+
+

गगन र विश्वप्रकाशले दिए देउवा पक्षका नेतालाई जवाफ

सभापति देउवाको आलोचनामा उभिने गरेको भन्दै संस्थापन पक्षको निरन्तर निशानामा परेका महामन्त्री गगन र विश्वप्रकाशले आफ्ना तर्कहरुको औचित्यबारे लामै प्रष्टीकरण दिएका थिए ।

लिलु डुम्रे लिलु डुम्रे
२०८० साउन ८ गते २१:४१

८ साउन, काठमाडौं । कांग्रेस संस्थापन पक्षको निरन्तर निशानामा रहेका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सोमबार केन्द्रीय समिति बैठकमा जवाफ दिएका छन् ।

६ दिनयता चलेको बैठक आइतबारसम्म आइपुग्दा अधिकांश केन्द्रीय सदस्यको तारो बन्न पुगेका थिए दोस्रो पुस्ताका यी दुई पदाधिकारी । सभापति शेरबहादुर देउवाको आलोचना धेरै गरेको आरोप खेपिरहेका उनीहरुले आफ्ना सरोकार व्यक्तिगत नभई पार्टीलाई पद्धतिमा हिँडाउने प्रयासस्वरुप व्यक्त हुने गरेको प्रष्टीकरण दिएका छन् ।

सोमबार बोल्ने क्रममा आफूहरु माथि आएका सुझाव र आरोप माथि दुई महामन्त्रीले पालैपालो जवाफ फर्काए । २ साउनमा महामन्त्रीद्वयले एकवर्षे कार्ययोजना सहितको प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन माथि बोल्दै अधिकांशले पार्टीलाई चलायमान गराउने गरी प्रतिवेदन आएको बताए । कतिपयले कार्यान्वयन कठिनाइको प्रश्न उठाए ।

विश्वप्रकाश शर्माले ती प्रश्नको जवाफ क्रममा भने, ‘कार्यान्वयन गर्न सकिन्छ कि सकिँदैन भनेर सोध्ने भन्दा पनि हामी मिलेर यसलाई कार्यान्वयन गर्छौंं पो भन्नुप¥यो । हामी नै हो यसको पहलकर्ता ।’

केन्द्रीय सदस्य आरजु राणाले दुई दिनअघि बोल्ने क्रममा महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदनलाई सहजै ग्रहण गर्न नसकेको प्रष्टै झल्काएकी थिइन् । ‘राजनीतिक दस्तावेज भन्दा पनि एनजिओको विसलिष्ट जस्तो लाग्यो । धेरै कार्यक्रम भए, यिनीहरुको उपलब्धी के हो त ? क्लियर भएन,’ उनले बैठकमा भनेकी थिइन् । केन्द्रीय सदस्य तथा गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पनि प्रतिवेदनलाई राजनीतिक दस्तावेज हुन नसकेको बताएका थिए ।

राणा र पाण्डेकै लयमा बोल्नेहरुलाई महामन्त्री थापाले जवाफ फर्काउँदा आफूले प्रश्नहरुलाई सकारात्मक ग्रहण गर्ने भए पनि लान्छनालाई बेवास्ता गर्ने भन्दै प्रतिवाद गरे । साथै उनले सभापति देउवा पत्नी आरजुलाई लक्षित गर्दै भने, ‘एनजिओमा काम नगरेको हुनाले त्यति अनुभव त छैन । यो आम पार्टी साथीहरुको विसलिष्ट हो ।’ कार्यान्वयनको आशंका गर्नेहरुका लागि अर्का महामन्त्री शर्माले सिंगो पार्टी संगठनले स्वामित्व लिएर लागु गर्नुपर्ने बताए ।

वार्षिक कार्ययोजनामा प्रदेश संरचनालाई बेवास्ता गरिएको भन्दै प्रदेश सभापतिहरुले असन्तुष्टि जनाएका थिए । जिल्ला, वडा तहलाई जोडेर कार्ययोजना ल्याउँदा प्रदेश समितिलाई ध्यानमा नराखिएको प्रदेश सभापतिहरुले बताएका थिए ।

मधेश प्रदेशका सभापति कृष्ण यादव, बागमतीका इन्द्र बानियाँ, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, सुदूरपश्चिमका वीरबहादुर बलायर लगायतले कार्ययोजनामा प्रदेश कहीँ नसमेटिएको भन्दै असन्तुष्टि राखेका थिए । उनीहरुको मतमा केही केन्द्रीय सदस्यले पनि समर्थन जनाएका थिए । प्रदेश समितिको भूमिका गौण राख्ने भए संरचना नै खारेज गर्न उनीहरुले चेतावनीयुक्त धारणा राखेका थिए ।

