+
+

गढवा गाउँपालिकालाई सेरामिकको हब बनाउन पहल सुरु

ललितकला प्रज्ञा प्रतिष्ठानसँग सहकार्य, केयूको पनि चासो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १६ गते ७:००
माटोको भाँडा बनाउने काममा संलग्न दाङको गढवा गाउँपालिकाका एक व्यक्ति । फोटो :रासस

१६ साउन, काठमाडौं । गढवा गाउँपालिकाले परम्परागत रुपमा चल्दै आएको माटाका भाँडा बनाउने व्यवसायलाई व्यवस्थित र आधुनिकीकरण गर्न पहल सुरु गरेको छ । ललितकला प्रज्ञा प्रतिष्ठानसँगको संयुक्त पहलमा परम्परागत सिपलाई आधुनिकीकरण गर्ने र भविष्यमा पालिकालाई नै सेरामिकको हब बनाउने योजना अनुसार काम सुरु गरिएको पालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए ।

ललितकला प्रज्ञा प्रतिष्ठानले पनि देशभरका विभिन्न ७ स्थानमा कलाको हब बनाउन अघि सारेको योजना अनुसार गढवा गाउँपालिकामा सेरामिकको हब बनाउने नीतिगत निर्णय गरिसकेको छ ।

त्यसको सम्भाव्यता अध्ययन गरी कार्ययोजनाको खाका सहितको प्रतिवेदन पेश गर्न गढवा गाउँपालिकाका वडा नं. ३ का वडा सदस्य आशाराम चौधरीको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिनेश्वर महतो, अग्रज कलाकार गोपाल कलाप्रेमी, गढवा गाउँपालिकाको वडा नं ६ का वडा सदस्य मानु कुमाल र वडा नं ३ का वडा सदस्य तथा कलाकार चुनुराम थारु सदस्य छन् । उक्त टोलीलाई यही साउन मसान्तभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

समितिले प्रतिवेदन बुझाइसकेपछि गढवा गाउँपालिकाको लोककला ( खासगरी माटोका भाँडा बनाउने काम)लाई प्रवर्द्धन गर्न थप प्रक्रिया अघि बढ्ने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवम् सदस्य सचिव देवेन्द्र थुम्केलीले जानकारी दिए । थुम्केलीले अनलाइनखबरसँग भने, ‘माटाका भाँडा बनाउने परम्परागत कलालाई संरक्षण गर्ने, प्रविधिमैत्री बनाउने र त्यसलाई आर्थिक उपार्जनसँग जोड्ने लक्ष्य अनुसार गढवा गाउँपालिकालाई सेरामिकको हब बनाउने निर्णय गरेका छौं ।’

ललितकला प्रज्ञा प्रतिष्ठानको टोलीसँग गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल (वायाँबाट तेस्रो) ।

गढवा गाउँपालिकामा थारु कुमाल र पहाडे कुमालको बसोबास छ । थारु कुमालहरु मात्र माटाका भाँडा बनाउने काममा संलग्न छन् । गढवा गाउँपालिकाका खैरा, पत्रिङ्गा र गढवा गाउँका थारु कुमालहरु आफ्नो मुख्य पेशाको रुपमा माटाका भाँडा बनाउने काममा वर्षौंदेखि संलग्न छन् ।

गढवा र पत्रिङ्गाको तुलनामा खैरा गाउँ माटोका परम्परागत भाँडा बनाउने ठाउँको रुपमा अझ बढी चर्चित छ । यहाँ बनेका घैंटा, गमला, खुत्रुके, पाला लगायतका भाँडाहरु काठमाडौं, बुटवल, नेपालगञ्जका ब्यापारीहरु ट्रक लिएर खरिद गर्न आउँछन् । उनीहरुको त्यो सिपलाई आधुनिकीकरण गर्दै कप, प्लेट, घर सजावटका सामान पनि उत्पादन गर्न प्रोत्साहित गर्ने गाउँपालिकाको योजना छ ।

