+
+

१८ महिना कांग्रेसका लागि ‘कोल्ड विन्टर’ थियो

विग्रह छोडेर एकठाउँमा जोड्ने भाव बोक्ने हो भने कांग्रेसले आफ्नो कथा भन्न थाल्छ । घोषणापत्रमा के लेख्यौं भन्न थाल्छ, कांग्रेसको नेतृत्वमा के के भयो भन्न थाल्छ । यति गर्‍यौं, यति गर्न सकेनौं भन्नेतिर लाग्थ्यो होला । अब पनि त्यता ध्यान दिन सकेनौं भने हाम्रो उपादेयता नरहन सक्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते १८:०८

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल सभापतिको आत्मसन्तुष्टि र महामन्त्रीहरूको अत्यासको भाव दुवैको आलोचक हुन् । यही कारण पार्टीको आन्तरिक किचलो बढी आम जनतामा पुगेको र कांग्रेस कहाँ छ भन्ने प्रश्न उठ्ने अवस्था बनेको उनको विश्लेषण छ ।

१८/१९ महिना कांग्रेसका लागि ‘कोल्ड विन्टर’ जस्तो भएको भए पनि पछिल्लो कार्यसमिति बैठकले थोरै आश जगाएको नेता रिजाल बताउँछन् । उनी भन्छन्, ‘पुराना आग्रह पूर्वाग्रहलाई बिर्सिएर अगाडि बढ्ने हो भने कांग्रेसले आफ्नो काम अगाडि बढाउनसक्छ, आफ्नो सन्देश दिनसक्छ भन्ने लाग्छ ।’

प्रस्तुत छ, कांग्रेस केन्द्रीय सदस्य रिजालसँग राजकुमार श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय कहाँ छ कांग्रेस भन्ने प्रश्न अलि बढी उठेको छ, साँच्चै कांग्रेस कहाँ छ ?

तपाईंले भनेको धेरै हदसम्म सही छ । किनकि आज मज्जाले राजनीतिक भाष्यहरू निर्माण गर्न सक्ने पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री, केपी शर्मा ओलीजी प्रतिपक्षमा हुनुहुन्छ । ओली र प्रचण्डको बीचमा उभिएर आफ्नो भाष्यलाई कहीं न कहीं देखाउन सजिलो छैन । किनकि प्रतिस्पर्धा चर्को छ ।

त्यसमाथि हाम्रो सभापतिको एउटा स्वभाव छ, कसैलाई नचिढ्याउने । एउटा भाषामा राजनीतिक हाइजिन मेन्टेन गर्ने उहाँको शैली छ । तर हाम्रो पार्टीमा त्यतिकै मज्जाले आफ्नो कथा आम नागरिकका बीचमा लैजान सक्ने नेताहरू मूल नेतृत्वमा पुग्नुभएको छ । युवा नेताहरू, जसलाई राम्रोसँग सुनिन्छ, उहाँहरूले पनि कांग्रेसको बोली यो हो भनेर स्थापित गर्न सक्नुभएको छैन ।

मैले सभापति र महामन्त्रीहरूको प्रतिस्पर्धा छ भनेर व्याख्या गर्न खोजेको होइन । तर महामन्त्रीजीहरूलाई यति बलियो अवसर थियो कि सभापतिले आफ्नो स्टोरी नभन्दा पार्टी विग्रहको स्टोरी छोडेर कांग्रेस के गर्दैछ भन्ने मात्र कुरा गर्नुभएको भए कांग्रेसलाई पनि जाती हुन्थ्यो होला, उहाँहरूलाई पनि जाती हुन्थ्यो होला । नेतृत्व विकासका लागि विश्वसनीय आधार बन्थ्यो जस्तो लाग्छ ।

कांग्रेसको इतिहासलाई हेर्ने हो भने बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्यायलाई चार शीर्ष भन्ने चलन थियो । राजनीतिको सामान्य जानकारी राख्ने जो–कोहीले उहाँहरूको विचार कहाँ मिल्यो, कहाँ पृथक् रहनुभयो भन्ने दोस्रो अनुमान गर्नुपर्दैन । उहाँहरू आ–आफ्नो ठाउँमा उभिनुभयो, आफ्नो विचार सम्प्रेषित गर्नुभयो ।

