+
+

भाजपासँग माओवादी केन्द्रको बढ्दो सम्बन्ध

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०८० साउन ४ गते २०:५२
माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल, जसले भारत भ्रमणमा जाने टोलीको नेतृत्व गर्नेछिन् ।

४ साउन, काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका नेताहरु आगामी आइतबार एक साता लामो भारत भ्रमणमा जाने भएका छन् । उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा भारत जाने टोलीमा चक्रपाणि खनाल, रामेश्वर राय यादव, सत्या पहाडी र सुरेश राई पनि छन् । ‘भाजपाको निमन्त्रणमा जान लागेका हौं’, भ्रमण दलका सदस्य यादवले भने, ‘know BJP (भाजपालाई चिन्नुस्) भन्ने कार्यक्रम छ, अरु भेटघाट पनि हुन्छ ।’

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाले पार्टीको ४२औं स्थापना दिवसको अवसर पारेर अन्य दलका दलहरुसँग भाजपालाई चिन्नुस् नामक अन्तर्क्रिया कार्यक्रम गर्दै आएका छन् । भाजपाको २० असारको वक्तव्यअनुसार अन्तर्क्रियामा भाजपाको इतिहास, विचार, सफलता, राष्ट्र निर्माणमा भाजपा र भाजपा नेतृत्वको सरकारको योगदानबारे चर्चा हुनेछ ।

अन्तर्क्रियाका लागि भाजपा अध्यक्ष नड्डाले युरोप, अफ्रिकाका साथै एसियाली देशका सत्तारुढ दलका नेताहरुलाई भारत भ्रमणको निम्तो दिने गरेका छन् । त्यही क्रममा माओवादी नेताहरुले ७ साउनदेखि १२ गतेसम्म भ्रमण गर्न लागेका हुन् ।

सत्तामा पुगेका पार्टीहरुले राजनीतिक दलहरुमार्फत अनौपचारिक सम्बन्ध विस्तार गर्न खोज्नुलाई स्वाभाविक मान्छन् कूटनीतिक मामिलाका जानकार दीपकप्रकाश भट्ट । भन्छन्, ‘अन्तर्राष्ट्रिय सम्बन्धमा देश–देश मात्र होइन, राजनीतिक दलमार्फत अनौपचारिक सम्बन्ध बनाइन्छ । यसलाई पनि त्यही मान्न सकिन्छ ।’

उनका अनुसार नेपालमा निकै छिटो–छिटो सरकार परिर्वतन हुने गरेकाले यस्तो अभ्यास कम छ । तर भारतमा सत्तामा छिटोछिटो परिर्वतन भएको छैन ।

त्यहाँ सन् २००४ देखि १४ सम्म भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको सरकार रह्यो भने त्यसपछि झण्डै १० वर्षदेखि भाजपा नेतृत्वको सरकार छ । र, उसले युरोप, अफ्रिकाका साथै एसियाका सत्तारुढ दलसँग सम्बन्ध विस्तार गर्न थालेको देखिन्छ ।

नेपालका पनि जुन दल सत्तामा रहन्छ, त्यही दललाई प्राथमिकता दिने गरेको देखिन्छ । ५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा बाँडिएको थियो ।

तर त्यही बेला भाजपा विदेश विभाग प्रमुखमा विजय चौथाइवाले काठमाडौं आए र, नेकपाको ओली पक्षका नेताहरुलाई भेटेर फर्किए । कतिसम्म भने तत्कालीन नेकपामा दुई अध्यक्षमध्ये एक रहेका पुष्पकमल प्रचण्ड र विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग शिष्टाचार भेट समेत गरेनन् ।

असार २०७८ मा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि चौथाइवाला त्यतैतिर लागे । भदौमा काठमाडौं आएका उनले देउवा पत्नी आरजु देउवा राणाको हातबाट राखी बाँधे । कांग्रेस नेताहरुलाई पनि दिल्ली बोलाए । चैत २०७८ मा भएको भारत भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा भाजपाकै केन्द्रीय कार्यालयमा पुगेका थिए ।

अहिले माओवादीले सरकारको नेतृत्व गरिरहेको छ र भाजपाले माओवादी नेताहरुलाई बोलाएका छन् । माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालका अनुसार भारत भ्रमणबारे पार्टीले भोलि शुक्रबार मात्र औपचारिक रुपमा जानकारी दिनेछ ।

