+
+
पुस्तक समीक्षा :

बिर्तामोड उद्भव र विकास : इतिहासको साक्षी

इतिहास लेखन बडो कठिन कार्य हो । स्रोतको खोजी, तथ्यहरूको परीक्षण र पुष्टि इतिहास लेखनको मूल आधार हो । जसको जगमा उभिएर लेखकले गरेको यो चुनौतीपूर्ण कामको प्रशंसा इतिहासले गर्नेछ ।

एकराज प्रधान एकराज प्रधान
२०८० साउन १३ गते १७:२५

इतिहास लेख्ने कुरामा हत्तपत्त कसैले आँट गर्दैनन् । कारण, यो संवेदनशील विषय त हुँदै हो, यसका लागि आवश्यक अध्ययन, अनुसन्धान, त्यसका लागि खर्चिनुपर्ने समय र गर्नुपर्ने तथ्यगत विश्लेषणको पाटो अर्को गम्भीर विषय हो ।

इतिहास बनाउनु जति ठूलो कुरा हो, जोगाउने जिम्मेवारी लिनु पनि उत्तिकै महत्वपूर्ण । अनुसन्धानमूलक लेखनमा रुचि भएका लेखक तीर्थ सिग्देलले ‘बिर्तामोड : उद्भव र विकास’ पुस्तक मार्फत झापा बिर्तामोडको इतिहासलाई बचाइराख्ने प्रयास गरेका छन् । जुन प्रयासलाई भावी पुस्ताले सधैं सम्झिरहनेछ ।

बिर्तामोड पूर्वको उदाउँदो शहर हो । बिर्तामोडलाई बुझ्न ६ दशकअघि फर्कनुपर्ने हुन्छ । बिर्तामोड कसरी बन्यो, कसले बनायो र कसरी अघि बढ्यो भन्ने इतिहास पुस्तकमा समेटिएको छ । प्रमाणका रूपमा प्रशस्तै चित्रहरू पेश गरिएको छ ।

विकास भनेको भौतिक विकास मात्र होइन, विकास नवीनतम सोचको उपज हो । अहिलेको बिर्तामोड बनाउन नवीनतम सोच राख्ने पहिलाका दिग्गज व्यक्तित्वहरूले बडो मिहिनेत गरेका छन् । जसको उपज अहिले बिर्तामोड व्यावसायिक हब मात्र नभई शैक्षिक र स्वास्थ्य उपचारको केन्द्र समेत बनेको छ । बिर्तामोडले आफूलाई अन्तर्राष्ट्रिय व्यापार केन्द्रको रूपमा विकसित गरिरहेको छ । कृषि र औद्योगिक क्षेत्रमा समेत उत्तिकै अब्बल बनाएर उभ्याएको छ ।

पुस्तक औलो र बिफरको प्रकोपको दर्दनाक अवस्थाबाट सुरु भई यहाँका भूमिपुत्रहरू, चन्द्रशमशेरको बिर्ताको कुरादेखि आर्थिक, शैक्षिक, राजनीतिक पाटाहरूको विकासक्रमलाई समेट्दै अघि बढ्छ । बिर्तामोड नगरपालिका हुनुअघि तीन गाविसमा विभाजित थियो । राज्य पुनर्संरचनाको क्रममा अनारमनी, चारपाने र गरामनी गाविस मिलाएर बिर्तामोड नगरपालिका बनेको हो । लेखकले यी तीनै गाविसको छुट्टाछुट्टै शीर्षकमा इतिहास बुझाउने कोसिस गरेका छन् । जुन पुस्तकको अर्को महत्वपूर्ण पाटो हो ।

बिर्तामोड ठूल्ठूला राजनीतिक आन्दोलन र विद्रोहहरूको साक्षी हो । जसक्रममा थुप्रै सपूत गुमाउनुको पीडा बिर्तामोडले खेपेको छ । यी विषयहरूलाई उठान गर्दै ती तमाम इतिहास निर्माताहरू, जसले बिर्तामोड बनाउन योगदान गरे, उनीहरूप्रति लेखकले पुस्तक समर्पित गरेका छन् । जुन आफैंमा प्रशंसनीय छ ।

कुनै पनि स्थानको संस्कृति र पहिचान नै त्यस क्षेत्रको वास्तविक परिचय हो । लेखक यस कुरालाई महत्वका साथ दर्शाउन पनि सफल बनेका छन् । बिर्तामोडको सुरुवाती बासिन्दाका रूपमा रहेका थारू, राजवंशी, धिमाल, सन्थाल लगायत जातिको बसोबास र उनीहरूको संस्कारलाई पुस्तकले न्याय गरेको छ किनभने ती भूमिपुत्रहरू नै यो भूमिका सच्चा पहरेदारहरू हुन्, जसले भयानक रोगहरूसँग लडे र परम्परालाई निरन्तरता दिए ।