गिरिजाप्रसाद कोइरालाले बीपीभन्दा एक तह माथि गएर क्रियाशीलताका साथ भूमिका निर्वाह गर्नुपर्छ भन्ने स्थापित गर्नुभयो । तर, गिरिजाप्रसादको त्यत्रो क्रियाशीलताका बीचमा पनि कृष्णप्रसाद भट्टराई नेपालको राजनीतिमा कहाँ उभिनुभयो भनेर दोस्रो अनुमान गर्नुपर्ने स्थिति रहेन, भोलि पनि रहन्न । सुशील कोइरालाको आवाज सबैले सुन्ने खालको वा आफैंमा असाध्यै आर्टिकुलेट थिएन होला । तर उहाँले पनि पार्टी भनेको विचार हो, त्यो विचारलाई आम नागरिकको बीचमा पुर्‍याउनुपर्छ भनेर यहाँ उभिएको छु भनेर भ्रम नहुने गरी स्थापित गर्नुभयो ।

यो समृद्ध परम्परा भएको कांग्रेस पछिल्लो समय कहाँ उभिएको छ भन्ने प्रश्नको उत्तर आएको छैन होला । निर्वाचनको समयमा दुई–दुई वटा घोषणापत्र आयो होला, महाधिवेशनमा आ–आफ्नो प्लेटफर्म के हो भनेर दस्तावेज आयो होला । नेताहरूले अबको दिनमा राजनीति कसरी गर्छु ? सरकार कसरी चलाउँछु पनि भन्नुभएको होला । त्यसका बाबजुद कांग्रेस कहाँ उभिएको छ भन्ने उत्तर चाहिं आएको छैन । मलाई लाग्छ, कांग्रेसभित्र ध्यान विग्रहमा धेरै भयो ।

कस्तो विग्रह, थोरै व्याख्या गरिदिनुहुन्छ !

सभापतिजीको ध्यान गठबन्धनमा रहेका दलहरूले चित्त नदुखाउन्, गठबन्धन कायम रहोस् भन्नेतिर रह्यो । ओलीजी जसरी हिजो आफ्नो सरकारमा बसेका मान्छेहरूलाई लिएर पहिले वाम गठबन्धनको नाममा, पछि एउटै कम्युनिस्ट पार्टीको नाममा अगाडि बढ्नुभयो, सायद यसबाट अलि बढी झस्किनु पनि भएको होला ।

ओलीजीले ढंग पुर्‍याएको भए त कांग्रेसले कसरी आफ्नो पुरानो आधार भूमि फर्काउन सक्छ भनेर गम्भीर रूपमा सोच्नुपर्ने अवस्था बन्थ्यो पनि होला । त्यही अनुभवबाट सभापतिजीमा ‘दोस्रो र अन्तिम कार्यकालमा छु, यो कार्यकालमा कांग्रेसले कुनै पनि दुर्घटना व्यहोर्नु नपरोस्’ भन्ने भएको होला ।

महामन्त्रीहरू दोस्रो तहमा आइपुग्दा पनि म त्यहाँ पुगेको हुँ, यो जिम्मेवारी हो भन्ने महसुस गर्नुभएको जस्तो लाग्दैन । बल्ल यो केन्द्रीय कार्यसमितिमा महामन्त्री (गगन) थापाले चाहिं म कांग्रेसको महामन्त्री हुँ, महामन्त्रीले सोच्ने तरिका यो हो भनेर कहाँ म उभिन्छु, मेरो ठाउँ कहाँ भनेर अलिअलि व्याख्या गर्न कोसिस गरेका छन् । त्यसलाई मैले सकारात्मक रूपमा लिएको छु ।

स्थानीय निर्वाचनमा बालेन शाहको उदय भयो र आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको राम्रो मत आयो । राप्रपाले पनि सम्वद्र्धनवादी– पुरातनवादी मत केही न केही पाएको देखिन्छ । यिनैसँग उभिएर यिनकै बीचमा प्रतिस्पर्धा गर्दा मेरो अनुहार हिजो जति मज्जाले हेरिरहेको थियो, आज पनि उत्तिकै आकर्षक देखियोस् भन्ने मोह पनि रह्यो होला । अर्कातर्फ मैले पार्टीलाई जुन तहमा हल्लाउनुपर्ने हो, त्यसरी हल्लाउन नसक्दा अब के गर्ने भन्ने भाव देखियो होला ।

