+
+

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकले प्रसुति गराउँदा लापरवाही गरेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १ गते २०:५१

१ साउन, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको लापरवाहीका कारण शिशुको ज्यान जोखिममा परेको भन्दै सोमबार परिवारका सदस्यले प्रशासन गुहारेका छन् ।

असार २८ गते प्रसुति व्यथा लागेर ल्याइएकी पोखरा महानगरपालिका–१७ कि मोगादेवी पोखरेलकी नवजात शिशुलाई ४ दिनसम्म भेन्टिलेटरमा राखिएको र अवस्थाबारे जानकारी नदिइएको भन्दै उनका परिवारले सोमबार प्रतिष्ठान प्रमुख भरत खत्रीलाई भेटेर उपचारमा संलग्न चिकित्सकलाई कारवाही गर्न माग गरेका हुन् ।

९ महिनासम्म नियमित चेकजाँच गरेको र सुत्केरी हुनेबेलासम्म स्वस्थ अवस्था रहे पनि प्रसुतिको समयमा चिकित्सकले लापरबाही गरेको आशंका परिवारको छ । ‘बच्चा जन्मिनुभन्दा केही मिनेटअगाडिसम्म सबै ठीक छ । बच्चाको हर्टबिट १३० छ भनेर भने’, मोगादेवीका श्रीमान रमेश पौडेलले भने, ‘त्यसपछि भेन्टिलेटरमा लगेर अहिलेसम्म हामीलाई जानकारी दिएका छैनन् ।’

परिवारका अनुसार मोगादेवीलाई सुत्केरीका लागि असार २६ गते समय दिइएको थियो । उक्त दिन अस्पताल पुगेर परीक्षण गर्दा ड्युटीमा रहेका चिकित्सकले डेलिभरी गर्ने समय नभएको भन्दै फेरि ५ दिनपछि आउनू भन्दै घर फर्काएको उनीहरुले बताए । ‘तर, घर फर्किएको २ दिनमै गाह्रो हुन थाल्छ र हतारमै अस्पताल ल्यायौं, त्यतिबेलासम्म सबै ठीक थियो,’ श्रीमान पौडेलले भने ।

अस्पताल भर्ना भएको २४ घण्टापछि असार २९ गते पौने १० बजे मोगादेवीले छोरी जन्माएकी थिइन् । परिवारका सदस्यले शिशुको अवस्थाबारे जानकारी लिन खोज्दा आफूहरुमाथि दुव्र्यवहार भएकोसमेत बताएका छन् ।

प्रतिष्ठान प्रमुख भरत खत्रीले बच्चाको अवस्था जटिल रहेको र बाँकी घटनाबारे छानबिन हुने जानकारी दिए । ‘कहिलेकाहीं यस्तो घटना घट्छ । तर, हामी पनि यसबारे छानबिन गछौं । गल्ती प्रमाणित भए कारवाही हुन्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?