+
+

हलिउडमा हड्ताल : विश्व फिल्म फेस्टिभल र प्रिमियर प्रभावित हुने

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते १४:१६

काठमाडौं । हलिउड कलाकार हड्तालमा उत्रिएपछि विश्वभरका ठूला फिल्म फेस्टिभल, प्रिमियर, अवार्ड कार्यक्रम प्रभावित हुने भएका छन् । स्टुडियो र स्ट्रिमिङ कम्पनीसँगको बहुप्रतीक्षित वार्ता गएको मध्यरातमा बिनानिष्कर्ष टुंगिएपछि ६३ वर्षपछि हलिउड इन्डष्ट्री ‘सटडाउन’ भएको हो ।

हलिउडका एक लाख ६० हजार जना कलाकार शुक्रबारदेखि अनिश्चितकालीन हड्तालमा उत्रिएका छन् । गत मे १ देखि हड्तालमा उत्रिएका लेखकसँग कलाकार पनि जोडिएका छन् । यो हड्ताललाई हलिउडको अभूतपूर्व संकटको रुपमा हेरिएको छ । गएराति लण्डनमा आयोजित ‘ओपेनहेइमर’को प्रिमियर समारोहबाटै कलाकार कार्यक्रम छाडेर हिंडेका थिए ।

भेराइटी म्यागजिनका अनुसार फिल्म र टेलिभिजनको कार्यक्रम निर्माण बन्द हुनेछन् । हड्तालका लागि तयार गरिएको निर्देशिकाअनुसार आन्दोलन कार्यक्रम अवधिभर कलाकारले प्रिमियरमा भाग लिन, प्रोजेक्टबारे अन्तर्वार्ता दिने, अवार्ड शोमा जान, फिल्म फेस्टिभलमा सहभागी हुन वा सामाजिक सञ्जालमा प्रोजेक्टबारे प्रचार समेत गर्न पाउनेछैनन् । उनीहरुलाई कमिक-कनसम्बन्धी समारोहमा समेत भाग लिन अनुमति छैन ।

‘हामी धेरै लोभी उद्यमीबाट पीडित छौं,’ अमेरिकी फिल्म तथा टेलिभिजन कलाकार संघका अध्यक्ष साग-आफ्ट्राका अध्यक्ष फ्रान डेचरले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘कुनै विन्दुमा तपाईंले भन्नुपर्छ– होइन हामीले यसलाई अब लिनेछैनौं ।’ पारिश्रमिक वृद्धि गर्नुपर्ने, बाँकी भुक्तानी दिनुपर्ने र कृत्रिम बौद्धिकता (एआई)को नियमन गर्नुपर्ने लगायतका माग राख्दै कलाकार हड्तालमा उत्रिएका हुन् ।

हड्तालको असर टोरन्टो, न्युयोर्क फिल्म फेस्टिभलजस्ता महोत्सवमा स्पष्ट देखिने भएको छ । ‘तपाईंले स्टार बिना कुनै पनि फिल्म प्रिमियर गर्न सक्नुहुन्न । नो स्टार्स, नो मुभी साग-आफ्ट्राका एक कार्यकारी अधिकृतले भने । सबैभन्दा पहिला अगस्ट ३० देखि सेप्टेम्बर ९ सम्म इटालीमा भेनिस फिल्म फेस्टिभल आयोजना हुँदैछ ।

यो फेस्टिभलमा माइकल मनको ‘फेरारी’, एडम ड्राइभरको फिल्म ‘पोर थिङ्स’मा कलाकारको उपस्थितिसहित प्रिमियर हुने कार्यक्रम तय छ । तर हड्तालको घोषणापछि फेस्टिभलको यो लाइनअप प्रभावित हुने निश्चितजस्तै छ । अगस्ट ३१ मा टेलुराइड फेस्टिभल हुँदैछ । टोरन्टो फिल्म फेस्टिभलमा टाइका वाटिटीको ‘नेक्स्ट गोल विन्स’को फिल्म प्रिमियर हुँदैछ । हड्तालको असर यसमा पनि देखिने पक्काजस्तै छ ।

तत्काललाई हलिउडको अवस्था अन्योलपूर्ण देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?