बिगार नपरोस् भन्ने सभापतिजीको सोच, सबै बिगार परिसक्यो कि भनेर महामन्त्रीहरूले अलिकति अत्यासको भावबाट बोल्दा पार्टीको आन्तरिक किचलो बढी म्याग्निफाइट रूपमा आम जनतामा पुग्यो । कांग्रेस कहाँ उभिएको छ ? आगामी दिनबारे के सोचेको छ भन्ने कम महत्वका साथ सम्प्रेषित भयो भन्ने लाग्छ ।

त्यसअर्थमा तपाईंले सुरुमै प्रश्न गर्नुभए जस्तो बीपी कोइरालाको पार्टी, जसको यति ठूलो समृद्ध परम्परा छ, जेलको छिंडीदेखि प्रवासमा बसेर होस् वा चाबहिलको कुनामा बसेर होस्, आफू कहाँ उभिएको छु भन्ने प्रष्ट रूपमा सम्प्रेषित गर्न सक्ने पार्टी आजको प्रविधि र यस्तो मज्जाको उपस्थितिमा पनि आफ्नो विचार सम्प्रेषित गर्न सकेको छैन भन्ने भएको छ ।

व्यक्तिगत रूपमा को कति सुनियो, कति सुनिएन एउटा पक्ष होला । तर राष्ट्रिय मुद्दाहरूमा पनि कांग्रेस देखिएन, सुनिएन । साँच्चै कांग्रेस बोल्नै नपर्ने अवस्था थियो ?

पार्टीमा नराम्रो के भएको छ हेर्ने हो भने सभापतिको भावलाई आत्मसन्तुष्टिको भाव भन्छु ।

धेरै बढी आत्तिनुपर्ने के छ र ! अघिल्लो चुनावभन्दा निकै ठूलो क्षति हुनसक्थ्यो, तर कुनै न कुनै तरिकाले गठबन्धन बनाएका कारण वा अर्को पार्टीलाई गठबन्धन गर्ने अवसरबाट वञ्चित गरेका कारण कांग्रेसलाई ५ वर्ष मज्जैले उपस्थित हुने ठाउँमा त मैले पुर्‍याएँ । सबैतिर कांग्रेसको सरकार बनेकै छ । त्यो सरकारले काम गरेर देखायो भने बोलिराख्नुपर्ने के छ र भन्ने होला ।

महामन्त्रीहरूलाई मान्छेहरूले अपेक्षा पनि गरेका छन्, हिजोको भाष्य पनि हस्तक्षेपकारी भूमिका भन्ने थियो । तर जे चलिरहेको छ, त्यसमा आफ्नो हैसियत राखेर बस्ने मात्र हुने पो होला भन्ने त्रास होला । त्यो त्रासले सब चिज बदल्नुपर्छ, केही पनि ठीक छैन । मैले यसलाई राजनीतिक रूपमा दुरुपयोग गर्न बोलिरहेको छैन, तर आत्तिंदा त कांग्रेसको झ्याल फेर्ने हो भने झ्याल फेर्ने हो, पर्खाल फेर्नुपर्ने हो भने पर्खाल फेर्ने हो, छाना फेर्नुपर्ने हो भने छाना फेर्ने हो । होइन, आवश्यक छ भने कांग्रेसको जग नै फेर्ने हो भन्दा म पनि आत्तिएँ ।

मैले त्यो भाष्यलाई कुनै तरिकाले चुनौती पनि होस् भन्न आफ्ना कुरा राखें । चुनावलगत्तै प्रोजेक्ट प्राइममिनिस्टर होइन, मिसन गभर्नेन्समा मेरो समर्थन रहन्छ पनि भनें ।

किनकि कांग्रेसले मत पनि धेरै गुमाएको थियो । झण्डै ३३ प्रतिशत समानुपातिक मत ल्याएको कांग्रेसले २६ प्रतिशत पनि पुर्‍याएको थिएन । १०० मा झण्डै ७ मान्छे कांग्रेस छोडेर बसिरहेको अवस्थामा नयाँ चुनौती आएको छ भन्ने ध्यान नदिएर अब प्रधानमन्त्री बन्ने हो, प्रधानमन्त्री नभई केही हुन्न भनेको शासन प्रत्याभूत गर्नेभन्दा प्रधानमन्त्री महत्वपूर्ण भयो ।