सम्बन्ध सुधारको अवसर

माओवादीका नेताहरु भने यो भ्रमण सम्बन्ध सुधारका दृष्टिमा पनि महत्वपूर्ण हुने बताउँछन् । किनकी माओवादी केन्द्र र भाजपा सम्बन्धमा आशंका र अविश्वास धेरै छ । गएको १० पुस २०७९ मा प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्न कांग्रेस सभापति शेरबहादुर देउवा तयार नहुनुमा समेत माओवादी नेताहरु भारतीय दबाबले पनि काम गरेको बताउँथे । तर गठबन्धन बदलेर एमालेसहित सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भए ।

प्रधानमन्त्री भएपछि प्रचण्ड कांग्रेस नेतृत्वको पुरानै गठबन्धनमा फर्किए । तर भारत भ्रमण गर्न प्रचण्डले पाँच महिना कुर्नुपर्‍यो । गएको १७–२० जेठमा मात्रै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गरे । माओवादीका एक नेता भने त्यस यताको अवधिमा भारतीय संस्थापनसँग विश्वासको वातावरण बन्दै गएको बताउँछन् ।

प्रधानमन्त्री प्रचण्ड र भाजपा अध्यक्ष जेपी नड्डा ।

ती नेता भन्छन्, ‘भारतीय पक्ष नेपालको प्रधानमन्त्रीलाई देखिने गरी अप्ठ्यारो नपरोस् भन्नेमा शतर्क भएको देखिन्छ । हाम्रो प्रधानमन्त्रीले पनि भारतको मुख्य चासो सम्बोधन गर्न पाए हुन्थ्यो भन्ने चाहनुभएको छ ।’

भारतीय चासो सम्बोधन गर्नकै निम्ति प्रचण्डले इन्दोरको महाकालेश्वर मन्दिरमा ठूलो जोखिम उठाएर गेरुबस्त्र लगाएको ती नेताले बताए ।

धर्म निरपेक्ष देशका प्रधानमन्त्रीले अर्को देशमा गएर गेरुबस्त्र लगाएको भन्दै प्रचण्डको चर्को आलोचना भएको थियो । दश वर्ष सशस्त्र विद्रोह गरेको कम्युनिष्ट नेताको पृष्ठभूमिका कारणले पनि प्रचण्डलाई गेरुवस्त्रमा पुजा गर्नु सहज थिएन ।

तर हिन्दू धर्मलाई राजनीतिक एजेण्डा बनाइरहेको भाजपाको प्रस्ताव र स्वार्थ सम्बोधन गर्न प्रचण्डले धार्मिक यात्रा गर्ने जोखिम उठाएको एक नेता बताउँछन् । त्यसबेला प्रचण्डले मन्दिरको प्रोटोकलअनुसार गेरुबस्त्र लगाएको स्पष्टीकरण दिनुका साथै भ्रमण दलमा रहेका मन्त्रीहरुलाई लिएर पशुपतिनाथ मन्दिर पुगेका थिए । अहिले भाजपाको निमन्त्रणमा माओवादी नेताहरु भारत जानुलाई पनि कतिपयले भाजपा र माओवादीबीचको बदलिएको सम्बन्धका नजरले हेरेका छन् ।

तर भ्रमण दलका सदस्य एवं माओवादी नेता रामेश्वर राय यादव भने विश्वव्यापी प्रभाव राख्ने भाजपासँग दलगत सम्बन्ध राख्नु स्वभाविक भएको बताउँछन् । ‘मिसन आ–आफ्नो होला, तर सबैले एक अर्काबारे जान्नु राम्रो हो’, उनले भने, ‘भाजपा पनि एउटा सक्रिय पार्टी हो । यो भ्रमण उसको संगठनात्मक संरचना, काम गर्ने तरिकाबारे थाहा पाउने अवसर हो ।’

माओवादीका अर्का नेताका अनुसार, भाजपाको संगठनात्मक संरचनाबाट प्रचण्ड स्वयं प्रभावित छन् । भाजपा अध्यक्ष नड्डाकै निमन्त्रणामा प्रचण्डले साउन २०७९ मा भारत भ्रमण गरेका थिए । भ्रमणपछि अनौपचारिक छलफलहरुमा उनले ‘संसारकै सबभन्दा ठूलो पार्टी चिनियाँ कम्युनिस्ट पार्टी भनेको त बीजेपीको रहेछ’ भन्ने गरेको माओवादीका एक नेताले सुनाए ।

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?