+
+

मनमौजी देउवालाई बाँध्ने दुई महामन्त्रीको कार्यक्रम

लिलु डुम्रे लिलु डुम्रे
२०८० साउन २ गते २२:००

२ साउन, काठमाडौं । सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक मंगलबार सुरु भएको छ ।

सभापति शेरबहादुर देउवाकै प्रस्तावमा पहिलोपटक प्रत्यक्ष प्रशारण गरिएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले छलफलका लागि १० वटा एजेण्डा प्रस्तुत गरे । त्यसमध्ये एउटा सांगठनिक कार्ययोजना र कार्यतालिकामा अर्का महामन्त्री गगनकुमार थापाले एक वर्षे कार्यतालिका अघि सारे ।

महामन्त्री शर्मासँग मिलेर प्रस्ताव गरिएको वार्षिक क्यालेण्डरले पार्टीलाई ऊर्जा प्रदान गर्ने थापाको तर्क छ । अर्का महामन्त्री विश्वप्रकाश शर्मा र अरु केही नेताहरुसँग मिलेर ल्याएको भन्दै उनले भने, ‘यो प्रस्ताव हो, यसमा नयाँ आइडियाहरु थपौं ।’

महामन्त्रीद्वयको कार्ययोजनाले पार्टीको परम्परागत अभ्यास तोड्ने भएकाले कांग्रेस वृत्तमा चासोका साथ हेरिएको छ । केन्द्रीय सदस्य नैनसिंह महर पनि यति नगरे पार्टी जीवित नरहने बताउँछन् । उनले भने, ‘यसमा आएको विषय आधाआधी हामीले बोल्ने विषय नै हो । यसले मात्र पुग्दैन, अझ आउँछ ।’

कतिपयले चाहिँ फर्स्ट म्यान (सभापति देउवा) ले नल्याएकाले कार्यक्रम कार्यान्वयन हुनेमा आशंका गर्छन् । केन्द्रीय सदस्य प्रदीप पौडेल कार्ययोजना कार्यान्वयन गर्नु चुनौतीपूर्ण भएको बताउँछन् । उनले भने, उहाँले योजनाबद्ध कार्यक्रम ल्याउनु भएको छ, जुन उल्लेखनीय छ । तर यसको कार्यान्वयन चाहिँ चुनौतीपूर्ण छ ।’

कार्यक्रम बोकेर आए महामन्त्रीद्वय

महाधिवेशन प्रतिनिधिले युवा नेताहरु थापा र शर्मालाई महामन्त्री जस्तो महत्वपूर्ण पदमा जिताए पनि डेढ वर्षसम्म अपेक्षित काम गर्न नसकेको टिप्पणी हुन थालेको थियो । तर मंगलबारको बैठकमा त्यो आरोपलाई खण्डन गर्ने गरी प्रस्ताव ल्याएको देखिन्छ ।

किनकि महामन्त्रीद्वयले तयार पारेको सांगठनिक कार्ययोजना र कार्यतालिकाअनुसार चल्दा केन्द्रदेखि, तल्लो समिति, भ्रातृ तथा शुभेच्छुक संगठनसमेत विधानमा बाँधिनेछ । पार्टीका केन्द्रीय नेताहरु वर्ष दिनमा ११ महिना व्यस्त हुनेछन्, कांग्रेस पंक्ति चलायमान रहेछन् । निरन्तर जनतासँग जोडिनेछ ।

यसअघि कांग्रेसले आवश्यकताको आधार र महत्वपूर्ण तिथिमितिमा छिटफुट गतिविधि गर्दै आएको थियो । महामन्त्रीद्वयले अघि सारेको कार्यक्रम केन्द्रीय समितिले अनुमोदन गरेमा ६ हजार ७४३ वडा समिति वर्षभर क्रियाशील हुनेछन् ।

साउन महिनालाई ‘मन्थ अफ ग्रिनरी’ भनिएको छ, जसअनुसार ६ साउनमा सबै कार्यकर्ताले रुख रोप्नुपर्नेछ ।

