो र्‍याम्प बनाउनेछ । त्यसैगरी बालकुमारीतर्फबाट ३२० मिटरको अर्को र्‍याम्प बन्ने छ । र्‍याम्प र पुल गरी ५४० मिटरको ओभरपास संरचना बन्नेछ ।

४ प्रतिशतको ग्रेडिङ भएको र्‍याम्प बनाउन विभागले ‘मेकानिकल्ली स्टेबलाइज्ड अर्थ रिटेनिङ वाल’ लगाउनेछ र त्यसभित्र माटो भर्नेछ । माटो भरेपछि त्यसमाथि चार लेनको सडक नै निर्माण गरिनेछ । र्‍याम्पको चौडाइ १६ मिटरको हुनेछ । जसमा विस्तारित चक्रपथको अन्य भागको जस्तै समानान्तर रूपमा ४ लेनकै सडक बनाइनेछ ।

मुख्य चोकमा ३५ मिटरको पुल (सम्म भाग) रहनेछ । जुन पुलको मुनिबाट रिंगरोड वारिपारि गर्ने सवारीहरु विनाअवरोध ‘क्रस’ गर्न सक्नेछन् । अर्थात् ओभरपासको पुल निर्माण भएपछि इमाडोल–पाटन गुड्ने सवारीसाधन फ्लाइओभरकै मुनिबाट वारपार गर्नेछन् ।

बीचका सडकमा र्‍याम्प बनाएर ओभरपास बनाए पनि सर्भिस लेनहरु अहिलेकै अवस्थामा रहने छन् । सडक विभागले २७ माघ, २०७८ मा ओभरपास बनाउन ठेक्का लगाएर डिजाइनको जिम्मा दिएको थियो । ४ महिनाभित्रै ओभरपासको डिजाइन गरेर थप २० महिनाभित्रै बनाइसक्ने गरी खरिद सम्झौता भएको थियो ।

इन्जियिरिङ प्रक्रयोर्मेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडल अनुसार ठेक्का लागेपछि इन्जिनियरिङ डिजाइनकै काममा ठेकेदार कम्पनीले १० महिना समय लगाएको थियो । निर्धारित समयअनुसार काम भएमा अबको फागुनभित्र ओभरपास बनिसक्नुपर्छ ।

यो परियोजना निर्माणको जिम्मा आशिष, रेलिगेयर, समानान्तर जेभीले लिएको छ । अनुमानित लागतभन्दा करिब ३८.८ प्रतिशत कम मूल्यमा यो कम्पनीले ठेक्का हात पारेको हो । १७ करोड ६ लाख रुपैयाँमा ठेक्का लागेको यो ओभरपास बनिसकेपछि ५ वर्षसम्म ठेकेदार कम्पनीले नै मर्मतसमभार गर्नुपर्ने खरिद सम्झौतामा उल्लेख छ ।

यो ओभरपास बनाउँदा सबैभन्दा ठूलो समस्या चक्रपथको ट्राफिक व्यवस्थापन पर्ने अनुमान छ ।

सडक विभागले सातदोबाटो र एकान्तकुनामा पनि ओभरपास बनाउन सम्भाव्यता अध्ययन गरिसकेको छ । सरकारले ग्वार्को, सातदोबाटो र एकान्तकुनामा ओभरपास बनाउन चालु आर्थिक वर्ष २०७९/८० मा २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । स्रोतको सुनिश्चितता भए सातदोबाटोमा पनि ओभरपास बनाउन ठेक्का लगाउने विभागको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?