यसलाई अर्को अर्थमा नलिइदिनुहोला, मैले आग्रहपूर्ण भावबाट भन्न खोजेको होइन । तर समाधान खोज्ने भावबाट भन्दा व्यक्ति परिवर्तन गर्ने वित्तिकै सबै समस्या जान्छन्, अरू जत्तिकै समर्थन गर्ने पार्टी बन्छ, नेतृत्व बन्छ भन्ने ‘क्विक एण्ड डर्टी सोलुसन’ खोजे जस्तो लाग्छ ।

तथापि कसरी अगाडि जाने भन्ने द्विविधामा कांग्रेस बसिराख्यो । कांग्रेसको नेतृत्वमा हेर्ने हो भने के छैन जस्तो देखिन्छ । मज्जाको विविधता छ, अनुभव छ, संगठन छ ।

अनुभवी नेतृत्व र जुनसुकै जोखिम उठाएर भए पनि कांग्रेसलाई कांग्रेस बनाउँछु भन्ने हुटहुटी भएको पुस्तालाई जोड्नेतिर ध्यान दिनुपर्ने हो कि होइन ? गरेन नि त भनेर कसैले प्रश्न गर्‍यो भने त्यो जायज प्रश्न हो ।

किनकि विग्रह छोडेर एकठाउँमा जोड्ने भाव बोक्ने हो भने कांग्रेसले आफ्नो कथा भन्न थाल्छ । घोषणापत्रमा के लेख्यौं भन्न थाल्छ, कांग्रेसको नेतृत्वमा के के भयो भन्न थाल्छ । यति गर्‍यौं, यति गर्न सकेनौं भन्नेतिर लाग्थ्यो होला । अब पनि त्यता ध्यान दिन सकेनौं भने हाम्रो उपादेयता नरहन सक्छ ।

साउन २–१० मा बसेको केन्द्रीय कार्यसमिति बैठकले यो चिन्तालाई कति सम्बोधन गर्न सक्यो जस्तो लाग्छ ?

केन्द्रीय कार्यसमिति बैठक अगाडि अरू पार्टीका मान्छेलाई कांग्रेस आफ्नो कुरा गरिरहेको छैन, आपसी कलहको कुरा गरिरहेको छ र कांग्रेसमा मज्जाले खेल्न सकिन्छ, कांग्रेसलाई आफ्नो अनुकूल बनाउने आधार छ भन्ने लागेको थियो होला । हामीले पनि झण्डै त्यही सन्देश प्रगाढ बनाएर लगेका थियौं होला । तर, केन्द्रीय कार्यसमिति बैठकले त्यहाँभन्दा बाहिर लिएर गयो जस्तो लाग्छ । यसअर्थमा उपलब्धिपूर्ण रह्यो जस्तो लाग्छ ।

मैले केन्द्रीय कार्यसमितिमै भनें, सभापतिजीलाई लागेको थियो कि कांग्रेस पार्टी र यसको नेतृत्व कहाँनिर उभिएको छ भन्ने मैले नबोलेर नचिनेका हुन् कि ! गुनगान गाथा र नेता भक्ति मात्र होइन, साँच्चै अर्थमा कांग्रेस हेर्नुहुन्छ भने म देखाइदिन्छु । एउटा बोली पनि नकाटी कांग्रेस हेर्नुस्, धारणा बनाउनुस् भन्ने सन्देश दिन खोज्नुभएको थियो होला । त्यसमा उहाँ सफल हुनुभयो ।

सभापतिले आफूलाई गाली गर्नेहरूलाई डण्डा देखाउने, तह लगाउने योजनाका साथ गरिएको हो कि भन्ने ढंगले कांग्रेस बैठकलाई प्रस्तुत गर्ने कोसिस नभएको होइन । त्यसका बाबजुद बैठकको अन्तिम दिन प्रस्तावहरू पास गर्ने क्रममा महामन्त्रीहरूले प्रस्तावको लेखोट गर्नुभयो, जुन किसिमको अभिव्यक्ति दिनुभयो, १८÷१९ महिनामा पहिलो पटक एक तह माथि गएर कुरा गर्न थालेको जस्तो लाग्यो ।

