+
+
रोहित हत्या प्रकरण :

साथीलाई पेस्तोल तेर्स्याए, प्रतिकार गर्दा गोली हाने

हरि अधिकारी हरि अधिकारी
२०८० साउन १७ गते १९:४३

१७ साउन, विराटनगर । ५ साउनमा विराटनगर महानगरपालिका–५ का रोहित चौधरीको २८ औं जन्मदिन थियो । बिहान आफन्तलाई लड्डु बाँडेर उनी साथीसँग घुम्नका लागि निस्किए । उनीहरु दुबैजना नोबेल मेडिकल कलेजमा काम गर्थे । त्यो दिन छुट्टी लिएर उनीहरु धनकुटाको मूलघाट गए ।

फर्कदै गर्दा धरान इटहरी सडक खण्डको सेउती खोलाको पुल तरेपछि रोहित मोटरसाइकल रोकेर पिसाब गर्न जंगलभित्र पसे । साथी बाटोमै पर्खिरहेकी थिइन् । फर्केर आउँदा रोहितले साथीको गर्धनमा खुकुरी राखेर तीन जना केटाहरुले घेरेको देखे ।

साथीको साथमा रहेका गहना र सामान खोसेपछि दौडिएर आएर सामान खोस्नेमाथि जाइलागे । तीन जनाको समूहमा रहेका दीपक तिम्सिनाले रोहितलाई समाते ।

अन्य दुईले उनको साथीको साथमा रहेको पर्स मोबाइल र सिक्री खोसे । पेस्तोल तेर्साएर समाते पनि उनले प्रतिकार गरे । रोहितले प्रतिकार गर्दा तिम्सिनाले गोली चलाइदिए । घटना साउन ५ गते करिब सवा ५ बजे तिरको हो ।

गोली लागेर घाइते रोहितको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगियो, तर चिकित्सकले मृत घोषणा गरे ।

रोहितको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ, एक जना भने फरार छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी राजेशनाथ बास्तोलाले लुटपाटपछि हत्या भएको बताए । हत्यामा संलग्नताको आशंकामा लेटाङ नगरपालिका– १ घर भएका ३५ वर्षीय दीपक तिम्सिना र धरान उपमहानगरपालिका–१४ का ३४ वर्षीय अनसन तामाङलाई पक्राउ परेका छन् । ‘लुटपाटको प्रतिकार गर्दा हत्या भएको देखिन्छ’, उनले भने ।

पक्राउ परेका दुवै लागु औषध प्रयोगकर्ता रहेको डीआईजी बास्तोलाले बताए । पक्राउ परेका तिम्सिना जबर्जस्ती करणी मुद्दामा १० वर्ष र अनसन लागु औषध मुद्दामा ६ महिना कारागार बसेका थिए ।

भारतबाट पेस्तोल ल्याएर लुटपाटको धन्दा

प्रहरीका अनुसार तिम्सिना कैद सजाय काटेर दुई महिनाअघि मात्रै छुटेका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार लागूऔषध प्रयोगकै क्रममा तिम्सिना र तामाङबीच नहडा भन्ने स्थानमा चिनजान भएको थियो । त्यसपछि उनीहरु नजिकिए, लुटपाट गर्ने योजना बनाएर भारतको फारबिसगञ्जबाट पेस्तोल लिएर आए ।

पछिल्लो महिना उनीहरुले तीन फरक फरक स्थानमा पेस्तोल देखाएर लुटपाट गरे । ती स्थानमा सफल पनि भए । प्रहरीले निगरानी बढाएपछि भने साउन ५ गते स्थान परिवर्तन गरेर सेउती पुल नजिकै पुगेका थिए ।

डीआईजी बास्तोलाका अनुसार पक्राउ परेकाहरु सिलसिलेवार चोरी र लुटपाटको घटनामा संलग्न छन् ।

उनका अनुसार असार ८ गते धरान उपमहानगरपालिका–१७ खैरेनी जंगलमा नहडाबाट धरान आउँदै गरेकी एक महिलाको साथबाट सुनका गहना र नगद लुटपाट गरेका थिए ।

असार २३ गते धरान–१७ को खैरेनी जंगलमा धरानबाट प्रकाशपुरतर्फ जाँदै गरेका श्रीमान श्रीमतीलाई रोकेर सुनका गरगहना, नगद र मोबाइल फोनलगायतका सामग्री लुटपाट गरेका थिए ।

उनीहरुले असार ३१ गते धरान उपमहानगरपालिका– १७ कै कालाबजार सडक खण्डमा एक पुरुषलाई रोकेर ५२ हजार रुपैयाँ नगद, ५ हजार रुपैयाँको प्रसुतिका औषधि कपडा चेकबुक लगायत सामग्री लुटपाट गरेका थिए ।

तीन वटै घटनामा उनीहरुले पेस्तोल र घरेलु हतियार प्रयोग गरेका थिए । प्रहरीका अनुसार सोही समूहले सुनसरीको कालाबञ्जारदेखि मोरङको पथरीसम्मको जंगलको भित्री सडकमा लुटपाटको धन्दा चलाएको थियो ।

यो समूहमा जम्मा ९ जना सदस्य रहेको प्रहरीको दाबी छ । समूहमा जोडिएका सबै अपराधिक पृष्ठभूमिका छन् । ‘पथरीदेखि कालाबञ्जारसम्मको जंगल क्षेत्रको सडकमा लुटपाट मच्चाउने गिरोह यही हो’, प्रहरीले भन्यो, ‘नाइके तिम्सिना हुन्, ठाउँ–ठाउँमा तीन–तीन जनाको टोली बनाएर लुटपाट गर्ने गरेको देखियो ।’ गिरोहका अन्य सदस्यको खोजी भइरहेको प्रहरीले बताएको छ ।

डीआईजी बास्तोलाका अनुसार घटनाको अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाको संयोजकत्वमा नेपाल प्रहरी प्रदेश कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय इटहरी र कोशी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह (आरआईटी) को संयुक्त अनुसन्धान टोली परिचालन भएको थियो ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?