गढवा गाउँपालिकाका अध्यक्ष पोख्रेलले उनीहरुको परम्परागत ढंगको कामलाई आधुनिकीकरण गर्ने र सिप संरक्षण गर्दै सेरामिकको हब बनाउन लागिएको बताए । ‘उनीहरुको पेशालाई स्ट्याण्डर्ड बनाउँदै पालिकालाई नै सेरामिकको हब बनाउन ललितकला प्रज्ञा प्रतिष्ठानसँग संयुक्त पहल थालिएको हो,’ अध्यक्ष पोख्रेलले भने ।

माटाका भाँडा पोल्न परम्परागत भट्टीमा काठदाउरा र भुसको प्रयोग हुँदै आएको छ । तर काठदाउराको जोहो गर्न गाह्रो हुने र त्यसबाट वातावरण पनि प्रदूषित हुने भएपछि पहिलो चरणमा परम्परागत भट्टीको सट्टा विद्युतीय भट्टी निर्माण गरिएको छ ।

सम्भाव्यता अध्ययन समितिका संयोजक एवम् वडा नम्बर ३ का वडा सदस्य आशाराम चौधरीका अनुसार परम्परागत ढंगले माटाका भाँडा पोल्न गाह्रो भयो भनेर कुमाल समुदायले नै आधुनिकीकरण गरिदिन माग गरेका थिए । उनीहरुकै माग अनुसार पालिकाले इलेक्ट्रिक भट्टीका लागि पहल थालेको थियो । त्यसपछि प्रदेश सरकारले खैरा, गढवा र पत्रिङ्गा तीनवटै गाउँमा इलेक्ट्रिक भट्टी दिएको छ ।

विशेष खालको छ खैराको माटो

नेपालमा माटोका सामग्रीको लामो इतिहास र विकसित परम्परागत प्रविधिहरु रहे पनि यो क्षेत्र भाँडाकुँडा बनाउनमात्र सीमित छ । विदेशमा भने कलाकृति र उद्योगको रुपमा सेरामिक फस्टाएको छ ।

गढवा, पत्रिङ्गा र खैरा गाउँका कुमाल समुदायले पहेंलो र कालो रंगको माटोबाट भाँडा बनाउँदै आएका छन् । तर अन्यत्र भन्दा खैराको माटो भाँडा बनाउन प्रयोग गरिएको प्रविधि सयौं वर्ष पुरानो र माटो पनि विशेष खालको रहेको ललितकला प्रज्ञा प्रतिष्ठानका कलाकार एवम् सम्भाव्यता अध्ययन समितिका सदस्य गोपाल कलाप्रेमी बताउँछन् ।

खैराको विशेषताबारे बताउँदै उनले भने, ‘खैराको परम्परागत प्रविधि सयौं वर्ष पुरानो छ । यति वर्ष पुरानो भनेर किटान त छैन तर त्यहाँ प्रयोग भएको प्रविधिहरु हेर्दा बुद्धको पालाको भन्दा पनि अगाडिको हुनसक्छ ।’

उनले अगाडि भने, ‘त्यहाँ दुई थरी माटो छ । एउटा रंग बनाउन र अर्को भाँडा बनाउन प्रयोग हुन्छ । एकदमै पातला भाँडा पनि बनाउन सकिने त्यहाँको माटोको विशेषता हो । यस्तो माटो नेपालका अरु ठाउँमा पाइएको छैन । अर्को कुरा त्यहाँको माटोमा झण्डै ११ सय डिग्री सेल्सियससम्म ताप सहन सक्ने क्षमता छ ।’ गढवा गाउँपालिकाको परम्परागत कला र माटोको विशेषता हेर्दा सेरामिकको हब बन्न सक्ने उनको भनाइ छ ।

खैरा गाउँदेखि उत्तरतर्फ राप्ती नदी किनार नजिकबाट स्थानीयले माटो उत्खनन गर्दै आएका छन् । माटो निकाल्नका लागि खैरावासीलाई वर्षौंदेखि ठाउँ छुट्याइदिएको छ । त्यहाँको माटो भाँडा बनाउन काठमाडौं उपत्यकासम्म ल्याउने गरिएको छ ।

