+
+

अमेरिकासँगको चिपयुद्धमा चीनको नयाँ चाल, विश्वमा कस्तो असर पर्ला ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १३:३१

काठमाडौं । अहिलेको सूचना प्रविधिको युगमा प्रविधिको मुटु नै मानिएको कम्प्युटर चिप अर्थात् सेमिकन्डक्टरको लडाइँमा अमेरिका र चीनबीच तीव्र रुपमा संघर्ष चलिरहेको छ, जसलाई ‘चिप वार’ भन्ने गरिएको छ । अमेरिकासँग बढ्दो चिपयुद्धका बीच चीनले एउटा नयाँ निर्णय गरेको छ । जसअनुसार चीनले सेमिकन्डक्टर उद्योगका लागि निकै आवश्यक मानिने दुईवटा धातुको निर्यातमा रोक लगाउने तयारी सुरु गरेको छ ।

नयाँ नियम अनुसार अब चीनबाट ग्यालियम तथा जर्मेनियमको निर्यातका लागि विशेष लाइसेन्स लिनु आवश्यक हुनेछ । यी दुई रासायनिक तत्वहरुको प्रयोग चिप तथा सैन्य सामग्रीहरुमा पनि गर्ने गरिन्छ ।

अमेरिकाले उसको एडभान्स्ड माइक्रोप्रोसेसर प्रविधिमाथिको पहुँचलाई सीमित गरिदिएसँगै चीनले दुई अति महत्वपूर्ण रासायनिक पदार्थको निर्यातका सम्बन्धमा नयाँ नियम लागू गरेको हो ।

चीन, विश्वको सबैभन्दा ठूलो खेलाडी

हाल विश्वमा ग्यालियम तथा जर्मेनियम तत्वको आपूर्तिमा चीन सबैभन्दा ठूलो खेलाडीको रुपमा रहेको छ ।

क्रिटिकल र मेटेरियल्स अलाएन्स (सिआरएम) का अनुसार चीनले विश्वको करीब ८० प्रतिशत ग्यालियम तथा ६० प्रतिशत जर्मेनियमको उत्पादन गर्दछ ।

यी रासायनिक तत्वलाई माइनर मेटल्स अर्थात् सुक्ष्म धातु भनिन्छ । यी धातुहरु प्रकृतिमा आमरुपमा पाइँदैनन् र एक जटिल प्रक्रियाद्वारा अन्य धातुहरु प्रशोधन गरेर यसलाई निकालिन्छ ।

जर्मेनियमको एक टुक्रा

अमेरिकाका अलावा जापान तथा नेदरल्याण्ड्सले चीनका चिप प्रविधि निर्यातमा प्रतिबन्ध लगाएका छन् । जापान तथा नेदरल्याण्ड्स मुख्य चिप उपकरण निर्माता एएसएमएलका केन्द्र हुन् ।

लगानी कम्पनी बिएमओ क्यापिटल मार्केट्सका कोलिन हेमिल्टनका अनुसार चीनको तर्फबाट गरिएको घोषणा आकस्मिक होइन बल्कि नेदरल्याण्ड्स समेत अन्य देशहरुले चिनमा चिप निर्यातमा पहिलेदेखि नै लगाइरहेको प्रतिबन्धको जवाफ हो ।

उनी भन्छन्– चीनको जवाफ प्रष्ट छ कि यदि तिमीहरु मलाई चिप्स दिँदैनौँ भने मैले तिमीहरुलाई चिप्स बनाउने सामान दिन्नँ ।

‘संशाधन राष्ट्रवाद’बाट सिर्जित चिन्ता

विश्वका दुईवटा सबैभन्दा ठूला अर्थव्यवस्था भएका मुलुकको बीचमा चलिरहेको जस्तोलाई त्यस्तै नीतिले कथित संशाधन राष्ट्रवादलाई लिएर चिन्ता खडा गरिदिएको छ ।

संशाधन राष्ट्रवादमा सरकारहरुले महत्वपूर्ण स्रोतसाधन तथा सामानहरुमा नियन्त्रण कायम गर्दछन् ताकि अन्य मुलुकहरुमा आफ्नो प्रभाव पार्न सकियोस् ।

बर्मिंघम विश्वविद्यालयका अनुसन्धानकर्ता डाक्टर गेभिन हार्परका अनसार विश्वका शक्तिशाली मुलुकहरु तीव्र गतिमा विश्वव्यापीकरणको मान्यताबाट टाढा भागिरहेका छन् ।

