+
+

कालीगण्डकी करिडोर प्रसारणलाइन निर्माण साउनभित्र सक्न विद्युत प्राधिकरणको ताकेता

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते १२:०८

७ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइनको निर्माण तत्काल सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई ताकेता गरेको छ ।

आयोजनाको निर्माण गत असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, रुख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयको अवरोध र निर्माण व्यवसायी भारतीय कम्पनी एल एण्ड टीको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो ।

निर्माणमा ढिलाइ भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार निर्माणस्थलको अनुगमन गरी आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या र समाधानका उपायका विषयमा छलफल गरेका छन् । छलफलबाट प्रसारणलाइनको निर्माण यही साउनभित्र सम्पन्न गर्ने नयाँतालिका तय गरिएको छ ।

छलफलमा कार्यकारी निर्देशक घिसिङले जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् प्रवाहका लागि कालीगण्डकी करिडोर प्रसारणलाइन अत्यन्तै महत्वपूर्ण र संवेदशील रहेकाले जुनसुकै अवस्थामा पनि साउनभित्र सम्पन्न गर्न निर्देशन दिए । उनले यो लाइन बनेपछि म्याग्दी, पर्वत, कास्की र लमजुङ जिल्लामा निर्माण भएका जलविद्युत् आयोजनाहरुको विद्युत् प्रवाह गर्न सजिलो हुने उल्लेख गरे ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी -बर्दघाट सुस्तापश्चिम)को सुनवल नगरपालिका-१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको १२७ किलोमिटर डबल सर्किट प्रसारणलाइन आयोजना दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ ।

पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका-२ खुर्कोटसम्मको ३९किलोमिटर प्रसारणलाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । पहिलोखण्डमा नै खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् ।

दोस्रो खण्डअन्तर्गत कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्मको ८८ किलोमिटर प्रसारणलाइन निर्माण अन्तिम चरणमा छ । यस खण्डमा पर्ने २३५ वटा टावरहरुमध्ये २३४ वटा निर्माण सम्पन्न भइसकेका छन् । रुपन्देहीको देवदह क्षेत्रमा एउटा टावर निर्माणाधीन छ ।

पर्वत, पाल्पा र रुपन्देहीमा गरी गरिब ७ किलोमिटर तार तान्न बाँकी छ । आयोजनाअन्तर्गत नवलपरासीको सुनवल नगरपालिका-१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनका लागि टावरहरु निर्माण सम्पन्न गरी करिब ८ किलोमिटर डबल सर्किट तार तानिएको छ ।

कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारणलाइनको निर्माण सुरु गरिएको हो । प्रसारणलाइनबाट करिब १ हजार २ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिन्छ ।

नयाँ बुटबल-बर्दघाट प्रसारणलाइन पुसभित्र

नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवल नगरपालिका-१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनबाट बर्दघाटसम्मको २२० केभी प्रसारणलाइन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृतिको निर्णय प्रक्रियामा भएको ढिलाइका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । अहिले आयोजनाले रुख कटानका लागि अनुमति पाइसकेको छ ।

प्रसारणलाइनका टावर र मार्गधिकार -राइटअफ वे) लागि ५०.३१ हेक्टर वन क्षेत्रको जग्गा र त्यहाँ रहेका ५ हजार ८ सय रुख हटाउनु पर्ने छ । आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख हटाएवापत २७ करोड ९९ लाख ४९ हजार रुपैयाँ वन विकास कोषमा जम्मा गर्नुपर्ने छ । यसमध्ये आयोजनाले पहिलो किस्तावापत ३ करोड ५१ लाख रुपैयाँ कोषमा गरेपछि जग्गा प्रयोग र रुख कटानको स्वीकृति प्रक्रिया अगाडि बढेको थियो ।

२१ किलोमिटर प्रसारणलाइनका लागि ५६ वटा टावर निर्माण गर्नुपर्ने छ । यसमध्ये २१ वटाको जग हालिएको छ । ५ वटा टावर खडा गरिएको छ । प्रसारणलाइनका अधिकांश उपकरणहरु आयोजना स्थलमा आपूर्ति भइसकेको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा रहेको समस्या समाधान भइसकेकाले जनशक्ति थप गरी आगामी पुसभित्र निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए ।

उनले नवलपरासीको सुनवल नगरपालिका-१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनमध्ये आयोजनाले तान्नु पर्ने डबल सर्किट तार तान्न सुरु गर्न निर्देशन दिए । आयोजनाअन्तर्गत भुमहीमा २२०/१३२ केभी नयाँ बुटवल सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?