+
+

मनाङ जाने ३५ किलोमिटर सडकमा ३५ पहिरा

रासस रासस
२०८० साउन २८ गते १६:०५

२८ साउन, मनाङ । हिमाली जिल्ला मनाङमा आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको छ । डुम्रे–बेसीसहर–चामे सडकअन्तर्गत लमजुङको बेसीसहर नगरपालिका–६ खरखरेमा ट्र्याक भासिएपछि आवागमन अवरुद्ध भएको हो । शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण यस सडक खण्डमा आवतजावत रोकिएको आयोजना कार्यालयले जनाएको छ ।

यस सडक खण्डअन्तर्गत लमजुङतर्फ बेलौती बिसौना, खरखरे, रामबजार, घोप्टे भिर, च्याम्चेलगायतका स्थानमा पहिरा खसेको आयोजना कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिए । उनले भने, ‘केही स्थानमा पहिरा खसेर अवरुद्ध भएका छन् भने खरखरेमा ट्र्याक नै भासिएको छ, यसले मनाङ आवतजावत ठप्प भएको छ ।’

सडक सञ्चालनका लागि विभिन्न स्थानमा पहिरो पन्छाउने काम गरिरहेको उनले बताए । निरन्तर वर्षा भइरहेकाले पहिरा पन्छाउन समस्या भइरहेको भन्दै उनले सडक सञ्चालनका लागि प्रयास जारी रहेको जानकारी दिए । सडकमा खसेको ढुङ्गा, माटो फाल्दै गर्दा माथिबाट पहिरो खसिरहेको जनाउँदै सबइन्जिनियर अधिकारीले जोखिम मोलेरै काम गरिरहेको बताए ।

यस सडक खण्डअन्तर्गत मनाङतर्फ भन्दा लमजुङतर्फ बढी पहिरा खसेको उनले जानकारी दिए । ‘लमजुङतर्फ ३५ किलोमिटर छ । किलोमिटर पिच्छे ३५ पहिरा खसेका छन्’, अधिकारीले भने ।

प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले मनाङमा वर्षा नभए पनि लमजुङतर्फ निरन्तर वर्षा भइरहेकाले बताइन् । उनले पहिराका कारण सडक अवरुद्ध रहेकाले पुनःसञ्चालनका लागि पहल भइरहेको जानकारी दिइन् ।

डुम्रे–बेसीसहर–चामे–खाङ्सारसम्म एक सय पाँच किलोमिटर छ । यसमध्ये डुम्रे–बेसीसहर–चामे सडक खण्डको ३० किलोमिटरमा पहिरा खसिरहने गरेको छ । खसेको पहिरा हटाउन आयोजना कार्यालयले विभिन्न स्थानमा एक्साभेटर तयारी अवस्थामा राखेको जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?