+
+

पशुपतिनाथमा जलहरी : यसरी पुर्‍याइयो १०८ किलो सुन

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते २०:२३

२२ असार, काठमाडौं । शुक्रबार पशुपति क्षेत्र विकास कोषले जलहरी निर्माणमा प्रयोग भएको र जोख्न बाँकी रहेको भनी करिब ५३ तोला सुन मुचुल्का गर्‍यो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले जलहरी निकालेर नापजाँच गरेको करिब दुई सातापछि कोषले जलहरी बनाउँदा बाँकी रहेको सुन भनी करिब ६१७.९८ ग्राम सुन रहेको भन्दै मुचुल्का गरेको हो ।

१० असारमा अख्तियारले जलहरी जोख्दा १०७ किलो ४६८ ग्राम सुन प्रयोग भएको भेटिएको थियो । अख्तियारले सबै पक्षको सरजमिन बनाई मुचुल्का गरेको थियो ।

करिब आधा किलो सुन कम भएको बेला दुई सातापछि कोषका पदाधिकारी र कर्मचारीहरूले जलहरी बनाउँदा बाँकी रहेको धुलो र कणहरू भनी त्यसलाई गालेर करिब १०८ किलो पुर्‍याएका हुन् ।

शुक्रबार सुन जोखेको र मुचुल्का बनाएको बारे कोषका पदाधिकारीहरू प्रतिक्रिया दिन तयार छैनन् । कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले ‘समय आएपछि सबै जानकारी हुने भन्दै हतारो नगर्न’ सुझाव दिए ।

जलहरी बनाउँदा बाँकी रहेको सुन, टुक्राटाक्री र कणहरू नजोखिएको भन्दै कोषले सुनको हिसाबकिताब बराबर देखाएको हो ।

दुई वर्षअघि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ मन्दिर दर्शन गर्न पुगेका थिए । मन्दिर दर्शनपछि बाहिर आएर सुनको जलहरी राख्न ३० करोड रुपैयाँ दिने घोषणा गरेका थिए । लगत्तै सरकारले रकम निकासा गर्‍यो । चौतर्फी विरोधका बावजुद पशुपति क्षेत्र विकास कोषले चाँदीको साटो सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।

कोष सम्बद्ध स्रोतका अनुसार, जलहरी निर्माणका लागि करिब १०० किलो सुन लाग्ने इस्टिमेट भए पनि १०८ किलो चाहिने भनी निर्णय भएको थियो । १२ फागुन २०७७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिमा क्षमापूजा गर्दा १०८ किलोको जलहरी निर्माण गरी राखिएको भन्ने व्यानर नै तयार गरिएको थियो ।

पशुपति क्षेत्र विकास कोषले १०३ किलो ७७३ ग्राम सुन किनेको हिसाबकिताब छ । त्यतिबेलाको विनिमयदर अनुसार सुनको मूल्य ७ करोड ८६ लाख ४६ हजार रुपैयाँ थियो । त्यसमा २ किलो ८९० ग्राम तामा, १ किलो २४९ ग्राम चाँदी, १२ ग्राम जिंक समेत गरी १०७ किलो ९२४ ग्राम सुन कायम गरियो ।

तर जलहरी बनाएर तयार पारिएको मुचुल्कामा ९६ किलो ८२२ ग्राम सुन खपत भएको उल्लेख छ । १०८ किलो सुन खरिद भएकोमा बाँकी सुनको हिसाब नमिलेको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको थियो । महालेखाका अनुसार, ८० करोड ११ लाख रुपैयाँमा १०३ किलो ७७३ ग्राम सुन किनेको कोषले बाँकी १० किलो ९७६ ग्राम सुन कहाँ राख्यो भन्ने खुल्दैनथ्यो ।

प्रश्न उठेपछि कोषका पदाधिकारीहरूले बाँकी रहेको सुनको पेटी बनाई पशुपतिनाथको मूर्तिमा राखिएको जवाफ दिए । यसबारे असन्तुष्ट कोषकै केही पदाधिकारीले अख्तियारमा उजुरी दिएका थिए । उजुरी परेको लामो समयसम्म पनि अख्तियार मौन थियो, पशुपति मन्दिरमा गएर स्थलगत अध्ययन गरेको थिएन ।

अनि जोखियो सुन

एकाएक १० जेठ २०८० मा प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि चलिरहेको बहसमा सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले केपी ओली प्रधानमन्त्री भएका बेला अनेक भ्रष्टाचार काण्ड भएको दाबी मात्र गरेनन्, ‘पशुपतिको जलहरी सुनको हो कि पित्तल’ भनी प्रश्न उठाएका थिए ।

दुई दिनपछि एमालेले दाहालको अभिव्यक्तिको विरोध गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्‍यो । प्रमुख दलहरूको सहमतिमा सांसद दाहालको अभिव्यक्तिलाई प्रतिनिधिसभाको रेकर्डबाट हटाइयो र सदन सुचारु भयो । त्यसको केही दिनमा अख्तियारले एकाएक पशुपतिनाथ मन्दिरबाट जलहरी निकालेर सुन जोख्यो ।

त्यतिबेला जलहरी र पेटी जोख्दा १०७ किलो ४६८ ग्राम तौल देखिएको थियो । कोषका पदाधिकारीहरूले किलाकाँटी, मर्मतका क्रममा धुलो र टुक्राहरू बाँकी रहेको प्रतिक्रिया दिएका थिए । कोषका कर्मचारीहरूले त्यही जोखेको भन्दै शुक्रबार ५३ तोला सुन मुचुल्का गरेका हुन् । अख्तियारका कर्मचारीहरूले ‘नबोल्नु’ भनेकाले कोषका पदाधिकारीहरूले यसबारे पनि केही बोलेका छैनन् ।

यसबारे अख्तियारले औपचारिक रूपमा केही बोलेको छैन र कुनै निर्णय पनि गरेको छैन ।

तर पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने काममा प्रश्न उठाएका वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल धार्मिकस्थलमा राज्यको ठाडो हस्तक्षेप हुनु र विवाद निम्तिनु दुःखद भएको बताउँछन् । ‘पशुपतिमा राज्यको हस्तक्षेप आवश्यक नै छैन, यो घटनाले भक्तालुहरूमा अविश्वास पैदा भएको छ’ उनले अनलाइनखबरसँग भनेका छन् ‘जसोतसो गरेर तौल पुर्‍याए पनि आम मानिसहरूले यसलाई सहज रूपमा लिएका छैनन् । त्यो नै विडम्बनापूर्ण हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?