+
+
पुरुष सौन्दर्य :

छाती र हातखुट्टाको रौं सफाचट गर्ने काइदा

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० असार २९ गते १३:३६

काठमाडौं । सौन्दर्य भन्नेबित्तिकै हामी महिलालाई सम्झन्छौं । महिलाहरू सुन्दर र आकर्षक देखिनका लागि विभिन्न सौन्दर्य प्रसाधन र उपचारको सहारा लिन्छन् । सुन्दर देखिनकै लागि विभिन्न कस्मेटिकको प्रयोग गर्ने, पार्लर धाउने पनि गर्छन् ।

महिलालाई मात्रै आफ्नो सौन्दर्यको चिन्ता हुन्छ भन्ने समाजको धारणा छ । तर बजारमा पुरुषका कस्मेटिक उत्पादन र खपत बढ्दै जाँदा पुरुषले पनि आफ्नो सौन्दर्यको विषयमा चासो राख्छन् भन्ने थाहा पाउन सकिन्छ ।

पुरुषहरू सौन्दर्यप्रति सचेत भए पनि महिला जस्तो खुलेर देखाउन भने नचाहने छाला तथा सौन्दर्यरोग विशेषज्ञ डा. विक्रान्त ढकाल बताउँछन् । अहिलेका युवायुवती अनुहारको सौन्दर्यसँगै सम्पूर्ण शरीरको सौन्दर्यमा ध्यान दिन्छन् । मोटो शरीरलाई चिटिक्क बनाउन जिम धाए जस्तै हातखुट्टालाई आकर्षक बनाउन अनावश्यक रौं हटाउने ‘लेजर हेयर रिमुभल’ गर्ने ट्रेन्ड रहेको उनले बताए ।

‘हातखुट्टा, अनुहारलगायत शरीरका धेरै भागमा रौं देखा पर्दा कहिलेकाहीं नराम्रो देखिन सक्छ । महिलाको तुलनामा पुरुषहरूको शरीरमा अनावश्यक रौं बढी हुन्छ,’ डा. ढकाल भन्छन्, ‘त्यसैले शरीरको अनावश्यक रौं हटाउन लेजर हेयर रिमुभल महिलासँगै पुरुषहरूमा पनि लोकप्रिय भएको छ ।’

के हो लेजर हेयर रिमुभल ?

यो प्रविधि अनुहार र शरीरका अन्य भागको अनावश्यक रौं हटाउन धेरै उपयोगी हुने ढकाल बताउँछन् । ‘अनावश्यक रौं हटाउन यो कस्मेटिक प्रक्रिया धेरै सरल र प्रभावकारी मानिन्छ,’ उनी भन्छन् ।

लेजर प्रविधिले कपाल हटाउन लेजर किरणहरू प्रयोग गरिन्छ । यो प्रक्रियाको क्रममा लेजर मेसिनबाट एक लेजर किरण उत्सर्जित हुन्छ, जुन कपालको पिग्मेन्ट (मेलानिन) द्वारा अवशोषित हुन्छ र रौंलाई नष्ट गर्छ । जब लेजर हेयर रिमुभलले कपालको फोलिकल्सलाई क्षति पुर्‍याउँछ र लामो समयसम्म नयाँ कपाल बढ्न नदिने डा. ढकाल बताउँछन् ।

पुरुषको रोजाइमा लेजर हेयर रिमुभल

पहिले पुरुषको छाती, हातखुट्टामा बाक्लो रौं देखिन्थ्यो । तर आजभोलि चिल्लो र आकर्षक देखिनुमा लेजर हेयर रिमुभलको भूमिका रहेको डा. ढकाल बताउँछन् ।

‘विशेषगरी फिल्म, मोडलिङ, खेलकुद क्षेत्रमा लागेका पुरुषहरू यसप्रति आकर्षक भएको पाइन्छ,’ उनी भन्छन् ।

लेजर हेयर रिमुभलको फाइदा

लेजर हेयर रिमुभल सरल र पीडारहित प्रक्रिया हो । बिना कुनै दुखाइ अनावश्यक रौं हटाउन यो प्रक्रिया उपयोगी भएको ढकाल बताउँछन् । ‘यो प्रक्रियाबाट राम्रो र आकर्षक शरीर पाउन सकिन्छ,’ उनी भन्छन्, ‘ लेजर हेयर रिमुभल प्रक्रियाबाट शरीरको रौं हटाउँदा अन्य प्रक्रियाहरूको तुलनामा कम समय लाग्छ । यो प्रक्रियामार्फत रौं हटाउँदा वरपरको छालामा कम क्षति हुन्छ ।’

साइड इफेक्ट

लेजर हेयर रिमुभलको खासै साइड इफेक्ट हुँदैन । तर यसबारेमा ज्ञान नभएको व्यक्तिबाट लेजर गरियो भने छाला जल्ने, दाग बस्ने जस्तो समस्या हुन सक्ने ढकाल बताउँछन् ।

‘केही दिन छाला रातो हुने समस्या हुन सक्छ । प्रत्येक व्यक्तिको छालाको प्रकार फरक-फरक हुन्छ र यसको साइड इफेक्ट पनि प्रत्येक व्यक्तिको लागि फरक हुन सक्छ, ’ उनी भन्छन् ।

कति पटक गर्नुपर्छ ?

६ देखि आठपटक लेजर हेयर रिमुभल गरेपछि शरीरको अनावश्यक रौं हटेर जान्छ । लामो समयसम्म राम्रो नतिजाको लागि ६/ ६ महिनामा फलोअप गर्नुपर्ने डा. ढकाल बताउँछन् ।

कति लाग्छ खर्च ?

सामान्यतया एउटा चरणको तीन हजारदेखि १५ हजार रुपैयाँसम्ममा लेजर हेयर रिमुभल गर्न सकिन्छ । शरीरको कुन भागको अनावश्यक रौं हटाउने हो त्यही अनुसार यसको खर्च घटबढ हुन्छ ।

‘एकैचोटि पूरा शरीरको अनावश्यक रौं हटाउन पनि सकिन्छ । पूरै शरीरको अनावश्यक रौं हटाउन एउटा चरणको ३० देखि ४० हजार रुपैयाँसम्म लाग्छ,’ ढकाल भन्छन् ।

पुरुषले गर्ने अन्य सौन्दर्य उपचार

लेजर हेयर रिमुभलसँगै  हाइड्रा फेसियल, बुटोक्स, कार्बन पिलिङ र फिलर्स लगायत सौन्दर्य उपचार पुरुषको रोजाइमा बढी पर्ने गरेको छ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?