+
+

भदौले संकटग्रस्त नेपाली बक्स अफिसलाई उद्धार गर्ला ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ११ गते १२:२८

काठमाडौं । हलिउडको गर्मीयामलाई ‘बार्बी’ र ‘ओपेनहाइमर’ले उद्धार गरे । बलिउडको प्रतिष्ठालाई ‘पठान’ले फिर्ता ल्यायो । के अब भदौ महिनाले नेपाली फिल्मको संकटग्रस्त बक्स अफिसलाई उद्धार गर्ला ?

नेपाली हलमा विदेशी फिल्मको दबदबा देखिएको बेला आगामी भदौ घरेलु फिल्मका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । भदौदेखि नेपाली फिल्मको सिजन सुरु भएको मानिन्छ ।

भदौमा दयाहाङ राई स्टारर ‘नांगो गाउँ’, विपिन कार्की स्टारर ‘एक भगवत् गीता’, कार्म स्टारर ‘महानगर’, स्वस्तिमा खड्का स्टारर ‘एैंचो पैंचो’, मुकुन भुसालको ‘गणपति’, सुरक्षा पन्त र उषा रजकको ‘जुलेबी’, सलोन बस्नेत र केकी अधिकारीको ‘जय हो’, आकाश श्रेष्ठको ‘हिंड्दा हिंड्दै’ प्रदर्शन हुँदैछन् ।

यीमध्ये केही फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्ने प्रक्षेपण गरिएको छ । नेपाली फिल्मको बक्स अफिस इतिहासलाई केलाउँदा निर्माता भदौदेखि फिल्म रिलिज गर्ने होडमा लाग्छन् । कात्तिकमा दशैं तिहारजस्ता ठूला चाड पर्ने भएकाले ‘ठूला’ फिल्मको रिलिज पनि सोहीअनुसार तय गरिएको छ ।

भदौको कुरा गर्दा ‘कबड्डी ४’ र ‘जारी’जस्ता ब्लकबस्टर फिल्म सँगै दिएका दयाहाङ र मिरुना मगरलाई दर्शकले ‘नांगो गाउँ’मा देख्न पाउनेछन् । अर्कोतिर सोही मितिमा विपिन कार्की, सुहाना थापा र धीरज मगर स्टारर ‘एक भगवत् गीता’ पनि आउँदैछ । यी दुवै मल्टिस्टारर फिल्मले राम्रो ओपनिङ गर्न सक्ने विश्लेषण गरिएको छ ।

प्रशस्तै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छानिएर पुरस्कार जितेको मोहन राईको ‘महानगर’ समेत दर्शकको रोजाइमा छ । गम्भीर दर्शकको वाचलिस्टमा यो फिल्म पर्न सक्छ । कार्म र मेनुका प्रधानको जोडीले फेस्टिभलबाटै प्रशंसा बटुलेको छ ।

जे होस्, दर्शकलाई आफ्नो रुचि र विविधताअनुसार फिल्म हेर्ने सुविधा भदौमा छ । यसबाहेक भदौ २१ गते शाहरुख खान स्टारर प्रतीक्षित बलिउड फिल्म ‘जवान’ पनि आउँदैछ । जसकारण भदौमा बक्स अफिस लयमा फर्किने आशा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?