काठमाडौं विश्वविद्यालयको पनि चासो

गढवा गाउँपालिकाको माटो र परम्परागत सिपमा काठमाडौं विश्वविद्यालयले पनि चासो दिएको छ । स्कुल अफ  फाइन आर्टस् अन्तर्गत क्राफ्ट एण्ड डिजाइनमा यसै वर्षदेखि पढाइ सुरु गरेको काठमाडौं विश्वविद्यालयले विद्यार्थीहरुलाई गढवा गाउँपालिकामै लगेर अध्ययन अनुसन्धानमा संलग्न गराउने सोच बनाएको छ ।

काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्टसकी डिन एकुमाया पुनले अनलाइनखबरसँग भनिन्, ‘सेरामिकको पढाइका लागि आवश्यक पर्ने माटो हामीले दाङबाटै ल्याउने गरेका छौं, त्यसैले सहकार्य गर्न खोजेका हौं ।’

काठमाडौं विश्वविद्यालयको क्राफ्ट एण्ड डिजाइन डिपार्टमेन्ट प्रमुख कौशल जोशीले मौलिक कला संरक्षण र संवर्द्धन गर्दै व्यवसायिक कसरी बनाउन सकिन्छ भनेर गढवा गाउँपालिका अध्यक्ष पोख्रेलसँग एकपटक छलफल भएको बताए । ‘विद्यार्थीहरुलाई पढाउने, विज्ञहरुसहितको एक्सचेन्ज प्रोग्राम चलाउने, यो पेशालाई सम्मानित बनाउने र गढवा गाउँपालिकाको मौलिक कलालाई संरक्षण गरी संग्रहालय बनाउनेसम्मको सहकार्य गर्न सकिन्छ कि भनेर प्रारम्भिक कुराकानी भएको छ,’ जोशीले भने ।

काठमाडौं विश्वविद्यालयका अर्का एक जना डिन जनार्दन लामिछानेले पनि गढवा गाउँपालिकालाई आवश्यक सहयोग गर्न विश्वविद्यालय तयार रहेको बताए । ‘काठमाडौंमा माटाका भेराइटीका जुन सामान बनाइन्छ, त्यो माटो दाङको गढवाबाट ल्याइँदो रहेछ, त्यहाँका मान्छे पनि एकदमै सिपालु रहेछन्,’ लामिछानेले अनलाइनखबरसँग भने, ‘त्यो सिप हाम्रा विद्यार्थीहरुले पनि सिकुन्, बुढापाकाबाट नयाँ पुस्तामा सिप हस्तान्तरण होस्, माटाका भाँडा बनाउने सिप भएकाको भविष्य पनि उज्जवल छ, यो सम्मानित पेशा पनि हो भन्ने सन्देश दिन खोजेका छौं ।’

सेरामिक के हो ?

माटाका भाँडा बनाउने र त्यसमा गरिने कलाकृति नै सेरामिक हो । त्यसका लागि छायामा सुकाउने, घाम सुकाउने, आगोमा पोल्ने, विभिन्न रंगले बुट्टा भर्ने र फेरि आगोमा पोल्ने लगायतका विभिन्न प्रक्रिया पूरा गरिन्छ ।

पछिल्लो १० वर्षयता नेपालमा पनि होटल, निजी तथा व्यावसायिक आवासमा सेरामिकको प्रयोग बढ्दो छ । कचौरा, कप, प्लेट, फूलदानी, किस्ती लगायतका सामान नेपालमा आयात हुने गरेको छ । नेपालमा सेरामिक तयारी वस्तु सबैभन्दा धेरै भारतबाट र त्यसपछि चीनबाट आयात हुने गरेको छ ।

सेरामिक भाँडा बनाउन आवश्यक कच्चा पदार्थ सामान्य माटो बाहेक सबै भारतबाट आयात हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?