प्रदेश कार्यसमिति पार्टीभित्रको स्वायत्त संरचनाका रुपमा रहेकाले आफ्नो तरिकाले कार्यतालिका ल्याउन सक्ने महामन्त्रीद्वयको जवाफ थियो । साथै, प्रदेशसँग सहकार्य गर्न छुटेका विषयलाई प्रतिवेदनमा समेट्ने महामन्त्री थापाले प्रतिवद्धता जनाए ।

‘प्रदेशको सन्दर्भमा कार्यतालिकामा विषयहरु नसमेटिएको कुरा विल्कुल सही छ,’ महामन्त्री शर्माले भने, ‘संघीय सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्दा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हुँदैन । स्वायत्त तरिकाले आफैं नै अघि बढाउने कुरो हुन्छ ।’

महामन्त्रीद्वयको कार्यशैली र अभिव्यक्तिलाई लिएर देउवा पक्षीय केन्द्रीय सदस्यहरुले उनीहरुलाई तारो बनाएका थिए । गठबन्धन कायम राख्न भूमिका नखेलेको, संसदीय दलको नेताको विकल्प खोज्ने अभिव्यक्ति, जिल्ला सभापतिको भेला लगायतमा असन्तुष्टि राखे । दुई महामन्त्रीले यी विषयमा एक/एक गरी जवाफ दिए ।

पुस १० गते गठबन्धन टुट्दै गर्दा पोखरा गएको भनी उनीहरु माथि प्रश्न तेर्स्याएका थिए । शीर्ष तहमा हुने छलफलमा सहभागी नगराइएको भन्दै दुई महामन्त्रीले विगतमा कुरा उठाउँदै आएका थिए । तापनि, संस्थापन पक्षले महामन्त्रीले त्यो बेला हस्तक्षेप किन नगरेको भनी विषय उठाइरहेको छ । सोमबार जवाफ दिने क्रममा महामन्त्री शर्माले स्पष्टीकरण दिए । ‘पुस १० मा गएका होइन । पोखराको कार्यक्रम पुस ११ मा थियो’, शर्माले भने, ‘हामी दुई भाइलाई लिट्रेचर फेस्टिबलमा बोल्न बोलाइएको थियो । हामी बोल्न गयौं ।’

गठबन्धनका बैठकमा दुई महामन्त्रीलाई आमन्त्रण गरिएको थिएन । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लगायतका शीर्ष तहका नेताहरु बैठक बस्दा महामन्त्रीको आवश्यकता नदेखिएको प्रति सभापति देउवासँग थापाले जवाफ खोजे ।

शीर्ष तहमा भएका निर्णयहरु सञ्चार माध्यमबाट थाहा पाउने गरेको गुनासो उनले पार्टी बैठकमा राखे । आफ्नो भूमिका अवमूल्यन गरिएको थापाको आशय थियो । संस्थागत तरिकाले पार्टी नचलेको कुरालाई बाहिर ल्याउँदा बोलेको भनि आरोप खेप्नुपरेको उनले सुनाए ।

२१ र २२ गते भएको जिल्ला सभापतिहरुको भेलाप्रति संस्थापन पक्षले आशंका गरिरहेको थियो । सभापति विना र केन्द्रीय समितिको अपनत्व नलिने गरी अन्तर्क्रिया गरिएको संस्थापन पक्षका सदस्यले असन्तुष्टि पोखेका थिए । महामन्त्रीहरुले विधानले दिएको अधिकार प्रयोग गरेर संगठन चलायमान गराउन ध्येयले सभापतिहरुसँग छलफल गरेको सुनाए ।

‘एक वर्षमा हुने सम्मेलन के के हुँदैछ ? कहाँ कहाँ हुँदैछ ?,’ महामन्त्री शर्माले भने, ‘महामन्त्रीले काम नगर्दै गर्दा यी कता हराए भन्ने अनि महामन्त्रीहरुले काम गर्र्दै गर्दा किन गर्ने खालको आशय छ । यो कुरा महामन्त्रीहरुको नियमित जिम्मेवारी हो ।’

सदस्यता वितरण अनलाइन गरेको विषयलाई समेत केन्द्रीय सदस्यहरुले आशंका रुपमा हेरेका थिए । हाल कांग्रेसले खुलाएको सदस्यता साधारण सदस्यता हो । क्रियाशील सदस्यता खुलेको जस्तै गरी केहीले प्रश्न गरेका थिए । शंका निवारण गर्दै महामन्त्री थापाले भने, ‘यो साधारण सदस्यता हो है ।’

