+
+

सात थरी दम्पती : कोही परिपक्‍व, कोही देखावटी

आदर्श प्रधान, मनोविज्ञ तथा परामर्शदाता आदर्श प्रधान, मनोविज्ञ तथा परामर्शदाता
२०८० साउन १२ गते १२:३५

हरेक मान्छेको रुचि, व्यवहार र विशेषता फरक-फरक हुन्छ । यही कुरा दम्पतीमा पनि लागू हुन्छ । कोही असाध्यै रोमान्टिक हुन्छन् भने कोही शंकालु । कोही एकअर्काको एकदमै हेरचाह गर्छन् भने कोही आ-आफ्नै दुनियाँमा रमाउने स्वभावका ।

दम्पतीका स्वभाव र विशेषता अरु पनि धेरै हुन्छन् ।

एकअर्काको हेरचाह गर्ने दम्पती

यस्तो दम्पतीमा श्रीमान् श्रीमतीमध्ये एकले आमाबुवाको जस्तो व्यवहार गर्छन् । उसको सबै आवश्यकताहरूको ख्याल राख्छन् । श्रीमतीले आमाको जस्तै हेरचाह गरोस् भन्ने श्रीमानले चाहन्छन् । उसको सबै आवश्यकताको ख्याल राखोस् भन्ने चाहन्छन् । कहिलेकाहीं श्रीमतीको पनि यस्तै इच्छा हुन्छ  । श्रीमानले आफूलाई बुबाले जस्तै माया गरोस् भन्ने चाहन्छिन् । हरेक समस्याबाट उनको सुरक्षा र हेरचाह गरोस् भन्ने चाहन्छिन् ।

परिपक्व दम्पती

परिपक्व दम्पती स्थिर प्रतिष्ठित हुन्छन् । उनीहरू एकअर्कालाई सम्मान गर्ने मात्र होइन, एकअर्कालाई ठाउँ र गोपनीयता कसरी दिने भन्ने पनि जानेका हुन्छन् । यस्ता जोडीले आफ्नो पार्टनरको राम्रो नराम्रो सबै कुरा राम्रोसँग बुझ्छन् । उनीहरूले सम्बन्धमा आउने उतारचढावलाई पनि सजिलै स्वीकार गर्न सक्छन् ।

आदर्श दम्पती

आदर्श जोडी एकअर्काको हरेक पक्षको पूर्ण ख्याल राख्छन् र मानिसहरूका अगाडि आदर्श जोडीको उदाहरण प्रस्तुत गर्छन् । यस्ता जोडीहरू एकअर्काको प्रेममा यसरी डुबेका हुन्छन् कि उनीहरूको निकटताले अरूको मनमा इर्ष्या जाग्छ । यस्ता दम्पतीले हरेक सानो कुरामा आफ्नो पार्टनरको प्रशंसा पनि गर्छन् ।

झगडालु दम्पती

यस्ता दम्पतीहरू सानातिना कुरामा पनि झगडा गरिहाल्छन् । एकअर्काको कमजोरी देखाउने र सानो कुरामा झगडा गर्न सुरु गरिहाल्ने गर्छन् । यस्ता दम्पतीमा परिपक्वताको कमी हुन्छ । उनीहरू पार्टनरको भावनाको वास्ता गर्दैनन् । यस्ता जोडी प्रायः अनावश्यक कुरामा झगडा गर्छन् ।

देखावटी गर्ने दम्पती

केही दम्पती भने अलि देखावटी गर्ने खालका हुन्छन् । अरूको अगाडि एकदमै मिलेको जस्तो गर्ने, सामाजिक सञ्जालमा पनि धेरै माया गरेको जस्तो दर्शाउने । देखावटी काम धेरै मन पराउने । यस्ता दम्पती एकअर्काको लागि भन्दा पनि समाजको लागि आदर्श जोडी बन्ने प्रयास गर्छन् ।

पेन्डुलम दम्पती

यस्ता दम्पती कहिले एकअर्काको हेरचाह गर्छन्, कहिले एकअर्कालाई बेवास्ता गर्छन् अर्थात् पेन्डुलम जस्तै । उनीहरूको मुड बदलिरहन्छ, कहिले माया, कहिले बेवास्ता । यस्तो जोडीमा एउटा पार्टनरले अर्कोको धेरै ख्याल राख्छ भने अर्को पार्टनरले उसको हेरचाहमा ध्यान दिंदैन । कहिलेकाहीं दोस्रो पार्टनरले केयर गर्न थाल्छ भने पहिलो पार्टनरले बेवास्ता गर्छ । उनीहरूको सम्बन्ध कस्तो छ भनेर उनीहरू नै दुविधामा हुन्छन् ।