२ भदौमा दिवानसिंह राई स्मृति दिवस मनाइनेछ । त्यसदिन दिवानसिंहको स्मृति र योगदान आधारित विचार गोष्ठी हुनेछ । ५ भदौमा प्रदीप गिरी स्मरण सभा हुनेछ । भदौ महिना ‘मन्थ अफ लिट्रेचर’ को रुपमा कांग्रेसले मनाउनेछ ।

पार्टीका संस्थापक नेता सुवर्ण शशसेर स्मृति दिवस अर्थनीति सम्बन्धी सम्मेलन गरेर मनाइनेछ । २४ कात्तिकमा अर्थविद्हरुसँग बहस हुने महामन्त्रीद्वयको प्रस्ताव छ ।

मंसिर महिनालाई कांग्रेसले मंगलादेवी सिंहको स्मृतिमा मनाउनुपर्ने प्रस्ताव छ । जसअनुसार, २५ मंसिरदेखि महिला हिंसाविरुद्ध एक महिने कार्यक्रम गरिनेछ । प्रस्ताव अनुसार शैलजा आचार्य, भीमबहादुर तामाङ, शेख इद्रिस, राधाकृष्ण थारु, डिबी परियार लगायतका नेताहरुको सम्मानमा कांग्रेसले कार्यक्रम गर्नेछ । कांग्रेस निर्माणमा महत्वपूर्ण योगदान रहेका यी नेताहरुको सम्झनालाई समाजसँग जोडेर पार्टी गतिशील हुनुपर्ने प्रस्ताव पेश गरिएको छ ।

कांग्रेसले विभिन्न विषयविज्ञसँग प्रत्येक महिनामा एउटा संवाद गर्ने र त्यसको नाम ‘विज्ञसँग वातचित’ हुने प्रस्ताव गरिएको छ । किसानसँग कांग्रेसलाई जोड्न असार महिनालाई सहयोगको महिना बनाउनुपर्ने प्रस्तावमा उल्लेख छ । ५ देखि ७ लाख सदस्य थप्ने योजनाका साथ ‘घरघर जाऔं, पार्टी सदस्यता बनाऔं’ अभियान वर्षभर चलाएर पार्टी सुदृढीकरण गर्ने महामन्त्री थापा बताउँछन् ।

यसबाहेक पार्टी विधानले प्रष्ट व्यवस्था गरेको र कांग्रेस नेतृत्वले गर्न नसकिरहेको क्षेत्रलाई पनि प्रस्तावमा उल्लेख गरिएको छ । जसअनुसार, १५ भदौभित्र विभागको गठनलाई पूर्णता दिइसक्नुपर्नेछ । १५ भदौभित्रै सबै भ्रातृ संस्थालाई पूर्णता दिने र छ महिनाभित्र अधिवेशन गर्नुपर्ने कार्यतालिका प्रस्तुत गरिएको छ ।

अहिले नेपाल विद्यार्थी संघको मात्रै अध्यक्ष छन् । तरुण दलको जम्बो तदर्थ समिति बनाइएको छ । महिला संघ, किसान संघ, जनजाति संघमा तदर्थ समिति बनाइए पनि पूर्णता पाएका छैनन् । भ्रातृ संस्थालाई जस्तै पार्टीको प्रदेश, जिल्ला र पालिका समितिहरुले पनि वार्षिक क्यालेण्डर बनाएर क्रियाशील हुनुपर्ने प्रस्ताव गरिएको छ ।

दबाबमा देउवा

महामन्त्रीद्वयले अघि सारेको सांगठनिक कार्ययोजना र कार्यतालिकाले कांग्रेसमा सभापति देउवा भने दबाबमा पर्नेछन् । जबकी आइतबार बसेको परामर्श बैठकमा सभापति देउवाले नै बैठकको प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव गरेका थिए ।