यो भनेको अब कस्तो कांग्रेस बनाउने मैले सोच्ने बेला छ, मेरो जिम्मेवारी हो । सरकारलाई कसरी कांग्रेसले चाहेको बाटोमा लिएर जान सकिन्छ ? कांग्रेसको संगठनमा ‘कोल्ड विन्टर’ थियो, कुँजिएको हो कि जस्तो थियो, त्यहाँबाट हातखुट्टा चल्न थालेको कांग्रेसका रूपमा पार्टी संगठनलाई यसरी लिएर जान्छौं भनेर योजना तथा कार्यक्रम ल्याउनुभयो । पुराना आग्रह, पूर्वाग्रहलाई बिर्सिएर अगाडि बढ्ने हो भने कांग्रेसले आफ्नो काम अगाडि बढाउन सक्छ, आफ्नो सन्देश दिनसक्छ भन्ने लाग्छ ।

यसमा थप एउटा के गर्नुपर्ला भने कांग्रेसले आफ्नो एजेण्डा परिभाषित गर्न नसक्दा हाम्रो शिरमा माओवादी नेता पुष्पकमल दाहाल प्रचण्डजी बसिदिएको हो जस्तो देखियो । उहाँ शिर, बाँकी गठबन्धन चाहिं शरीर मात्र बन्न पुगेको हा कि ? हामीलाई उहाँले परिभाषित गर्न थाल्नुभएको हो कि भन्ने डरको भाव तलसम्म गएको छ । हामीले काम गर्न थालेपछि त्यो भावबाट मुक्त हुन्छौं होला ।

साथै हामीले एउटा विषय गम्भीरताका साथ राख्नुपर्छ, गठबन्धन बनाउने वा नबनाउने भन्नेमा पार्टीमा एकमत थिएन, गठबन्धन बनाइसकेपछि पनि मतभेद रह्यो । तर गठबन्धनको सरकार बनाउँछौं भनेर जसरी अगाडि बढ्यो, यसमा इमानदार रहन्छौं भनेर गठबन्धन र प्रधानमन्त्रीलाई आश्वस्त पार्नुपर्छ । सँगसँगै अर्को कुनै पार्टीले शिरमा बसेर कांग्रेसलाई सञ्चालन गर्न सक्दैन भन्ने सन्देश दिनुपर्छ ।

अनि लामो समयदेखि शासन भद्दा देखियो, भ्रष्टाचारका घटनाहरू नेपाली समाजले थेग्न नसक्ने गरी भएका थिए भन्ने आम जानकारीको विषय भएको छ । यसलाई यही रूपमा सही राख्ने कि हिजो जे भए त्यो बेलाका मानिसहरू पनि दण्डित हुन्छन्, आउने दिनमा पनि शासन ठीक ठाउँमा जान्छ भन्ने सन्देश सम्प्रेषण गर्ने ? सबैभन्दा निष्ठावान नेता भएको पार्टी हो कांग्रेस । अब शासनका विषयमा कुनै पनि सम्झौता गर्न तयार छैन र गठबन्धनलाई पनि त्यो बाटोमा हिंड्न तयार छ भन्ने सन्देश पनि सम्प्रेषण गर्न जरूरी छ ।

यसका लागि पनि अब अवसर बन्छ भन्ने लाग्छ । यसो नहुँदा सत्ता प्राप्ति त भयो, तर कांग्रेसका लागि चाहिं गएको १८ महिना ‘कोल्ड विन्टर’ जस्तो रह्यो । यसबाट बाहिर निस्कन सक्ने आधार गएको केन्द्रीय कार्यसमितिले दियो जस्तो लाग्छ ।

कांग्रेसले सत्ताका लागि आफ्नो मूल्यमान्यतामा सम्झौता गर्दैन । प्रधानमन्त्री को छ एउटा कुरा हो, तर नेता चाहिं कांग्रेस बन्छ भन्ने आश जागेको हो ?