शंकालु दम्पती

केही दम्पती शंकालु पनि हुन्छन् । पार्टनरको हरेक कुरामा शंका गर्छन् । एकअर्काको कुरामा विश्वास नगर्ने र मेरो पार्टनरले मलाई धोका त दिइरहेका छैनन् भन्ने कुरा उनीहरूको मनमा चलिरहन्छ ।

आदर्श दम्पती बन्न यी कुरामा ध्यान दिनुपर्छ

आफ्नो दाम्पत्य जीवनलाई आदर्श र सुखमय बनाउन आफू जस्तो हुनुहुन्छ त्यस्तै रहनुपर्छ साथै आफ्नो पार्टनरलाई ऊ जस्तो छ त्यसैगरी स्वीकार गर्नुपर्छ । पार्टनर आफूजस्तै होस् भन्ने चाहना राख्नु हुँदैन किनकि हरेक व्यक्ति फरक हुन्छ । राम्रो सम्बन्ध स्वीकृतिबाट सुरु हुन्छ   जोडीहरूले एकअर्कालाई परिवर्तन गर्ने प्रयास गर्नु हुँदैन वा एकअर्काबाट पूर्णताको आशा गर्नु हुँदैन । एकअर्काको फरक व्यक्तित्वको कदर गर्नुपर्छ र भिन्नताको आनन्द लिनुपर्छ ।

दम्पतीमा साझेदारी महत्त्वपूर्ण हुन्छ । यो मेरो हो र यो तेरो हो भनेर दिमागमा आउनु हुँदैन । जे छ त्यो हामी दुवैको हो भन्ने सोच राख्नुपर्छ । हरेक कुरामा दुवैको समान अधिकार हुनुपर्छ । यसले तपाईंको बन्धनलाई बलियो बनाउँछ ।

पार्टनरलाई मन पर्ने काम गर्न दिनुपर्छ । रोकटोक गर्नु हुँदैन । यदि श्रीमान् साथीहरूसँग पार्टी गर्न चाहन्छन् भने गर्न दिनुपर्छ । त्यस्तै श्रीमती पनि साथीसँग बाहिर घुम्न जान चाहन्छिन् भने जान दिनुपर्छ । एकअर्कालाई सानो सानो कुरामा रोकटोक गर्नु हुँदैन ।

पार्टनरको कमजोरी र असुरक्षा बुझ्नुपर्छ । तपाईंको पार्टनर कुन कुरामा छिट्टै रिसाउँछ र तपाईंको कुन व्यवहारले उसमा असुरक्षाको भावना बढाउँछ, यस्तो अवस्थामा पार्टनरलाई दु:खी हुने कुरा र व्यवहार नगर्नु नै राम्रो हुन्छ । धेरै पटक मानिसहरू आफ्नो रमाइलोको लागि पार्टनरलाई जलाउने उद्देश्यले यस्ता काम गर्छन् । उनीहरूलाई लाग्छ कि पार्टनर जलाउँदा उनीहरूको माया बढ्छ तर यो सोच गलत हो । यसो गर्नाले उनीहरूलाई चोट पुग्छ, माया बढ्दैन ।

आफ्नो पार्टनरको स्थानमा आफूलाई राखेर सोच्नुपर्छ । जब आफ्नो पार्टनरसँग विवाद, बहस वा झगडा हुन्छ, उसको प्रतिक्रिया पूर्णतया सही वा गलत हो भनी रिसाउनु हुँदैन । यस्तो परिस्थितिमा सधैं आफूलाई एकअर्काको ठाउँमा राखेर सोच्नुपर्छ । यदि पार्टनरको ठाउँमा तपाईं हुनुहुन्थ्यो भने, तपाईंले कस्तो प्रतिक्रिया दिनुहुन्नथ्यो र तपाईंलाई कस्तो महसुस हुन्थ्यो भनेर सोच्नुपर्छ । यसले समस्या र आपसी विवादलाई धेरै हदसम्म समाधान गर्छ ।

समय-समयमा पार्टनरलाई  सरप्राइज दिनुपर्छ । विशेष अवसरमा मात्र सरप्राइज दिनु आवश्यक छैन । पार्टनरलाई सरप्राइज दिएको दिन नै विशेष हुन्छ । कहिले उपहार दिने त  कहिले घरमा केही विशेष गर्न सकिन्छ, जसले गर्दा रोमान्स बढ्छ र दुवैलाई खुसी मिल्छ ।

(प्रधान होलिस्टिक माइन्ड्स एण्ड लाइफ सेलिब्रेसन सेन्टरमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?