+
+

लाइभमा चलिरहेको छ देउवाको गुणगान

कांग्रेस बैठक लाइभ गराएर प्रशंसा बटुलेका देउवाले आफ्नो बचाउमा उभिने केन्द्रीय सदस्यहरुलाई पालैपालो मौका दिइरहेका छन् । ती सदस्यहरुको तारो बनिरहेका छन्- महामन्त्री गगन र विश्वप्रकाश ।

लिलु डुम्रे लिलु डुम्रे
२०८० साउन ५ गते २१:०१

५ साउन, काठमाडौं । नेपाली कांग्रेसको चारदिन बसेको बैठकबाट सभापति शेरबहादुर देउवा पार्टीभित्र आफ्नो अवस्था मजबुत रहेको सन्देश छोड्न सफल भएका छन् ।

हालसम्म केन्द्रीय सदस्य र प्रदेश सभापति गरि ११४ जनाले धारणा राखेका छन् । ८२ प्रतिशतको शक्ति केन्द्रीय समितिमा रहेका देउवाले आफू अनुकूलकै अधिकांश बोली केन्द्रीय समितिमा सुनेका छन् । पार्टी भित्र आफ्नो आलोचना गर्नेहरुलाई ‘आफ्नो शक्तिमा क्षय’ नभएको केन्द्रीय सदस्यको मुखबाट सुनाएका छन् ।

पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई नै लाइभ गराएर अरु पार्टीहरुलाई समेत सन्देश प्रवाह गर्न सफल देउवाले चार दिन बित्दासम्म मुलतः आफ्नो पक्षको आवाजलाई प्रमुखतासाथ अघि सार्ने वातावरण तयार गरिरहेको देख्न सकिन्छ ।

बैठक नबस्दासम्म देउवाले विधान विपरीत पार्टी चलाइरहेको आरोप खेप्ने गरेका थिए । बैठकभित्र भने त्यो असन्तुष्टि कतै मुखर छैन । विधान कार्यान्वयनको मुद्दाप्रति केन्द्रीय समितिमा प्रश्न उठाउने संख्या न्युन छ ।

नियमित केन्द्रीय समिति नबोलाएको, विभाग समयमा गठन नगरेको, भ्रातृ संस्थालाई पूर्णता नदिएको, कोषाध्यक्ष मनोनित नभएको, कार्यसम्पादन तथा केन्द्रीय समितिले पूर्णता नपाएको लगायत सरोकारबारे देउवाले खासै प्रश्न झेल्नु परेको छैन ।

प्रत्यक्ष प्रसारणको माध्यमबाट देउवाले प्रायः जसो आफू अनुकूलका बोलीहरु कार्यकर्ता तथा आम नागरिकलाई सुनाइरहेका छन् । प्रश्न उठाइनुपर्ने स्थानमा रहेका देउवाको उल्टै बचाउमा दर्जनौं केन्द्रीय सदस्य उभिएका छन् । देउवाको प्रतिरक्षामा बोलीरहेका केन्द्रीय सदस्यहरुले महामन्त्रीहरुलाई मुख्य तारो बनाएका छन् ।

सभापतिलाई खुल्याउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लागिरहेको भन्दै थुप्रै केन्द्रीय सदस्यले धुँवादार आलोचना गरे । उनीहरुले देउवाको बचाउ र गुणगानमा प्रशस्तै शब्दहरु खर्चेका छन् ।

कतिपयले महामन्त्रीको प्रतिवेदनको प्रशंसा गरेका छन् । सच्याउनुपर्ने विषय ती र अनेकौं रहेको सकार्छन् । सच्याउनुपर्ने विषय भने मोटामोटी राख्नेबाहेक बुँदागत रुपमा धेरैले राखेका छैनन् ।