त्यसै प्रसंगमा थापाभन्दा अघि आफ्नो पालोमा जवाफ दिँदै अर्का महामन्त्री शर्माले ९०० सय क्रियाशील आएको ठाउँमा पार्टीको उम्मेदवारलाई २०० सय मत आएको कुरा उठाएपनि यसै ठाउँमा भनि किटान गर्ने गरी केन्द्रीय सदस्यले स्पष्ट गर्न नसकेको बताए । उनले वास्तविकतामा आधारित नभएका प्रचारलाई जस्ताको तस्तै नेताहरुले पत्याउन नहुनेमा जोड दिए ।

महामन्त्री थापाले संस्थापन पक्षबाट झेलेको अर्को विषय थियो, संसदीय दलको नेताको विकल्प किन खोजेको ? संस्थापन पक्षका नेताहरु मीन विश्वकर्मा, वीरबहादुर बलायर, सुरेन्द्र पाण्डे, चन्द्रबहादुर केसी लगायतले उक्त विषयलाई उठाएका थिए ।

महामन्त्री मौन रहे पार्टीको सबै समस्या हल हुन्छ भन्ने केहीलाई लागेपनि बोल्न नछोड्ने महामन्त्री थापाले बताए । संसदीय दल नेता फेर्न विधानअनुसार मिल्ने बताउँदै उनले भने, ‘म प्रयास भने गरिरहन्छु । गाह्रो काम भनेर छाड्दिनँ ।’

आफू बोलेको कुरालाई सभापति देउवालाई सामान्य नै लाग्ने गरेको भए पनि अन्यलाई नकारात्मक चासो परेकोप्रति थापा अचम्मित सुनिए । सभापति देउवाले छैटौं पटक प्रधानमन्त्री बन्दिन भनेर अरुलाई स्थान दिन पनि सक्ने छद्म कटाक्ष उनले गरे ।

आफूले दल नेता परिवर्तन गर्न चाहेको खुला घोषणा गरेको, तर कुनै पनि बहानामा पार्टी फुटाउन नचाहेको नेताहरुलाई सुनाए । उनीप्रति आशंका राखेकालाई भने, ‘दल नेता परिवर्तन गर्न म लागिरहन्छु । किन लागिस् भनेर अब प्रश्न नसोध्नुहोला, जवाफ पाउनुभयो’, थापाले भने । संसदीय दलको नेतामा आफू नै बन्नुपर्छ भनेर नबोलेको थापाको स्पष्टिकरण थियो ।

सभापति र आफू बीचमा कटुतापूर्ण सम्बन्ध नरहेपनि कतिपयले आशंकाका रुपमा बुझेको दुई महामन्त्रीको निचोड छ  । सभापतिलाई खुइल्याउन लागेको आरोपको प्रतिवाद गर्दै महामन्त्री शर्माले आलोचना र गाली बीचको भेद थाहा पाउन आग्रह गरे । शर्मा भन्छन्, ‘आलोचना गर्दा सभापति रिसाउनुहुन्न । तर, सभापतिलाई गाली गर्‍यो भन्नुहुन्छ ।’

पुर्पपक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको विषयमा समेत दुई महामन्त्रीप्रति प्रश्न उठे । निलम्बनको विषय उछालेको भनी दुईप्रति संस्थापन पक्षका शीर्ष देखि केन्द्रीय सदस्यसम्म रुष्ट छन् । सहमहामन्त्रीद्वय महालक्ष्मी उपाध्याय, महेन्द्र यादव सहित केन्द्रीय सदस्यहरु एनपी साउद, मीन विश्वकर्मा, ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, राधा घले, लक्ष्मी खतिवडा लगायतले खाँणको बचाउमा बोलेका थिए ।

पार्टीभित्रका नेताहरु नै खाँणलाई दोषी देखाउन लागिरहेको उनीहरुको भनाइ थियो । खाँणको बचाउमा महामन्त्रीहरु नलागेको उनीहरुको आरोप थियो । सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा सुशासन र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा आफ्नो १३ बुँदे लिखित धारणा थापाले राखेका छन् ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका तथा अनुसन्धानको दायरामा आएका कुनै पनि तहका नेता, कार्यकर्ता वा सदस्यलाई पार्टीबट निलम्बन गरौं । जसरी संसदबाट निलम्बन हुन्छ त्यसरी पार्टीबाट पनि हुन्छ,’ थापा भन्छन् ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?