+
+

राजेन्द्र लिङ्देनको प्रश्न : तीन दलले निर्णय गरेपछि हामी लुरुलुरु लाग्नुपर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १७:४१

२३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रमुख तीन दलले  पुरै देश र संसदलाई बन्धक बनाएको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा उनले तीन दलले जे भन्छन् अरुले त्यही मान्नुपर्ने अवस्था बनाइएको भन्दै विरोध जनाए ।

‘केही दलहरु मिलेर पुरै देशलाई, संसदलाई बन्धक बनाउन मिल्छ ? तपाईहरु रातारात सल्लाह गर्ने, तीनवटा दलले निर्णय गर्‍यो भनेपछि हामी लुरुलुरु पछि लाग्नुपर्ने’ लिङ्देनले प्रश्न गरे ।

उनले सभामुख देवराज घिमिरेलाई तीन दल बसेर निर्णय गर्नुपर्ने गैरसंवैधानिक अभ्यास संसदमा कसरी भइरहेको छ भनेर प्रश्न पनि गरे ।

‘यो गैरसंवैधानिक शक्ति केन्द्रको निर्माण यो संसदभित्र कसरी भइरहेको छ ? संसदको नियमावलीको कुन धारा संविधानको कुन धारा उपधाराले यस प्रकारको संरचनाको परिकल्पना गर्छ ?’ लिङ्देनले सभामुखलाई सोधे ।

तीन दलले संसदीय समितिको सभापति भागवण्डा गरेकोप्रति पनि लिङ्देनले आपत्ति जनाए । संसदको अवरोध खुलाउने विषयमा छलफल गर्न सोमबार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु  बैठक बसेका थिए ।

त्यसक्रममा संसदीय विषयगत समितिको सभापतिमा समेत दलहरुले भागवण्डा मिलाएका छन् । तर त्यस्तो भागवण्डामा संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई समेटिएको छैन ।

यसप्रति आपत्ति जनाउँदै लिङ्देनले प्रश्न गरे, ‘संसदीय समितिको निर्माण कसरी हुन्छ भन्ने कुरा नियमावलीमा छ, तीनवटा दलले टुंगो लगाउने विषय हो ?’

अहिले संसदको संरचना कसैलाई निषेध गरेर जाने खालको नभएको भन्दै लिङ्देनले यस्ता गतिविधि आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?