+
+

अमेरिकामा चेन होटल ब्रान्ड चलाइरहेको समूहले किन्यो भैरहवाको टाइगर प्यालेस

कम्पनीका अध्यक्ष सुवेदी भन्छन्- सरकारको सबै दायित्व तिर्छाैं

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते ११:२०

२३ साउन, काठमाडौं । भैरहवाको पाँचतारे टाइगर प्यालेस रिसोर्ट लामो समयदेखि अमेरिकामा हायात, होलिडे इनलगायत होटल चलाइहेका बुद्धिसागर सुवेदीलगायतको समूहले खरिद गरेको छ ।

सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो । हिमालयन टाइगर कम्पनी अमेरिकाको डेलावेयरमा दर्ता छ ।

टाइगर प्यालेसमा करिब तीन करोड ६० लाख अमेरिकी डलर विदेशी लगानी ल्याएको सिल्भर हेरिटेजले लामो समयदेखि रिसोर्ट बिक्री गर्ने प्रयास गरेको थियो । तर, रिसोर्ट स्थापना गर्दाका नेपाली साझेदार राजेन्द्र बजगाईंले असहयोग गरेपछि त्यो प्रयास सफल हुन सकेको थिएन । तर, सुवेदीसहितको समूहले हङकङमा दर्ता रहेको सिल्भर हेरिटेजको शेयर हङकङमै खरिद गरेपछि रिसोर्टको स्वामित्व पनि हिमालयन टाइगरमा सरेको हो ।

विगत ७-८ महिनादेखिको प्रयासपछि यो सम्झौता सम्भव भएको सुवेदीको भनाइ छ । ‘हामीले नेपाल सरकारलाई बुझाउनुपर्ने दायित्व, बैंकको ऋण, कर्मचारीलाई बुझाउनुपर्ने रकमसमेत सबैको दायित्व सकारेका छौं, यस हिसाबले कुल लगानी पाँच अर्ब रुपैयाँभन्दा बढी हुन्छ होला,’ हिमालयन टाइगरका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष सुवेदीले भने ।

सुवेदीले अमेरिकामा हायात, होलिडे इन, ह्याम्पटन, विज्डमलगायत ठूला अन्तर्राष्ट्रिय चेन ब्रान्डका होटेलहरु सञ्चालन गरिरहेका छन् । उनीलगायतको समूहले अमेरिकाको सिकागो, वासिंगटन डिसी, नर्थ क्यारोलिना, लुजियानालगायत ठाउँमा होटेल चलाइरहेका छन् ।

बुद्धिसागर सुवेदी ।

तर, नेपालमा भने उनले अर्कै समूहसँग मिलेर टाइगर प्यालेस खरिद गरेका हुन् । हिमालयन टाइगरमा सुवेदी, गैरआवासीय नेपाली संघका एक जना वर्तमान अध्यक्ष कुल आचार्य, क्यानडा च्याप्टरका निवर्तमान अध्यक्ष दीपक गौतम, डा. केशव पौडेललगायतको लगानी छ ।

अमेरिकामा १२-१५ वर्षदेखि होटल व्यवसायमा गरेको अनुभव नेपालमा उपयोग गर्ने सोचका साथ आफू आएको उनको भनाइ छ ।

नेपालमा अदालतको आदेशलगायत केही जटिलताका कारण आफूहरुले हङकङमा खरिदबिक्री गरे पनि यहाँ तिर्नुपर्ने सबै दायित्व तिर्ने प्रतिबद्धता पनि उनले गरे । ‘हामी नेपालमा ठूलो नाफा गरौंला भनेर आएका होइनौं, विदेशमा काम गरियो, त्यसबाट मातृभूमिलाई पनि योगदान गरौं भनेर आएका छौं, सरकारलाई तिर्नुपर्ने जति दायित्व सृजना हुन्छ, त्यो सबै तिरेर व्यवसाय गर्ने छौं,’ उनले भने ।

तीन करोड ६० लाख अमेरिकी डलर विदेशी लगानी ल्याएको सिल्भर हेरिटेजले ठूलो घाटा खाएर रिसोर्ट बिक्री गरेकाले पुँजीगत लाभकर सम्भवतः नआउने आँकलन रहेको सुवेदी बताउँछन् । तर, दुई वर्षदेखि क्यासिनोको रोयल्टी भने तिरिएको छैन । ‘अब हामीले ३० दिनभित्र कर दायित्व चुक्ता गर्नुपर्छ, त्यसको हिसाबकिताब हुँदै छ, समयभित्रै चुक्ता गर्ने छौं,’ उनले भने ।

यसअघि भैरहवाकै व्यवसायी बालकृष्ण भुसाललगायतको समूहले पनि सो होटेल खरिद गर्ने सहमति भएको थियो । तर, अर्कै मुद्दामा अदालतले दिएको आदेशका कारण सो खरिदबिक्री सम्पन्न हुन नसकेपछि उनीहरु पछि हटेका थिए । त्यसपछि सुवेदीको समूह यो रिसोर्ट खरिदका लागि आघि बढेको थियो ।

त्यसअघि नै चितवनमा हायात होटेलको चेन भित्र्याउन यो समूहले प्रयास गरेको थियो । तर, त्यहाँ लिने भनिएको जग्गा लिन नसकेपछि समूहले विकल्पका रुपमा टाइगर प्यालेस खरिद गरेको हो ।

अस्टे्रलियाको सिल्भर हेरिटेज ग्रूपले करिब ५ अर्ब लगानीमा २०७४ सालमा यो रिसोर्ट सञ्चालनमा ल्याएको थियो । तर, त्यसैबेलादेखि विदेशी लगानीकर्ता र नेपाली साझेदारबीच विवाद हुँदा रिसोर्ट राम्रोसँग सञ्चालन हुन सकेको छैन ।

रिसोर्टले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको फैसला जिल्ला अदालत रुपन्देहीले गरेको थियो । अदालतको फैसलाको पालना गरेर रिसोर्ट सञ्चालन गर्ने सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?