धेरैका लागि यो सरप्राइज थियो । तर देउवा केन्द्रीय कार्यसमिति बैठकको प्रत्यक्ष प्रशारण गरिछाड्ने मुड बनाएको बुझेपछि धेरै नेता मौन बसे, कतिपयले समर्थन गरे । एक नेता सभापति देउवाले लाइभ गरौंभन्दा ‘जे बोले पनि बाहिर आइहाल्छ, बरु जाओस्’ भनेका कारण प्रत्यक्ष प्रशारणको योजनाको उद्देश्यमाथि आशंका गर्छन् ।

पार्टीमा रुपान्तरण अभियान चलाएका संस्थापन इतरका नेताहरुले नेतृत्व परिर्वतनको मुद्दा उठाएको छ भने महामन्त्री गगनकुमार थापाले सार्वजनिक मञ्चहरुबाट लगातार संसदीय दलको नेताबाट समेत हटाउने प्रयास गर्ने बताउँदै आएका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकमा संस्थापन पक्षका नेताहरुले यसको प्रतिवाद गर्ने तयारी गरेका छन् । बैठकको प्रत्यक्ष प्रशारण गरेर देउवाले पार्टीमा आफ्नो अभूतपूर्व पकड छ भन्ने सन्देश दिन चाहेको हुनसक्ने एक नेता बताउँछन् । किनकि १५६ सदस्यीय केन्द्रीय कार्यसमितिमा देउवा पक्ष ८० प्रतिशतभन्दा बढी छ ।

तर दुई महामन्त्री सांगठनिक कार्ययोजना र एक वर्षे कार्यतालिकासहित प्रस्तुत भएपछि अवस्था फेरिएको छ । किनकी यो कार्ययोजनाले सभापति देउवालाई मनमौजी हुने छुट दिने छैन ।

अघिल्लो ५ वर्षे र दोस्रो कार्यकालको डेढ वर्षमा सभापति देउवा कहिल्यै विधान अनुसार चलेनन् । यही कार्यकालमा पनि हरेक दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमिति बैठक एक वर्षसम्म बोलाएनन् । अहिलेसम्म पार्टीको विभागहरु बनाएका छैनन्, भ्रातृ संगठनहरुलाई पूर्ण दिएका छैनन् । मंसिर २०७९ मा भएको आम चुनाव, सत्ता गठबन्धनमा आएको खटपट कुनै विषयमा कांग्रेसले समीक्षा गरेको छैन ।

किनकी कांग्रेसको विधानले बैठक बोलाउने अधिकार सभापतिलाई दिएको थियो, देउवाले बैठक बोलाएनन् । कुनै निर्णय लिनु परेपछि कहिले पदाधिकारी त कहिले कार्यसम्पादन समितिको बैठक भनेर बोलाउँथे, आफूले चाहेको निर्णय लिन्थे ।

तर महामन्त्रीद्वयले अघि सारेको सांगठनिक कार्ययोजनाले सभापति देउवालाई विधानअनुसार चल्न बाध्य बनाउने देखिएको छ । जस्तो– अबको एक वर्षसम्म केन्द्रीय कार्यसमिति बैठकको मिति नै तोकिएको छ । प्रस्तावअनुसार असोज, मंसिर, माघ, चैत र जेठको पहिलो साता बस्ने बैठक बस्नुपर्ने छ ।

अझ क्रियाशील सदस्यता वितरणदेखि कार्यालय सञ्चालनको निर्णय पनि केन्द्रीय समिति बैठकले गर्ने गरी ल्याइएको प्रस्तावले सभापतिको मनमौजी चल्दै आएको कांग्रेसभित्र हलचल देखिने पक्काजस्तै छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा भने आत्मलोचनासहित अबको बाटो देखाउने गरी कार्ययोजना ल्याइएको बताउँछन् । कसैलाई बाध्न नभएको भन्दै उनले अघि भने, ‘यो डेढ वर्षको आत्मसमीक्षा, गर्नुपर्ने कामहरु गर्न नसकेकोमा आत्मालोचना र अबका दिनमा यसरी जान्छौं भन्ने आत्मसंकल्प हो ।’

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?