+
+

निक्षेपको ब्याजदरमा विविधता, अधिकांश बैंकले घटाए छोटो अवधिको निक्षेपको ब्याजदर

ब्याजदरमा स्थिरता हुने र पुनः भद्र सहमतितर्फ फर्कनु नपर्ने बैंकरहरूको अपेक्षा

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते २०:०१

३१ असार, काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदरमा भएको भद्र सहमति हटाएपछि बैंकहरूले स्वतन्त्र रूपमा तय गरेको निक्षेपको ब्याजदरमा विविधता देखिएको छ । यसअघि सबै बैंकहरूको ब्याजदरमा भद्र सहमतिको नाममा एउटै ब्याजदर प्रकाशित गर्दै आएका थिए । असारसम्म सबै वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा समान ९ दशमलव ९९ प्रतिशत ब्याज रहेकोमा भद्र सहमति तोडिएसँग केही बैंकले बढाएका छन् भने केही बैंकले घटाएका छन् ।

भद्र सहमति हटाएपछि निक्षेपको अवधि र प्रकृतिअनुसार बैंकहरूले ब्याजदर तय गरेको नेपाल बैंकर्स संघका अध्यष सुनिल केसीले बताए । ‘विगतमा तीन महिनादेखि १० वर्षसम्मको निक्षेपमा एउटा ब्याजदर थियो भने अब फरक फरक अवधिका लागि भिन्नभिन्न किसिमको ब्याजदर आएको छ,’ उनले भने ।

अहिले बैंकहरूले तय गरेको दरलाई हेर्दा आगामी दिनमा ब्याजदर घट्ने नै देखिएको उनले बताए । भोलिका दिनमा सामान्य परिस्थिति रहिरहँदा अब पुनः भद्र सहमतितिर जानु नपर्ने आफ्नो निष्कर्ष रहेको उनले बताए । ‘कुनै संकट नै आयो भने त फेरि पनि सहमतिको युग शुरु हुनसक्छ,’ उनले भने ।

एनएमबी, प्राइम कमर्सियल, एनआईसी एसिया र नबिल बैंकले ब्याजदर बढाएका छन् । यी बैंकले अवधिअनुसार मुद्दती निक्षेपको ब्याजदर फरक फरक कायम गरेका छन् । प्राइम कमर्सियल बैंकले सबै अवधिको मुद्दती निक्षेपमा १० दशमवव ९३ प्रतिशत ब्याज दिंदा एनएमबी बैंकले भने १० वर्ष माथिको मुद्दती निक्षेपमा १० दशमलव ९८ प्रतिशत ब्याजदर दिने भएको छ भने त्यो भन्दा कम अवधिको मुद्दती निक्षेपमा एकल अंकको ब्याजदर प्रस्ताव गरेको छ ।

नबिल बैंकले पनि २ वर्षभन्दा माथिको निक्षेपमा १० दशमलव ४९ प्रतिशत ब्याज दिने भएको छ।

त्यस्तै, सातवटा बैंकले यसअघि तय भएको ब्याजदरमा तलमाथि गरेका छैनन् । कुमारी, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, नेपाल एसबीआई, हिमालयन र सिटिजन्स बैंक इन्टरनेशनलले यसअघिको ९ दशमलव ९९ प्रतिशत ब्याजलाई नै निरन्तरता दिएका छन् । यिमध्ये कुमारी र लक्ष्मी–सनराइजबाहेक ग्लोबल आईएमई, नेपाल एसविआई हिमालयन बैंकले भने छोटो अवधिको मुद्धति निक्षेपको ब्याजदर घटाएका छन् ।

त्यस बाहेकका अन्य बैंकहरूले भने ब्याजदर कम गरेका छन् । सबैभन्दा धेरै ब्याज घटाउनेमा स्टायन्डर्ड चार्टर्ड बैंक छ, जसले ब्याजदर १० प्रतिशतले नै घटाएर ८ दशमलव ९५ प्रतिशत कायम गरेको छ ।

गत बिहीबार बसेको नेपाल बैंकर्स संघको बैठकले निक्षेपको ब्याजदरमा यसअघि लामो समयदेखि कायम भद्र सहमति खारेज गरेको थियो । त्यसपछि पहिलोपटक बैंकहरूले स्वतन्त्र रूपमा ब्याजदर तय गरेका हुन् । यद्यपि, नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले निक्षेपको अधिकतम् ब्याजदर बजार औसतको १० प्रतिशतसम्म घटाउने वा बढाउन सक्छन् । बैंकहरूले साउनको ब्याजदर तय गर्दा यही सीमाभित्र रहेर गरेका हुन् ।

संस्थागत मुद्दती निक्षेपमा भने व्यक्तिगतको तुलनामा निक्षेपको भन्दा २ प्रतिशत विन्दुले कम ब्याजदर तय गर्नुपर्ने प्रावधान छ । यस्तै बचतमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम् र बचतको न्युनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढीले अन्तर कायम गर्न नपाउने व्यवस्था छ । त्यस्तै, कल निक्षेपमा बचतको न्यूनतम् ब्याजदरको ५० प्रतिशतभन्दा बढी ब्याजदर कायम गर्न पाइँदैन । बचतको तत्लो सीमा र माथिल्लो सीमाबीचको अन्तर पनि २ प्रतिशत मात्रै कायम गर्न पाइने व्यवस्था छ ।

बैंकर्स संघले आपसी समझदारीका आधारमा ब्याजदर तय गर्न छोडेपछि बैंकहरूले आ–आफ्नो आवश्यकताअनुसार ब्याजदरमा थपघट गरेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पान्डेले बताए । ‘समझदारी कायमै रहेको भए सम्भवतः ब्याजदर घट्थ्यो होला, किनभने बजारको मनस्थिति नै त्यस्तै थियो । तर, अहिले बैंकहरूले आफ्नो पोजिसन र योजनाअनुरूप ब्याजदर तय गरेका छन्’ उनले भने ।

दीर्घकालीन रूपमा स्वतन्त्र रूपमा ब्याजदर तय गर्ने परम्परा कायमै होला कि भोलि फेरि पुरानै ‘भद्र सहमति’मा फर्कनुपर्ला भन्ने कुरा चाहिँ अहिल्यै भन्न नसकिने उनले बताए । ‘भोलिका दिनमा फेरि पनि ठूलो उतारचढाव भयो भने पुरानै परम्परामा पनि फर्कनुपर्ला । तर, राष्ट्रबैंकले वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदरको १० प्रतिशत मात्रै तलमाथि गर्न पाइने नियम ल्याइसकेकाले त्यसले एउटा स्थिरता भने प्रदान गर्ने अपेक्षा छ,’ उनले भने ।
समग्र बजारको तरलताको अवस्थाले पनि भोलिका दिनमा ब्याजदर कस्तो हुने कुरा निर्धारण हुने उनले बताए । ‘कुनै कुनै बैंकले नयाँ आर्थिक वर्षपछि कर्जा लगानी बढ्ने अपेक्षामा अलि बढी ब्याज दिएर निक्षेप संकलन गर्न चाहेका हुन् कि जस्तो पनि देखिन्छ, तर साउनमा सोचेअनुसार कर्जा गएन भने उहाँहरूले पनि फेरि घटाउनुहोला,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?