+
+

उद्योग क्षेत्रका चुनौती समाधानका लागि विश्व विद्यालयसँग सहकार्य गर्न महासंघ तयार छ : ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २२ गते १३:०६
फाइल तस्वीर

२२ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वविद्यालयहरूसँगको साझेदारीलाई उच्च महत्त्व दिएको बताएका छन् । उद्योग वाणिज्य क्षेत्र र विश्वविद्यालय बीचको साझेदारीले अनुसन्धान, नवप्रवर्तन र दक्ष जनशक्ति विकासमा योगदान पुग्ने भन्दै उनले यस्तो बताएका हुन् ।

ललितपुरमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले विज्ञान र प्रविधिको क्षेत्रमा उच्च शिक्षा अध्ययन तथा अनुसन्धानमा समर्पित विश्वविद्यालयसँग साझेदारी गर्न महासंघ तयार रहेको बताए ।

‘उद्योग व्यवसाय क्षेत्रमा चुनौती छन् । त्यस्ता चुनौतीहरूको समाधानका लागि उद्योग वाणिज्य महासंघ र विश्वविद्यालय बीच सहकार्य गर्दा पक्कै पनि नयाँ बाटो खुल्ने छ र यसबाट अन्य क्षेत्र पनि साझेदारीका लागि प्रेरित हुने छ’ उनले भने ।

अध्यक्ष ढकालले महासंघ र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय बीच डेढ दर्जन क्षेत्रहरूमा साझेदारी गर्न सकिने बताए ।

संयुक्त अनुसन्धान परियोजनाहरूमा सहकार्य गर्ने, उद्योगहरूबाट प्राप्त व्यवहारिक अनुभवहरू सहितको पाठ्यक्रम विकासमा काम गर्ने, विद्यार्थीहरूलाई इन्टर्नसीपहरू र कम्पनीहरूमा काम गर्ने अवसर सृजना गर्ने तथा नयाँ प्रविधिको व्यवसायीकरणका लागि उद्योगहरूमा हस्तान्तरण गर्ने व्यवस्था मिलाउन सकिने पनि अध्यक्ष ढकालले बताए ।

यसै गरी महासंघ व्यावसायिक संस्था मात्र नभई सरकार र सरोकारवालाहरुलाई सल्लाह दिने थिंक ट्याङ्क भएकाले विश्वविद्यालयसँग मिलेर संयुक्त कार्यशाला र प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्न सकिने, अनुसन्धान अनुदान तथा छात्रवृत्तिका लागि कोष स्थापनमा पनि सघाउन तयार रहेको उनको भनाइ छ ।

बिजनेस इन्क्यूबेटर, एक्सेलेटर र इनोभेसन सेन्टर स्थापना तथा सार्वजनिक-निजी-विश्वविद्यालय साझेदारीमा विश्व स्तरीय परीक्षण प्रयोगशालाहरू स्थापना गर्न सक्यौँ भने यसले नेपालको निर्यात बढाउन मद्दत गर्ने उनले बताए ।

बदलिँदो प्रविधिलाई उपयोग गर्ने गरी आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा प्रभावकारिता र दक्षता बढाइ नवीन उत्पादन र सेवाहरू दिन सक्ने अवस्थाका लागि पनि विश्वविद्यालयसँग गहन साझेदारीको प्रस्ताव गरिएको उनले बताए ।

अध्यक्ष ढकालले यी सबै पहलहरूको लागि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सघन साझेदारीका लागि महासंघको तर्फबाट प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?