हो, म उदाहरण सहित भन्छु । पुष्पकमल दाहाल प्रचण्ड अर्को गठबन्धनमा हुँदा १ फागुनलाई ‘जनयुद्ध’ दिवस भनेर घोषणा गर्नुभयो । हामीहरू उहाँसँग मिलेर सत्ता निर्माण गर्ने काममा क्रियाशील थियौं, त्यही कारण मसिनो आवाजमा पनि प्रतिवाद गरेन । जबकि मज्जाले भने हुन्छ भन्ने मलाई लागेको थियो ।

किनकि कांग्रेसले बोक्ने १२ बुँदे समझदारी, बृहत् शान्ति सम्झौता हो, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी राजनीतिलाई संस्थागत गरेको संविधान हो । माओवादीसँग मिलेर सत्ता निर्माणको चरणमा छौं, प्रचण्डजीलाई आफ्नो बाटोमा ल्याउन अप्ठ्यारो होला भनेर कांग्रेसले त्यो कुरा गरेन । सत्ता निर्माण गरिसकेपछि पनि साझा न्यूनमत कार्यक्रम बनाउने क्रममा कतिपय विषय प्रष्टसँग यहाँनिर कांग्रेस हो भनेर देखिने गरी प्रस्तुत हुनसकेन होला ।

सरकारमै बस्दा पनि प्रधानमन्त्रीको छेउमा बसेको कांग्रेसले गठबन्धनको मुख्य दल त कांग्रेस हो है भन्ने सन्देश दिनसकेको जस्तो लागेन मलाई । यस अर्थमा हेर्दा सरकारमा बसेका मानिसहरूमा प्रधानमन्त्री र पार्टी सभापतिको बीच मिलापको सम्बन्ध बनोस् भन्नेतर्फ बढी ध्यान छ । गठबन्धनलाई कुनै चुनौती नआओस्, विराम नलागोस् भन्नेमा ध्यान छ । यसअर्थमा हामीले ल्याएको बजेटले पनि गठबन्धनमा बिगार नपरोस् है भन्ने भाष्य मात्र सुनिन्छ होला ।

एक छिन सुन्ने हो भने १० सिट भएको माधव नेपालजी, मैले उहाँलाई अपमान गर्न भनिरहेको छैन, उहाँले हाम्रो सहयोग नभई सरकार चल्छ ? ल चलाएर देखाउनुस् ! हामी समर्थन फिर्ता लिऊँ ? हामीले समर्थन फिर्ता लिएको भोलिपल्ट सरकार जान्छ नि भन्दा कांग्रेसले केही बोेलेन ।

माधवजी तपाईंको त १० सिट मात्र हो नि ! तपाईंको समर्थन आवश्यक छ, १५/२० सिट भए बराबर तपाईंको बोलीलाई मान्यता दिउँला, तर यसरी धम्क्याएर हँुदैन नि भनेर । चुप लागेर बस्नुपर्छ भन्ने भावले गठबन्धन जोगाउनेतर्फ ध्यान पुग्यो होला, तर गठबन्धन केका लागि भनेर जनताले गरेको प्रश्नमा चाहिं ध्यान पुगेन ।

यसअर्थमा कहीं न कहीं हामीमाथि अरू हावी भएको देखिन्छ । अब हामीले आन्तरिक विग्रहको कथा भन्न कम गरेर लैजान सक्यौं भने कांग्रेसले आफ्नो विचार दिनसक्छ । आफ्नो उपस्थिति र सोचलाई सत्ता गठबन्धनको मूल भाष्यका रूपमा स्थापित गर्नेतर्फ ध्यान दिनसक्छ । यसका लागि न प्रमुख प्रतिपक्षसँग डराउनुपर्ने छ, न सत्ता गठबन्धनको कुनै दलसँग डराउनुपर्छ । कसैलाई नहोच्याई यो बाटो चाहिं कांग्रेस हिंड्नसक्छ है भनेर परिभाषित गर्न सक्छौं ।

८० वर्षमा आफूले स्थापित गरेका मान्यताहरूमा सम्झौता गरेर गठबन्धनमा बस्दैन, सम्झौता गर्नुपर्ने बाध्यकारी परिस्थिति भए जुनसुकै मूल्य पनि चुकाउन तयार छ भन्ने सन्देश पनि दिनुपर्नेछ । यसो गर्न सक्यौं भने १८ महिनामा देखिएको हाम्रो ‘कोल्ड विन्टर’ का भावहरू विस्तारै हराएर जान्छन्, जनताले आश गरेको र अहिले गर्दैनन् कि भनेर आशंका गरेको जिम्मेवारी सहज रूपमा पूरा गर्न सक्छौं ।

