
२३ असार, विराटनगर । मोरङको छुट्टाछुट्टै दुई ठाउँमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ, २ जना घाइते भएका छन् । शुक्रबार राति लेटाङ र कानेपोखरीमा भएको दुर्घटनामा एक बालिकासहित तीन जनाको मृत्यु भएको हो
लेटाङ–कानेपाखरी सडकखण्डअन्तर्गत लेटाङ नगरपालिका–३ मा अटो टेम्पोलाई जिपले ठक्कर दिँदा अटो चालक कानेपोखरी गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय सागर तामाङ र ८ वर्षीया बालिका रोशनी मगरको मृत्यु भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार लेटाङबाट कानेपोखरीतर्फ आउँदै गरेको प्रदेश १–०२–००३ ह १३१२ नम्बरको अटोलाई लेटाङतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ४१७३ नम्बरको बोलेरोले शुक्रबार करिब ८ बजे ठक्कर दिएको थियो ।
गम्भीर घाइते तामाङको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । बालिकाको गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको हो । बालिकाकी आमा ३५ वर्षीया टीका आलेमगरको गोल्डेनमै उपचार भइरहेको छ । प्रहरीले जिप र चालक लेटाङ गाउँपालिका–६ का अन्दाजी ४१ वर्षीय सन्तोष घिसिङलाई पक्राउ गरेको छ ।
शुक्रबार राति नै कानेपोखरी–७ आइतबारेमा मोटरसाइकल दुर्घटना हुँदा सिरहाको लाहान नगरपालिका घर भएका २५ वर्षीय सन्तोष भुजेलको मृत्यु भएको छ ।
दुर्घटनामा लाहानकै अन्दाजी ३० वर्षीय वीरेन्द्र मगर घाइते भएका छन् । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश २–०१–००३ प ४९३५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर राति ११ः३० बजेतिर दुर्घटनामा परेको थियो ।
प्रतिक्रिया 4