उनी भन्छन्– अन्तराष्ट्रिय बजारले कुनै पनि सामान प्रदान गर्दछ भन्ने अवधारणा पुरानो कुरा भैसकेको छ । यदि तपाईंले यो तस्वीरलाई एउटा ठूलो क्यानभासमा हेर्नुभयो भने पश्चिमी उद्योगहरुको अस्तित्वमाथि नै खतरा पर्न सक्ने देखिन्छ ।

ग्यालियमबाट बनेको चिप्स

ग्यालियम आर्सेनाइड भनेको ग्यालियम तथा आर्सेनिक मिलाएर बनाइने एक यौगिक हो जुन हाई फ्रिक्वेन्सी कम्प्युटर चिप्समा प्रयोग गरिन्छ । साथै यसको प्रयोग एलईडी तथा सोलार प्यानलमा पनि हुनछ ।

सीआरएमका अनुसार विश्वका कमै कम्पनीहरुले मात्रै विद्युतीय सामानमा प्रयोग गर्न सकिने स्तरमा ग्यालियम आर्सेनाइडको उत्पादन गरिरहेका छन् ।

जर्मेनियमको प्रयोग माइक्रोप्रोसेसर तथा सोलार सेल्स बनाउनमा हुुन्छ । ह्यामिल्टनका अनुसार सेनाका लागि निकै आवश्यक पर्ने भिजन गगल्स बनाउनमा पनि यसको प्रयोग हुन्छ ।

उनी भन्छन्– क्षेत्रीय आपूर्तिका अनुसार एक विकल्प पनि हुनु आवश्यक रहन्छ । उच्च गुणवत्ताका सेमिकन्डक्टरको महत्वको विकल्प निकै कठिन छ अझ जब हावी भएको हुन्छ । पुनचक्रणका लागि यसमा सायदै जोड दिइएको हुन्छ ।

अमेरिकी कोसिस

अमेरिकासँग जर्मेनियमको भण्डार रहे पनि ग्यालियमको भण्डार नरहेको स्वयं पेन्टागनका प्रवक्ताले गत महिना बताएका थिए । उनले भनेका थिए– रक्षा मन्त्रालयले तीव्र रुपमा माइक्रोइलेक्ट्रोनिक्स तथा स्पेस सप्लाइ चेनका लागि आवश्यक ग्यालियम तथा जर्मेनियम लगायतका महत्वपूर्ण तत्वहरु क्षेत्रीय स्तरमा निकाल्नका लागि आवश्यक कदम उठाइरहेको छ । तर चीनले यी दुई धातुमा लगाएको पावन्दीको व्यापक असर चाहिँ लामो समयसम्म देखिने छैन ।

पश्चिमा मुलुकहरुले व्यापारमा चीनमाथिको निर्भरता घटाउनुपर्नेमा जोड दिइरहेका छन् । कच्चा पदार्थ र तयारी सामान दुबैमा यस्तो निर्भरता कम गर्नुपर्नेमा उनीहरु एकमत छन् । तर यसो गर्न सजिलो छैन र लामो समय लाग्न सक्दछ, खासगरी ग्यालियम तथा जर्मेनियम जस्ता धातुको सन्दर्भमा ।

पलिटिकल रिस्क कन्सल्टेन्सी युरेसिया ग्रुपका अनुसार चीन ग्यालियम तथा जर्मेनियमको मुख्य निर्यातक हो तर कम्प्युटर चिप्सको उत्पादनका लागि महत्वपूर्ण चिजहरुको विकल्प विद्यमान छ ।

चीनभन्दा बाहिर पनि उल्लेखित धातुहरुको उत्खनन तथा उत्पादनको सुविधा विद्यमान रहेको उसको दाबी छ ।

उक्त समूहका अनुसार चीनले एक दशक पहिले दुर्लभ खनिजमाथि यस्तै खालको निर्यात प्रतिबन्ध लगाएको थियो । तर त्यसको एक दशकभन्दा पनि कम समयमा धेरै निर्यातकर्ताहरु पैदा भए र दुर्लभ खनिजको आपूर्तिमा चीनको प्रभुत्व ९८ प्रतिशतबाट घटेर ६३ प्रतिशतमा झर्न पुग्यो ।

