+
+

प्रचण्डलाई वर्षमान र जनार्दनको सन्देश : विधि बनाऊ, कार्यकर्ताबाटै उत्तराधिकारी चुनिन्छौं

उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा दुवैले तत्काल प्रचण्डको विकल्प नखोज्ने, तर उत्तराधिकारी नछोड्ने संकेत गरेका छन् । ‘हामी तपाईंकै हौं, दुई जनामध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारिन्छ’ शर्माले बैठकमा भने ।

दिपेश शाही दिपेश शाही
२०८० साउन २० गते २२:०८

२१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका दुई उपमहासचिव वर्षमान पुन र जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आफ्नो असन्तुष्टि केन्द्रीय समितिमै राखेका छन् । साथै पार्टी विधिसम्मत रुपमा चलाए कार्यकर्ताबाटै चुनिएर उत्तराधिकारीका रुपमा आउने सन्देश दिएका छन् ।

एक अर्काका प्रतिस्पर्धी मानिएका पुन र शर्मामाथि पार्टीभित्र गुट सञ्चालन गरेको र अध्यक्ष प्रचण्डलाई असहयोग गरेको आरोप खेप्दै आएका छन् । चार दिनदेखि चलिरहेको केन्द्रीय समितिमा शनिबार बोलेको दुई नेताले भने आफूप्रति बढ्दै गएको पार्टी पंक्तिको संशयलाई प्रचण्डतर्फ सोझ्याएका छन् ।

पुस २०७८ मा भएको पार्टीको आठौं महाधिवेशनमा दुबै नेता महासचिवका आकांक्षी थिए । दुबैमध्ये एक रोज्न नसकेका प्रचण्डले करिव ६ महिनापछि देव गुरुङलाई महासचिव बनाएका थिए । अहिले फेरि नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरिरहेका नेत्रबिक्रम चन्द विप्लवलाई ल्याएर महासचिव बनाउने चर्चा थियो ।

माओवादीमा प्रचण्डको उत्तराधिकारी बन्ने आकांक्षा राख्दै आएका पुन र शर्मा दुबै यसप्रति सन्तुष्ट छैनन् । उनीहरुले आफ्नो असहमति केन्द्रीय समितिमै राखेका छन् ।

‘हामी तपाईंकै हौं, दुई जनामध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारिन्छ’ प्रायः खरो शैलीमा प्रस्तुत हुने उपमहासचिव शर्माले बैठकमा भनेका छन्, ‘सोही प्रस्तावलाई सहज रुपमा स्वीकार गर्दा पनि अनेकन प्रचारबाजी गरिन्छ । अनि गरौं के ?’

पार्टीभित्र समूहहरू रहेको स्वीकार गरेका उपमहासचिव शर्माले त्यसको व्यवस्थापनका लागि प्रचण्डले भूमिका खेल्नुपर्ने बताए भने पुनले विधि निर्माणको प्रसंग उठाए ।

उनीहरूले आफूमाथि लागिरहेको आरोपलाई चिर्न मूल नेतृत्वको कार्यशैलीकै कमजोरी रहेको पुष्टि गर्ने प्रयास गरे । ‘पार्टीभित्र फरक लाइन नभएपनि अविश्वासको मात्रा बढेको छ । त्यसलाई हटाउन मूल नेतृत्वले मुख्य समूहबीच घनिभूत छलफल चलाउनुपर्छ’, उपमहासचिव शर्माले भने ।

अर्का उपमहासचिव पुनले पनि पार्टीको समस्या विचार नभई विधिको भएको बताएका छन् । पार्टी निर्माणका लागि गुटउपगुट सबै अन्त्य गरेर बलियो पार्टी निर्माण गर्नुपर्ने र त्यसका लागि आफू योगदान गर्न तयार रहेको उनले बताए ।

उपमहासचिव शर्माले आफ्नो मतहरुलाई थाती राखेर भएपनि प्रचण्डले भनेअनुसार काम गरेको, तर जस नपाएको गुनासो गरे ।
अरुण थापाको जति माया लाएपनि जति कसम खाए पनि बोलको गीत सम्झिएका उनले हलबाट प्रचण्डलाई प्रश्न गरे, ‘अध्यक्ष कमरेडले भन्नुपर्‍यो, कुन चाहिँ अप्ठेरो मोडमा तपाईंले मेरो साथ र समर्थन पाउनुभएन ?’

