+
+

हिमालयन डिस्टिलरीको बिक्री घट्दा नाफासँगै राजस्व पनि घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३० गते १३:३८

३० साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा आर्थिक गतिविधि सुस्त भएपछि मदिरा उत्पादक हिमालयन डिस्टलरीको आम्दानी पनि घटेको छ । कम्पनीको उत्पादन बिक्रीमा कमी आउँदा कम्पनीको नाफामा मात्रै होइन, सरकारको राजस्व पनि प्रभावित बनेको छ ।

कम्पनीले गोल्डेन वाक र ब्ल्याक वाक नामक मदिरा उत्पादन र बिक्री गर्दै आएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ६६ करोड १ लाख रुपैयाँ नाफा कमाएको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएकोमा गत आर्थिक वर्षमा कम्पनीको नाफा ३७.५४ प्रतिशतले घटेको हो ।

कम्पनीको उत्पादन बिक्रीबाट हुने कुल सञ्चालन आम्दानी २ अर्ब १७ करोड ८९ लाख रुपैयाँले घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा ८ अर्ब ५६ करोड ८८ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी रहेकोमा गत आर्थिक वर्षमा घटेर ६ अर्ब ३८ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ । आम्दानीमा गिरावट हुँदा कम्पनीको अन्य खर्च घटे पनि नाफामा गिरावट भएको हो ।

कम्पनीको उत्पादन बिक्री घट्दा सरकारलाई बुझाउने अन्त:शुल्क पनि घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ५२ करोड ३९ लाख रुपैयाँ अन्तःशुल्क बुझाएको कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ६८ करोड ४३ लाख रुपैयाँ मात्रै बुझाएको छ ।

कम्पनीको उत्पादन बिक्रीमा कमी आउँदा सरकारले पाउने भ्याट पनि घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा ९८ करोड ५८ लाख पुगेको भ्याट गत आर्थिक वर्षमा घटेर ७३ करोड ५१ लाख रुपैयाँमा झरेको छ ।

कम्पनीको वस्तु विक्रीको लागत १ अर्ब ३४ करोड ६८ लाखबाट घटेर १ अर्ब २ करोड ७४ लाखमा झरेको छ । त्यस्तै कम्पनीको उत्पादन लागत २२ करोड ५५ लाखबाट १६ करोड ७९ लाखमा झरेको छ ।

कम्पनीको कर्मचारी खर्च सञ्चालन खर्चपछिको सञ्चालन मुनाफा १ अर्ब ४७ करोड ६७ लाखबाट घटेर ९५ करोड २ लाखमा झरेको छ । कम्पनीको अन्तःशुल्क र अन्य खर्च घटे पनि उत्पादन बिक्रीको आम्दानीमा ठुलो गिरावट हुँदा नाफामा प्रभावित बनेको हो ।

कम्पनीले बोनस सेयर मार्फत चुक्ता पूँजी बढाएको थियो तर नाफा घट्दा प्रतिसेयर आम्दानीमा गिरावट भएको छ । आर्थिक वर्ष २०७८/७९ मा ४३ रुपैयाँ ५० पैसा रहेको प्रतिसेयर आम्दानी २७ रुपैयाँ १७ पैसामा झरेको छ । २०७९ असार मा १ अर्ब ५१ करोड ८५ लाख रुपैयाँ रहेको चुक्ता पूँजी गत आर्थिक वर्षमा बढेर २ अर्ब ४२ करोड ९६ लाख पुगेको छ ।

यस्तै कम्पनीको रिजर्भ १ अर्ब ३२ करोड ६१ लाखबाट घटेर ९२ करोड ३३ लाखमा झरेको छ ।

कम्पनीको नाफासँगै रिजर्भ घटेको र चुक्ता पूँजी बढेसँगै प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँमा झरेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ८२.७४ गुण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?