तर नागरिक उन्मुक्ति पार्टीलाई मनाउन सुदूरपश्चिममा उपसभामुख नै परिवर्तन गर्ने सहमति भयो । सुन तस्करी प्रकरणमा माओवादीकै नेताहरूको नाम जोडिंदा पनि कांग्रेस मौन छ । यसले त तपाईंले आश गरेभन्दा विपरित कांग्रेसको ‘कोल्ड विन्टर’ अझै चल्ने त होइन भन्ने शंका बढाउँदैन ?

हाम्रा केही कमि–कमजोरी निश्चय पनि छन् । कमि–कमजोरी यसकारण पनि छन् कि अलि–अलि अघिल्लो निर्वाचनबाट, अनि अलि कम तर भर्खरभर्खरै पछिल्लो निर्वाचन पछाडि जसरी नाटकीय रूपमा सत्ता निर्माण भयो, यसबाट व्यहोरेको मनोभावबाट हामी सबै प्रभावित छौं । यसले जोखिम उठाउने साहस कम बनाएको हो कि भन्ने आशंका छ ।

मलाई चाहिं व्यक्तिगत रूपमा सत्ताका बारेमा यत्तिको चिन्ता राख्नुपर्छ जस्तो लाग्दैन । सायद मेरो दृष्टिकोण फरक भएर पनि होला । म संसदमा छैन, बाँकी साढे ४ वर्ष मेरो व्यक्तिगत लोभ वा आकांक्षा त्यहाँबाट पूरा पनि हुँदैन । त्यसैले सत्तामा बसे पनि नबसे पनि के फरक पर्छ र भन्ने लागेको होला ।

कतिको हकमा कांग्रेस सत्तामा बस्ने कि नबस्ने भन्ने महत्वपूर्ण नै होला आफ्नो आन्तरिक जीवनमा । यसले हामीलाई जोखिम उठाउने, आफ्ना मान्यताहरूलाई स्थापित गर्न अलिकति पनि सम्झौता नगर्ने पार्टीका रूपमा उभिन जुन साहस चाहिन्छ, त्यो नदेखिएको होला । साहस नदेखिएको सभापतिलाई मात्र भन्दिनँ म, पार्टीका महामन्त्री नै संसदीय दलको नेताको चुनाव लड्नुभयो । उहाँकै अभिव्यक्तिहरूमा प्रधानमन्त्री हुने कुरा महत्वपूर्ण जस्तो, प्रदेशको सरकार र मन्त्रीहरू बनाउने बेला सल्लाह भयो कि भएन भन्ने अभिव्यक्ति अलि बढी आउँदा कांग्रेस कुन भावमा उभिएको छ भन्ने प्रश्न उब्जिएको छ ।

अर्को मनोविज्ञान पनि परेको होला हामीलाई । पार्टी सभापतिजी आफ्नो दोस्रो कार्यकालमा हुनुहुन्छ र, अर्को आम निर्वाचनभन्दा अगाडि पार्टीको महाधिवेशन हुन्छ । त्यो महाधिवेशनमा नेतृत्वमा को जाने भन्ने हामी सबैको मनमा होला ।

आजको दिनमा भोलिको कांग्रेसको नेता हुने सम्भावना थुप्रै मान्छेको होला । कसैको बढी देखिएको होला, तर अर्को कसैको सम्भावना छैन भन्नै नसकिने अवस्था छ । यो बेलामा कसरी उभिएँ भने सभापतिले मेरा बारेमा के सोचिदिनुहोला ? सभापतिले सकारात्मक सोचिदिनुभएन भने बाँकीले के सोच्लान् ? यसले राजनीतिक जीवनमा धेरै प्रभावित पार्ने भएकाले कहिले कहीं चर्को कहिले असाध्यै प्रतिरक्षा भाव सुनिएको होला ।

