+
+

रुकुमपश्चिमको साँखदह बन्यो पर्यटकीय गन्तव्य   

रासस रासस
२०८० साउन ९ गते ११:०२
Photo Credit : RSS

९ साउन, रुकुम (पश्चिम)  । रुकुमपश्चिमको सदरमुकाम नजिकै रहेको छ साँखगाउँ । मुसीकोट नगरपालिका–७ मा पर्ने यो गाउँ निकै सुन्दर छ । लेकाली क्षेत्रमा रहेको समथर भूभागमा रहेको साँखगाउँको बीचमा रहेको दहका कारण पनि साँखगाउँ चर्चामा छ । साँखगाउँमा रहेको साँखदह पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

दह अहिले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । मध्यपहाडी लोकमार्ग छेउमै रहेका कारण पनि यो दह पर्यटकको रोजाइमा परेको हो । साँखगाउँको पूर्वतिर एउटा टापु छ । उक्त टापुबाट साँखगाउँ र गाउँ रहेको दह देखिने भएकाले मध्यपहाडी लोकमार्ग हुँदै यात्रा गर्ने यात्रु गाउँ र दहको अवलोकन गरेरमात्र फर्कन्छन् ।

पछिल्लो पटक स्थानीय तहले दह वरपर विभिन्न संरचना निर्माण गरेपछि दह झनै हेर्न लायक भएको छ । बर्खाको समयमा दहमा पानी भरिएका कारण पनि सुन्दर देखिने स्थानीयवासी गोविन्द मगरले बताए । “पहिला–पहिला दह हेर्न कोही पनि आउँदैन थिए, जब मध्यपहाडी लोकमार्गमा गाडी चल्न थाले बिस्तारै यहाँ घुम्न आउनेको सङ्ख्या बढेको छ”, उनले भने ।

“दहमा नयाँ संरचना पनि बनेका रहेछन्, पहिलाभन्दा दह हेर्न लायक बनेको रहेछ”, यहाँ घुम्न आएका गोपाल रावतले भने । दहमा प्रवेशद्वार, प्रतीक्षालय र दह वरिपरि ढुङ्गा बिच्छ्याइएको छ । “पहिला दह हेर्न आउँदा केही व्यवस्थित थिएन, भैँसी आहाल बसेका हुन्थे, अहिले संरक्षण गरिएको छ”, उनले भने ।

पर्यटन प्रवर्द्धनका लागि दह वरिपरि विभिन्न संरचना निर्माण गरिएका वडाअध्यक्ष एक्कबहादुर पाण्डेले जानकारी दिए । उनले भने, “अब दहमा स्थानीयका पशुचौपाया जान पाउने छैनन्, ताल अवलोकनका लागि सहज भएको छ ।”

दह परिसरमा दुई प्रतीक्षालय, दह वरिपरि ढुङ्गा बिच्छ्याएको बाटो, रेलिङ र दह वरिपरि पर्खाल निर्माण गरिएको छ । त्यस्तै दह वरिपरिबाट आएको पानी निकासका लागि नालासमेत निर्माण गरिएको वडाअध्यक्ष पाण्डेले जानकारी दिए ।

ताललाई व्यवस्थित बनाई सुन्दरता बढाउने उद्देश्यले विभिन्न संरचना निर्माण गरिएका छन् । अब ताल अवलोकनका लागि चारैतिर पैदल मार्ग भएर सहजै हिँड्न सकिने र थकाइ लागेमा प्रतीक्षालयमा आराम गर्न सकिने वडाध्यक्ष पाण्डेको भनाइ छ । ताल बर्खामा भरिन्छ भने हिउँदमा पानीको मात्रा अरुबेला भन्दा कम हुनेगर्छ । ताललाई बाह्रै महिना भरिभराउ बनाउनका लागि बाहिरबाट पानी ल्याएर हाल्ने योजना रहेको छ । मध्यपहाडी लोकमार्गको छेउमै रहेको यो ताल मुसिकोट नगरपालिकाको आकर्षक गन्तव्य बन्ने स्थानीयको विश्वास छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?