सधैं अरूलाई मात्रै भन्ने तर आफू कत्ति पनि सच्चिन तयार नहुने प्रवृत्तिले समस्याको समाधान नहुने शर्माले बताए । यसो भनेर उनले पार्टीभित्र होस् वा बाहिर विद्यमान पक्षहरूबीच खेलेर आफ्नो रणनीति कार्यान्वयन गर्ने नेताका रूपमा चिनिएका प्रचण्डमै समस्या रहेको सन्देश दिएका छन् ।

प्रचण्डको विकल्प नखोज्ने, उत्तराधिकारी नछोड्ने

शर्मा र पुन दुवैको स्पष्ट संकेत तत्काल प्रचण्डको विकल्प नखोज्ने, तर उत्तराधिकारी नछोड्ने छ ।

कम्युनिष्ट पार्टीमा अध्यक्षपछिको महत्वपूर्ण र शक्तिशाली पद महासचिव मानिन्छ र दुबै पहिल्यैदेखि यो पदका लागि प्रतिस्पर्धामा छन् । उपमहासचिव पुनले स्पष्ट शब्दमा भने, ‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु । तर उत्तराधिकारी तयार पार्न विधिको विकास गरेर जाऔँ ।’ पार्टीमा देखिएका समस्याको हल आगामी विधान सम्मेलनबाट गर्नुपर्ने भन्दै पार्टी पुनर्निर्माणको ऐतिहासिक सम्भावना रहेको पनि उनले बताए ।

अर्का उपमहासचिव शर्माले नेतृत्व चयनका लागि आन्तरिक निर्वाचनको प्रणालीबाट पार्टी चल्नुपर्ने बताए । ‘पार्टीमा विज्ञापन खुल्ने, तर परीक्षा नहुने, भर्ती हुने तर अवकाश नहुने परिस्थिति विद्यमान रहेको’ भन्दै उनले आन्तरिक प्रतिस्पर्धामार्फत नेतृत्व चयनको प्रक्रियालाई अघि बढाउनुपर्ने धारणा राखे ।

‘युवाहरूलाई नीति निर्माणको तहमा ल्याउन समस्या भएको छ’, उनले भने, ‘पार्टीलाई विधिसम्मत चलाउन विधान नमिच्ने संकल्प गर्नुपर्छ । नेतृत्व चयनका लागि पार्टीभित्र मनोनयनको सट्टा निर्वाचनको प्रक्रिया प्रारम्भ गर्नुपर्छ । समावेशी प्रतिनिधित्वको लागि सम्बन्धित क्लष्टरमा निर्वाचन गर्नुपर्छ ।’

उनले अहिलेको पदाधिकारी र स्थायी समितिबाट कम्तीमा एक तिहाइले विभागीय काम र सल्लाहकारको जिम्मेवारी लिन तयार हुनुपर्ने धारणाअघि सारे ।

जारी केन्द्रीय समितिमा माओवादीसँग विभाजन भएर गएका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँगको एकताको विषयमा छलफल हुने चर्चा थियो । तर त्यस विषयमा स्पष्ट ढंगले न त अध्यक्ष प्रचण्डले मौखिक प्रतिवेदनमा समेटे न त हलबाट नै जोडका साथ यो विषय उठ्यो ।

उपमहासचिव पुन यस विषयमा मौन रहे । अर्का उपमहासचिव शर्मा भने मुखर ढंगले प्रस्तुत भए ।

आफूले नै माओवादी धारको पुनर्गठनको विषय २०६९ सालमा पार्टी विभाजन भएदेखि आफूले निरन्तर छलफल गरिरहेको भन्दै सबैलाई पार्टीमा फर्किने वातावरण बनाउनुपर्ने बताए ।

‘बाबुराम भट्टराईको नेसपासँग एकताको लागि भएको सहमति अनुसार अगाडि बढ्नुपर्छ । यसैगरी विप्लव समूहलाई वर्तमान पार्टीको कार्यदिशामा सहमत गराई एकता प्रक्रियालाई अगाडि बढाउनुपर्छ’, शर्माले भने ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?