केन्द्रीय समितिको चौथो दिनको बैठकमा पहिलो वक्ताका रुपमा सभापति शेरबहादुर देउवा पत्नि आरजुले भनिन्,‘राजनीतिक दस्तावेज भन्दा पनि एनजिओको विसलिष्ट जस्तो लाग्यो । धेरै कार्यक्रम भए, यिनीहरुको उपलब्धी के हो त ? क्लियर भएन ।’

पूर्व गृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेको प्रकरणलाई देउवा पक्ष सकभर केन्द्रीय समितिमा प्रवेश गराउन इच्छुक थिएन । संस्थापनइतरबाट खाँणको विषयमा बोल्ने संकेत पाएसँगै देउवा पक्षका नेताहरु उनीहरुको विरुद्धमा उत्रे । उनीहरुले खाँणलाई बचाउ गर्ने क्रममा संस्थापनइतरका नेताहरुमा खनिए ।

खाँण पक्राउ परेपछि केही नेताले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएकोप्रति आक्रोश व्यक्त गरे । २७ वैशाखमा पक्राउ खाँण पक्राउ परेकै दिन केन्द्रीय सदस्य मधु आचार्य, गोविन्दराज पोखरेल, नेताहरु गुरुराज घिमिरे, रञ्जित कर्ण लगायतले गृहमन्त्री श्रेष्ठलाई भेटेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन गृहमन्त्रीलाई उनीहरुले आग्रह गरेका थिए । गृहमन्त्री श्रेष्ठलाई भेटेको मुद्दालाई देउवा पक्षकाले विशेष गरि उचालेका छन् ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेता गोपालमान श्रेष्ठ, इश्वरी न्यौपाने, जीतजंग बस्नेत, राधा घले, लक्ष्मी खतिवडा लगायतले पार्टी नेताहरु गृहमन्त्रीलाई भेटेको प्रति आक्रोश पोखे । अदालतमा पुगेको विषयलाई पार्टीमा छलफलको विषय बनाउन नहुने संस्थापन पक्षको तर्क छ । केन्द्रीय सदस्य श्रेष्ठले खाँणलाई पुर्पक्षका लागि थुनामा पु¥याउन रोकिन सक्ने अवस्था रहेर पनि हुन नसकेको बताए ।

‘एउटा साथी पुर्पक्षमा थुनिएको छ । पुर्पक्षमा जानबाट रोक्न सकिन्थ्यो होला ? किन रोकिएन ?’ श्रेष्ठले केन्द्रीय समिति बैठकमा प्रश्न गरे ।

खाँणलाई कांग्रेसले किन निलम्बन नगरेको नागरिक तहबाट प्रश्न आइरहँदा उनको निलम्बनको पक्षमा केन्द्रीय समेतमा बोल्ने एक्ला पात्र अजयबाबु शिवाकोटी देखिए । महामन्त्री गगन थापा निकट उनले खाँण वा सरकार मध्ये पार्टीले एक रोज्नुपर्ने बताए ।

‘बालकृष्ण खाँणलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ । सभापति ज्यू, हाम्रो द्धिविधा अचम्मकै छ,’ शिवाकोटीले बैठकमा भने, ‘खाँणप्रति अन्याय भयो भन्ने हो भने यो सरकारबाट हट्नुप¥यो । होइन भने आरोपीलाई पार्टीबाट निलम्बन गर्नुपर्छ कि पर्दैन ?’

देउवाका विश्वासपात्रका रुपमा परिचित केन्द्रीय सदस्य मीन विश्वकर्माले पार्टीले नै दोषी र निर्दोष करार गर्ने भए अदालत किन चाहियो भन्दै प्रश्न उठाए । ‘पक्ष विपक्षमा छलफल कांग्रेसले गर्ने हो भने अदालत किन चाहियो? यही कार्यसमितिले गर्छ, भने वकिल पनि राख्न भएन नि,’ विश्वकर्माले भने, ‘वकिलले वकालत गर्न नि भएन । अदालतले दोषी हो होइन भनि प्रमाणित नगर्दासम्म सर्वोच्च अदालत हो, दोषी अहिले नै ठहर गर्ने?’

