+
+

परासी क्षेत्रका उद्योगलाई विद्युत् दिन ५ वटा सबस्टेसन जोड्ने प्रसारणलाइनको रिङ बन्दै

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते १३:३३

१० साउन, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को परासी क्षेत्रमा सञ्चालित र सञ्चालनमा आउने उद्योगहरुलाई विद्युत आपूर्तिका लागि ५ वटा सबस्टेसन जोड्ने प्रसारणलाइनको रिङ बन्ने भएको छ ।

औद्योगिक विस्तारको सम्भावना रहेको परासी क्षेत्रमा बुटवल, सुनवल, गण्डक तथा हकुई १३२ केभी र नयाँ बुटवल २२० केभी सबस्टेसन जोडी विद्युत आपूर्तिका लागि प्रसारणलाइनको रिङ बनाइने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले परासी र रुपन्देहीको भैरहवा औद्योगिक करिडोरमा विद्युत्को बढ्दो मागलाई सम्बोधन गर्न, प्रसारण क्षमता वृद्धि गर्न, प्राविधिक चुहावट घटाउन, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि सुनवल–हकुई १३२ केभी डबल सर्किट प्रसारणलाइन निर्माण अगाडि बढाएको छ । गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल) ३३ केभी सिङ्‍गल सर्किट प्रसारणलाइन चालु अवस्थामा छन् ।

सुनवल सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि निर्माणाधीन ३३ केभीका डबल सर्किट थप तीन वटा फिडरहरुमध्ये एउटा सञ्चालनमा आएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त डबल सर्किट लाइन उद्घाटन गरेका छन् । घिसिङले नयाँ लाइन सञ्चालनमा आएसँगै यस क्षेत्रका उद्योगहरु र स्थानीय बासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि पूर्वाधार बनेको बताए । निर्माणाधीन ३३ केभी डबल सर्किटका दुईवटा फिडरहरुको निर्माण तत्काल सम्पन्न गर्न घिसिङले निर्देशन दिए ।

सुनवल सबस्टेसनबाट यसअघि ३३ केभीका तीन वटा फिडरहरुबाट त्यस क्षेत्रमा सञ्चालित सिमेन्ट, स्टील उद्योगसहित स्थानीय रुपमा विद्युत आपूर्ति भइरहेको थियो । साथै, सबस्टेसनबाट ११ केभीका फिडर लाइन पनि निकालिएको छ ।

परासी क्षेत्रमा सञ्चालित सिमेन्ट, स्टील लगायतका ठूला तथा साना उद्योगहरुले अहिले करिब ७५ मेगावाट विद्युत खपत गरिरहेको प्रधिकरणले जनाएको छ । सञ्चालित उद्योगहरुको क्षमता विस्तार र नयाँ खुल्ने उद्योगहरुका लागि करिब ४० मेगावाट गरी त्यस क्षेत्रमा ११५ मेगावाट विद्युत खपत हुने प्रक्षेपण रहेको प्राधिकरणले उल्लेख गरेको छ । रुपन्देही जिल्लाको भैरहवासहित त्यस क्षेत्रमा करिब तीन सय मेगावाट विद्युत् खपत हुने अनुमान प्राधिकरणको छ ।

कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत कालीगण्डकी करिडोर २०० केभी प्रसारण लाइनबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्म पुग्ने छ ।

कालीगण्डकी करिडोरको यही साउनभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको प्राधिकरणले जनाएको छ ।

यस्तै हेटौंडा–भरतपुर–बर्दघाट र बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारणलाइनमार्फत नयाँ बुटवल सबस्टेसनमा विद्युत आपूर्ति हुने छ । त्यस क्षेत्रमा विद्युत आपूर्ति र नेपाल–भारतबीच विद्युत् व्यापारका लागि नयाँ बुटवल सबस्टेसन अर्को ठूलो विद्युत् हब बन्ने प्राधिकरणले बताएका छ ।

हेटौंडा–भरतपुर २२० केभी प्रसारणलाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ । भरतपुर–बर्दघाट प्रसारण लाइनलाई यही साउनभित्र र नयाँ बुटवल–बर्दघाटलाई आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य रहेको प्राधिकरणले बताएका छ ।

अहिले पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनको क्षमतालाई नधान्दा भरतपुरबाट पश्चिम (बुटवल)तर्फ विद्युत प्रवाहका लागि समस्या छ । हेटौंडा–भरतपुर–बर्दघाट र बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारणलाइन निर्माण सम्पन्न भएपछि उक्त समस्या समाधान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?