अझ खुला रूपमा भन्दा सभापतिसँग लामो समयसम्म जोडिएका मानिसहरू अरू जे सुकै होला, सभापतिको सहयोग मैले प्राप्त गर्न सके वा अरू कसैलाई पनि नजिक आउन दिइनँ भने म सुरक्षित हुन्छु भन्ने भावबाट बढी प्रभावित छ होला । सभापतिभन्दा अलग्गै बसेका साथीहरूलाई सभापतिलाई चुनौती दिने जमात ठूलो बनाउन सके मेरो भविष्य छ भन्ने लागेको होला ।

यस्तै चुनौती दिने जमात ठूलो हुन्छ कि सानो भन्नेले यो जमातमा को को बस्ला ? को को नबस्ला भन्नेमा बढी ध्यान होला । त्यसैले कांग्रेस पुनर्जागरण अभियानलाई सोच्दा, अर्को निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्ने पार्टी बनाउने बारेमा सोच्दा हरेकले आउने महाधिवेशनसम्म पुग्दा म चाहिं के भएर निस्कन्छु होला ? आम चुनावमा पुग्दा मेरो जिम्मेवारी के हुन्छ होला भन्ने नितान्त व्यक्तिगत स्वार्थको विषयले पनि कांग्रेसको जिम्मेवारीतिर ध्यान जान पाएको छैन होला ।

यो भावबाट मुक्त गर्न सजिलो छैन । तर यो भावबाट मुक्त भएर सत्तामा बसे पनि प्रतिपक्षमा बसे पनि २०८४ मा कांग्रेस जागरणको बाटो छ भनेर आफैंले आफैंलाई विश्वास गर्नुपर्‍यो । अरूले विश्वास दिलाउने होइन, भोलि सभापति बन्छु भन्ने आकांक्षा राखेका र त्यसका लागि आधार पनि देखेका मान्छेहरूले आउने निर्वाचनमा मैले कांग्रेसलाई त्यहाँ पुर्‍याउनसक्छु भन्ने विश्वास जगाउने हो भने कांग्रेसलाई आफ्नो सन्देश सम्प्रेषण गर्न गाह्रो हुन्छ जस्तो लाग्दैन । कांग्रेस कहाँ उभिन्छ–कहाँ उभिंदैन ? कुन कुरामा साथ रहन्छ– कुनमा रहन्न भन्ने आकलन गर्न प्रधानमन्त्री प्रचण्डजीलाई गाह्रो नहोला भन्ने लाग्छ ।

फेरि भन्दा अस्तिको केन्द्रीय कार्यसमिति पछाडि हामीहरू त्यो भाव जागृत गराउन, त्यो आत्मविश्वास जागृत गराउन र साझा दायित्वलाई पूरा गर्न समन्वयको भाव विकास गर्न सक्छौं भन्ने आधार निर्माण भएको छ भन्ने लाग्छ । यस अर्थमा म आज पनि आश र विश्वासको मनोभावबाट कांग्रेसमा क्रियाशील छु ।

कथंकदाचित कांग्रेस त्यो मनोभावबाट बाहिर निस्कन सकेन भने आगामी दिन, खासगरी २०८४ को चुनाव कति कठिन देख्नुहुन्छ ?

प्रश्न उचित हो, तर मैले धेरै चिन्ता गरिरहेको छैन । किनभने एउटा त हामीले बनाउनुपर्ने जस्तो कांग्रेस बनाउन सकेनौं भने कांग्रेसले आफ्नो उपादेयता गुमाउँछ । उपादेयता गुमाएको कांग्रेसले भोलि २०८४ मा के गर्छ भन्ने कसैको पनि अभिरुचि र चासोको विषय रहन्न । यसअर्थमा पनि म आत्तिनेतिर छैन ।

दोस्रो, मेरो व्यक्तिगत जीवन भन्नुहुन्छ भने कहीं न कहीं त मनमा लागेको छ नि, देश र जनताका लागि मज्जाले योगदान गर्न सक्ने समयमा म प्रतिनिधिसभामा जाने बाटो रोकिएको छ । म त्यहाँ छैन, आउने चार वर्ष पनि हुन्न भन्ने कुरालाई आत्मसात् गर्दै देशका लागि, कांग्रेसका लागि कसरी योगदान गर्न सकुँला भनेर सोचें भने न केही गर्न सकुँला, किनकि अहिले म जिम्मेवारीमा छैन । मैले सोच्दा आफ्नो जीवनलाई अझ दुःखद बनाउँछु, जुन मेरै लागि उचित हुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?