चाइना कर्पोरेट अफेयर्स एण्ड युएस चाइनाका लागि युरेसियाकी निर्देशक एना एस्टनका अनुसार ग्यालियम तथा जर्मेनियमका विकल्पहरुको विकास तथा उपयोगको बारेमा आशा गर्न सकिन्छ । साथै यी सामानहरुको पुनचक्रणको प्रयासका साथै यसको विद्यमान विकल्पहरुको पहिचान पनि गर्न सकिन्छ ।

उनका अनुसार ग्यालियम तथा जर्मेनियमको निर्यातमा चीनको पछिल्लो बन्देजको प्रमुख कारण यसको बढ्दो माग, भूरणनीतिक प्रतिस्पर्धा तथा अविश्वासको नै हो ।

गत अक्टोबरमा अमेरिकाले नयाँ नियम बनाउँदै चीनमा चिप निर्यात गर्ने विश्वभरका कम्पनीहरु जसले चिप निर्माणका लागि अमेरिकी टूल वा सफ्टवेयर प्रयोग गरेका हुन्छन् उनीहरुले लाइसेन्स लिनुपर्ने प्रावधान लागू गरेको थियो ।

अमेरिकामाथि चीनको आरोप

अमेरिकाले प्रविधिको क्षेत्रमा एकाधिकार जमाइरहेको आरोप चीनले पटक-पटक लगाउने गरेको छ । ती आरोपको मुख्य कारण चाहिँ अमेरिकाले आयातमाथि नियन्त्रण गर्न लागू गरेका नियमहरु नै हुन् ।

हालैका महिनाहरुमा चीनले पनि अमेरिकी सेनासँग सम्बन्धित कम्पनीहरुमाथि बन्देज लगाउन थालेको छ । पछिल्लो पटक उसले एरोस्पेस कम्पनी लकहीड मार्टिनमाथि प्रतिबन्धको घोषणा गर्यो ।

पश्चिमा मुलुकहरुले व्यापारमा चीनमाथिको निर्भरता घटाउनुपर्नेमा जोड दिइरहेका छन् । कच्चा पदार्थ र तयारी सामान दुबैमा यस्तो निर्भरता कम गर्नुपर्नेमा उनीहरु एकमत छन् । तर यसो गर्न सजिलो छैन र लामो समय लाग्न सक्दछ, खासगरी ग्यालियम तथा जर्मेनियम जस्ता धातुको सन्दर्भमा ।

ग्यालियम

यी सबै झमेला र विवादहरुका बीच अष्ट्रेलिया तथा क्यानडाजस्ता खनिजका धनी मुलुकहरुले एउटा अवसर खोजिरहेका छन् । विज्ञहरु चाहिँ अमेरिका र चीनजस्ता देशहरुले प्राकृतिक संशाधन तथा प्रविधिलाई हतियारको रुपमा प्रयोग गरिरहेको आरोप लगाउँछन् ।

डाक्टर हार्पर भन्छन्– यो कुनै एउटा राष्ट्रिय समस्या होइन । यो समस्या समस्त मानवजातिको हो । आशा छ कि नीति निर्धारण गर्नेहरुले आफ्नो बहसमा सबैभन्दा उत्तम विकल्प सामेल गर्नेछन् ताकि यी खनिजहरुको सहयोगमा प्रदूषक ऊर्जाबाट स्वच्छ ऊर्जातर्फ जान सकियोस् ।

यद्यपि चीनको पछिल्लो निर्यात नियन्त्रणको असर प्रविधि उद्योग तथा उपभोक्ताहरुका लागिखासै विध्वंशकारी हुने छैन । तथापि पछिल्लो समयको प्रवृत्तिका कारण उत्पन्न संकेतहरुतर्फ भने गम्भीर रुपमा ध्यान दिनु आवश्यक छ ।

डाक्टर हार्पर भन्छन्– आम मानिसका लागि ग्यालियम तथा जर्मेनियमबाट के फरक पर्छ र ? उनीहरुलाई त यी धातुका बारेमा थाहा पनि हुँदैन । तर एउटा कारको मूल्य तथा त्यो कार जुन ऊर्जाबाट चल्दछ त्यसमा हुने खर्चको विषयले चाहिँ अवश्य पनि आम मानिसको चिन्ताको विषय हुनछ ।

उनी थप्छन्– कहिलेकाहिँ तपाईंभन्दा धेरै टाढा यस्ता नीतिहरु बनाइन्छन् जसको निकै ठूलो असर तपाईंमाथि परिरहेको हुन्छ ।

– बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?