+
+

सिमेन्ट उद्योगले जथाभावी उत्खनन गर्दा बगर बने खेत

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० असार २६ गते १३:४९

२६ असार, दाङ । किसानलाई रोपाइँ गर्न भ्याई नभ्याई भइरहेको बेला दाङको बंगलाचुली गाउँपालिका-६ रिभानका खिमबहादुर महरा भने निराश छन् ।

खेती हुने ९ रोपनी जग्गा घर छेउँकै दाङबाङ खोलाले खाइदिएपछि उनले यस वर्ष धान खेती गर्न पाएनन् । कारण हो, सिमेन्ट उद्योगहरुले जथाभावी गरेको चुनढुंगा उत्खनन ।

गाउँको माथिल्लो भेगमा सिमेन्ट उद्योगहरुले १० वर्षदेखि चुनढुंगा उत्खनन गर्दै आएका छन् । घोराही सिमेन्ट उद्योग र सम्राट सिमेन्ट उद्योगले जथभावी ढुंगा निकालेर फालेपछि तल रहेको दाङबाङ खोलामा ढुंगाहरु थुप्रिदै गए । अन्ततः ढुंगाले खोला नै थुनियो र दिशा बदल्यो ।

प्राकृतिक बहाव थुनिएर दिशा बदलेको खोलाको बाढीले अन्ततः खिमबहादुरसहित गाउँका ६० बढी किसानको खेतीयोग्य जमिन ढुंगेबगर बनाइदियो । ‘सिमेन्ट उद्योगले माथिबाट जथाभावी ढुंगा खोलामा फाले,’ खिमबहादुर भन्छन्, ‘धान रोपेर हरियाली हुने खेत अहिले ढुङ्गैढुङ्गाले भरिएको छ ।’ वर्षभरि खान पुग्ने खेत यो वर्षदेखि बगर बनेपछि उनलाई चिन्ता थपिएको छ ।

खिमबहादुरको जस्तै पीडा छ, रिभानकै हिमलाल वलीको । सिमेन्ट उद्योगले फालेको ढुंगाका कारण उनको पनि १४ रोपनी खेतीयोग्य जग्गा मासिएको छ ।

खोलाले बगाएर ल्याएको ढुङ्गा, गिट्टी र बालुवाले पुरिएपछि खिमबहादुरले पनि यो वर्ष धान रोप्न पाएनन् । ‘अहिले खेतीको समय छ, तर खेत पुरिएको छ,’ उनले भने ।

उनले वर्षामा धानसँगै हिउँदमा गहुँ र मसुरो पनि खेती गर्दै आएका थिए । तर सिमेन्ट उद्योगका कारण खेती हुने जमिन सबै मासिएको उनी सुनाउँछन् । ‘जमिन जति सिमेन्ट उद्योगले खाइदियो, खेती हुने जमिन बगरजस्तै बन्यो’ उनले भने, ‘खेतजति खोलाले खाइदिएपछि परिवार कसरी पाल्ने ?’

त्यहाँका अधिकांश स्थानीयको खेत अहिले बगर बनेको उनी सुनाउँछन् । तर उद्योगले आफूहरुको कुरा नसुन्ने र तालुकदार निकायले पनि उद्योग सञ्चालकलाई केही भन्न नसक्ने स्थानीयको गुनासो छ ।

सिमेन्ट खानीको लापरबाहीका कारण खोलाले खेतीयोग्य जमिनमा ढुङ्गा थुपि्रएको भन्दै स्थानीयले गाउँपालिकाको न्यायिक समितिमा निवेदन पनि दिएका छन् । तर त्यसबारे कुनै सुनुवाइ भएको छैन । ‘हामीले कुरा उठाउँदा सिमेन्ट उद्योगले हाम्रा कुरा सुन्दैनन्’ खिमबहादुर भन्छन्, ‘हामीले कहाँ गएर न्याय पाउने ?’

वर्षौंदेखि खेती हुँदै आएको खेतमा गत वर्षको असोजमा बाढी पसेको थियो । अहिले रिभान गाउँका ६० घरका १५० रोपनीभन्दा बढी जग्गा बगर बनेको स्थानीय बताउँछन् ।

छलफलमा आएनन् उद्योगका प्रतिनिधि

बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी खोलाको बाटो थुनिएर आएको बाढी र पहिरोले रिभान गाउँका किसानका जमिन तहसनहस बनाएको बताउँछन् ।

यस विषयमा सिमेन्ट उद्योगहरूलाई जानकारी गराए पनि दुवै पक्षलाई राखेर समस्या समाधानका लागि पहल हुन नसकेको उनले बताए ।

‘खेतीयोग्य जमिन मासिएपछि स्थानीयले न्यायिक समितिमा निवेदन दिएका छन्,’ उपाध्यक्ष जिसीले भने, ‘हामीले पनि यो विषयमा उद्योगका प्रतिनिधिहरूलाई जानकारी गराएका छौँ तर उद्योग छलफलमा आएको छैन ।’

उपाध्यक्ष जिसीले तत्काल दुवै पक्षलाई एक ठाउँमा राखेर समस्या समाधानका लागि पहल गर्ने बताए ।

दाङका उत्तरी पहाडी क्षेत्रबाट सिमेन्ट उद्योगहरुले चुनढुंगा उत्खनन् गरिरहेका छन् ।

डिभिजन वन कार्यालयका अनुसार अहिले बंगाचुली गाउँपालिकाको तापासहित ४१.१७ हेक्टर क्षेत्रफलबाट चुनढुंगा उत्खनन् अनुमती सिमेन्ट उद्योगहरुले पाएका छन् ।

घोराही सिमेन्ट उद्योग प्रालिले बंगलाचुली गाउँपालिकास्थित तापा भन्ने स्थानमा ३२.२ हेक्टर क्षेत्रफलमा चुनढुंगा उत्खनन गरिरहेको छ ।

यसैगरी सम्राट सिमेन्ट उद्योगले बंगलाचुली-५ मा ४.५ हेक्टर क्षेत्रमा र शुभश्री अग्नि सिमेन्टले ४.९७ हेक्टर क्षेत्रमा चुनढुंगा उत्खनन गर्दै आएका छन् ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?