अरु पार्टीले आफ्ना सदस्य जोगाउन बचाउन लागिरहँदा आफ्ना नेताहरु गृहमन्त्रीकहाँ डेलिगेशनमा गएको भन्दै उनले असन्तुष्टि राखे ।

सभापति देउवाले जारी केन्द्रीय समितिको बैठकलाई भरपुर आफ्नो पक्षमा पारिरहेका छन् । देउवाको कार्यशैली माथि प्रश्न उठाउनेलाई केन्द्रीय सदस्यले बचाउ गरिरहेका छन् । संस्थापनइतरका नेता बलबहादुर केसी आपसी द्वन्द्व बढाउने गरि केन्द्रीय समितिको बैठक अघि बढेको बताउँछन् ।

चौथो दिनको बैठकमा बोल्दै गर्दा केसीले सभापति र महामन्त्रीबीचमा तिक्तता बढाउने गरी अभिव्यक्ति आइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘सभापति र महामन्त्रीको द्वन्द्व बढाउने गरि जुन रुपमा यहाँ प्रस्तुत गरियो,’ नेता केसीले भने, ‘यो कार्यसमितिको एजेण्डा यही हो । यो बैठकको सन्देश राम्रो गएको छैन ।’

देउवा पक्षका नेताहरुको मूल निशानामा महामन्त्रीद्वय छन् । सामाजिक सञ्जालको प्रयोग गरि सभापतिलाई कमजोर बनाउन महामन्त्रीद्वयले भूमिका खेलेको उनीहरुको बुझाइ छ । सभापति देउवा कमजोर भए वा सबै कमजोर हुने भन्दै देउवाको प्रतिरक्षा गरे ।

केन्द्रीय सदस्य तथा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भन्छन्, ‘पार्टीको नेगेटिभ भ्रम फैलिने गरि अतिरञ्जित नगरौं । शेरबहादुर देउवा डुबेपछि गगन थापा पनि डुब्नुहुन्छ, सुरेन्द्र पाण्डे पनि डुब्छ । सबै एउटै डुंगामा छौं । यो डुंगालाई पार लाउन कठिन छ ।’

दलको नेता परिवर्तन गर्नुपर्ने विकल्प महामन्त्री थापाले उठाइरहेका छन् । महामन्त्री थापाप्रति आक्रोशित संस्थापन पक्षीय केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले भने, ‘एउटा व्यक्तिलाई संसदीय दलको नेता चाहियो भन्दैमा समयको ख्याल नै नगरे बेमौसमको बाजा बजाउँदै हिँड्दा जन्ती पाइन्नन् कि ।’

चार दिनको बैठक सकिँदा सभापति देउवा पक्ष पूर्व तयारी गरेर महामन्त्री विरुद्ध प्रस्तुत भएको देखाउँछ । त्यसो त, सातै प्रदेशका केन्द्रीय सदस्यलाई समन्वय गरेर एउटा धारणा बनाउन बैठक अघि सात नेतालाई सभापति देउवाले जिम्मेवारी दिएका थिए । देउवालाई बचाएर प्रस्तुत हुने र खाँणको विषयलाई बचाउमा गर्ने गरि पूर्वतयारी भएको संस्थापन पक्षका एक नेता बताउँछन् ।

महामन्त्रीहरुलाई अनेक प्रश्न उठाएका संस्थापन पक्षका नेताहरु इतरका पक्षका नेता डा. शेखर कोइरालाप्रति मौन छन् । केन्द्रीय सदस्य रामहरि खतिवडा इतरका नेता शेखरको राजनीति सुझबुझपूर्ण रहेको बताउँछन् । केन्द्रीय समितिमा बोल्ने क्रममा उनले शेखरलाई धन्यवाद पनि दिए ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?