‘इतिहासको पाना’ शीर्षक दिएर परशुराम ढकाल, काशीलाल चौधरी, टुङ्गबहादुर बस्नेत, हर्कलाल गिरी, भूपालमान सिंह कार्की जस्ता बिर्तामोडका इतिहासका साक्षीहरूको कुरा राखेर लेखकले पुस्तकलाई जीवन्त बनाएका छन् । पुस्तकमा राजनीतिक क्षेत्रका अगुवाहरूको संक्षिप्त परिचय सहितको इतिहास थप रोचक पक्ष रहेको छ । राजनीतिक अगुवाहरू सीके प्रसाई, रामबाबु प्रसाई, नेत्र घिमिरे, रामनाथ दाहाल लगायत आजको पुस्ताले गरेको त्याग र समर्पणको कथा अति नै उपयोगी छ ।

पत्रकारिता क्षेत्रमा तीन दशकको अनुभव सँगालिसकेका लेखक सिग्देलले कुनै ठाउँको इतिहास बन्न कस्ता-कस्ता कुराहरूको भूमिका रहन्छ भन्ने तथ्यलाई मिहिनेत साथ प्रस्तुत गरेका छन् । बिर्तामोडको मत पाएर पहिलो मन्त्री को बने भन्नेदेखि स्वास्थ्य, शैक्षिक क्षेत्र, सञ्चार, वित्तीय क्षेत्र, पेशागत क्षेत्र, सामाजिक संघ-संस्थाहरूको इतिहासलाई पनि उनले संक्षिप्त रूपमा पुस्तकमा समेट्न भ्याएका छन् । मूलतः यो पुस्तकको गहन पक्ष खोज अनुसन्धान हो । यो विषयमा लेखकको पत्रकारिता क्षेत्रको अनुभव गाँसिएको छ ।

इतिहास लेखन बडो कठिन कार्य हो । स्रोतको खोजी, तथ्यहरूको परीक्षण र पुष्टि इतिहास लेखनको मूल आधार हो । जसको जगमा उभिएर लेखकले गरेको यो चुनौतीपूर्ण कामको प्रशंसा इतिहासले गर्नेछ । मान्छे जतिसुकै आधुनिक भए पनि इतिहासको महत्व यदि बुझ्दैन भने उसले आफ्नो जिम्मेवारीलाई बुझ्दैन ।

‘बिर्तामोड ः उद्भव र विकास’ ती सम्पूर्ण पाठकहरूका लागि हो, जो इतिहास बनाउन चाहन्छन्, बिर्तामोडको इतिहास बुझ्न चाहन्छन् । यो पुस्तक मात्र होइन, ऐतिहासिक दस्तावेज हो । पुस्तकले केवल बिर्तामोडको इतिहासलाई झक्झक्याएको छ्रैन, अब देशका महत्वपूर्ण ठाउँहरूको इतिहास यसैगरी लेखिनुपर्छ भनेर समेत घच्घच्याएको छ ।

लेखक सिग्देलले छुट्टाछुट्टै शीर्षकमा विभाजित गरेर आफूले बुझ्न चाहेको विषयवस्तु छुट्याएर पढ्न सकिने वातावरण पुस्तकमा मिलाइदिएका छन् । बिर्तामोडको इतिहासलाई अनेक कोणबाट चित्रणको प्रयत्न लेखकले गरेका छन् । जसअन्तर्गत २४ वटा शीर्षकलाई उनले २२० पानामा समेट्दै बिर्तामोडको इतिहास र यसको सामथ्र्यलाई बुझाउने कोसिस गरेका छन् ।

इतिहास लेखन आफैंमा पूर्ण हुँदैन नै । यसमा थपिने र तथ्यलाई पुष्टि गर्ने कुराहरू जोडिइरहन्छन् । लेखनका क्रममा कतिपय विषयहरू छुट्छन् । जसलाई लेखकले आगामी संस्करणमा समेट्ने बाचा गरेका छन् किनभने इतिहास वर्तमानको निरन्तरता हो । अझ माथिबाट लादिएको इतिहासको खुराकहरूका विपक्षमा तलैबाट आफ्नो भूगोलको इतिहास खडा गर्नु आफैंमा चुनौतीपूर्ण थियो नै । त्यो सत्प्रयासका लागि लेखक धन्यवादका पात्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?