+
+

प्रधानमन्त्रीले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते १४:४७
उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री प्रचण्ड । तस्वीर : प्रधानमन्त्रीको सचिवालय ।

२५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । अब सरकारले कार्यसम्पादन मूल्यांकनको आधारमा मन्त्रीहरुको कामको मासिक रिपोर्ट कार्ड पनि बनाउने भएको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम कार्यान्वयनका लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता हस्ताक्षर गरेका हुन् ।

संघीय सरकारका २१ जना मन्त्रीले आफूले नेतृत्व गरेको मन्त्रालयले गर्ने कामको कार्यसूचीसहित प्रधानमन्त्रीसँग सम्झौता गरेका छन् ।

सम्झौतापत्रमा हासिल गर्नुपर्ने नतिजा सूचक राखिएको छ, जसमा आर्थिक वर्ष २०७९/०८० को समग्र स्थिति र आर्थिक वर्ष २०८०/०८१ को लक्ष्य निर्धारण गरिएको छ ।

सम्झौतापत्रमा गर्नुपर्ने प्रमुख कामहरु उल्लेख छ, जसमा कार्यक्रम र क्रियाकलापको सूची र सो जिम्मेवारी पूरा गर्नुपर्ने समयसीमा उल्लेख छ ।

सम्झौतामा कार्यसम्पादनको प्रगति मासिक रूपमा प्रधानमन्त्री कार्यालयमा अनलाइन प्रणालीबाट पठाउनुपर्ने र त्यसलाई मासिक तथा वार्षिक प्रतिवेदन र मूल्यांकनको आधार बनाइने उल्लेख छ ।

कार्यसम्पादन सम्झौताको अवधि १ वर्ष तोकिएको छ । सम्झौता अवधिभरमा मन्त्रीको पद रिक्त भएमा नयाँ नियुक्त हुने मन्त्रीले यस सम्झौताबमोजिमको बाँकी काम गर्नुपर्नेछ ।

कार्यसम्पादन सम्झौतामा हस्ताक्षरपछि प्रधानमन्त्री प्रचण्डले तोकिएको कार्यादेश र कार्यविवरणअनुसार प्रभावकारी काम गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिए ।

‘कार्यसम्पादनको नतिजा नै यहाँहरूलाई चुनौतीपूर्ण र महत्वपूर्ण जिम्मेवारी दिने, जिम्मेवारीको निरन्तरता दिने, पुरस्कृत वा कारबाही गर्ने आधार हुने कुरा स्पष्ट गर्छु’, प्रधानमन्त्रीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?